मनोरंजन

भिटेन पक्राउले जन्माएको प्रश्न

बलिउड निर्देशक जोया अख्तर ‘दिल धडकने दो’ फिल्ममा व्यस्त थिइन्। त्यही बेला कसैले उनलाई मुम्बईमा लोकप्रिय हुँदै गएको ‘अन्डरग्राउन्ड’ संगीत सुनाउन ल्याए।

अंग्रेजी हिपहप मात्र सुनेकी जोया पहिलोपटक हिन्दी हिपहप सुनेर प्रभावित भइन्। भारतमा हुर्कंदो ‘अन्डरग्राउन्ड’ संगीतलाई आमदर्शक र श्रोतासमक्ष पुर्‍याउन भुट्भुटिन थालिन्।

‘दिल धडकने दो’ रिलिजपछि उनले हिन्दी हिपहप कलाकारहरूलाई लगातार भेटिन्। लामो–लामो अन्तर्वार्ता गरिन्। ‘डिभाइन’, ‘नेजी’ जस्ता मुम्बईका झोपडपट्टीबाट उदाएका हिपहप कलाकारहरूको जीवनकथा र संघर्ष चाख दिएर सुनिन्।जोयाको यही चाख र भुट्भुटीको नतिजा हो– ‘गल्ली ब्वाई’।

गत वर्ष रिलिज यो फिल्मले ‘अन्डरग्राउन्ड’ संगीत भनिने हिपहपलाई भारतको मूलधारमा ल्यायो। युट्युब च्यानल वा कन्सर्टहरूमा मात्र गाइने र्‍याप गीतहरू बलिउड फिल्मको निम्ति नभई नहुने ‘मसला’ बन्यो। ‘आइटम’ गीतलाई ‘हिपहप’ ले लगभग प्रतिस्थापन गर्‍यो।

यही क्रममा एमटिभी इन्डियाले पहिलोपटक ‘हसल’ भन्ने र्‍याप प्रतिस्पर्धा नै गरायो, जसको पहिलो सिजन हालै समाप्त भएको छ।यो भारतको मात्र कुरा होइन, नेपालमा पनि हिपहप वा र्‍याप गीत लोकप्रिय हुँदैछ। जमानामा नारायण गोपाल वा अरुण थापाका गीत सुनेर हुर्केको पुस्तालाई भलै यो विधाको संगीत हाहु लाग्ला, तर अहिलेको युवा पुस्ता र्‍याप गायकहरूलाई नै होनहार ठान्छ।

नेपालको सन्दर्भमा ‘भिटेन’ भनिने समीर घिसिङ त्यस्तै होनहार र्‍याप गायक हुन्।रौतहट, चन्द्रनिगाहपुरका यी गायकले आफ्नो युट्युब च्यानलबाट प्रसारण गर्ने कतिपय गीत करोडभन्दा बढी हेरिएको रेकर्ड छ।

एक वर्षअघि रिलिज ‘सिमसिमे पानीमा’ गीत ३० लाखचोटि हेरिएको छ। नौ महिनाअघि रिलिज ‘साइको’ गीत ८० लाखपटक हेरिएको छ। वर्षदिनअघिको ‘हालखबर’ गीत १ करोड १० लाख, दुई वर्षअघिको ‘मान्छे खत्तम’ १ करोड २० लाख र ‘नेपाली तारा’ धर्मेन्द्र सेवनसँग मिलेर गाएको ‘कथा’ १ करोड १० लाखभन्दा बढी ‘भ्यूज’ पाउन सफल छ। उनको युट्युब च्यानल पछ्याउने दर्शक नै ६ लाख ७२ हजार छन्।

‘हामी यस्तै त हो नि ब्रो’ भन्ने जुन गीतमा अश्लील शब्दहरू प्रयोग गरिएको आरोप लगाएर भिटेनलाई बिहीबार पक्राउ गरियो, त्यो उनको सबभन्दा लोकप्रिय गीत हो।

प्रहरीले दबाब दिएर युट्युबाट हटाउनुअघिसम्म यो गीत २ करोडभन्दा बढी हेरिएको थियो। उनको गीतको अंश बोलीचालीको थेगोजस्तै बनेको छ। गीतको अंश हो भन्ने थाहा नपाएकाहरू पनि कुराकानीका बीचबीचमा ‘हामी यस्तै त हो नि ब्रो’ भनेर निर्धक्क भन्छन्।

प्रहरीले भिटेनमाथि मूलतः तीनवटा आरोप लगाएको छ — गीतमा अश्लील शब्द प्रयोग गरेको, सार्वजनिक ठाउँमा अभद्र व्यवहार देखाएको र अनुमतिविना प्रहरी युनिफर्म दुरुपयोग गरेको।

प्रहरीले यिनै बेहोरा देखाउँदै भिटेनलाई जिल्ला प्रशासन कार्यालय ललितपुर लगेर अनुसन्धान निम्ति सातदिनको म्याद थपेको थियो। उनको पक्षमा आएको दबाबबीच शुक्रबार राति तारेखमा रिहा गरिएको छ।

‘एक वर्षसम्म कैद हुने मुद्दामामिला प्रशासन कार्यालयले हेर्ने व्यवस्था छ। यही अधिकारले सात दिनको म्याद दिएका हौं,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले सेतोपाटीसँग भने।

यी तीनमध्ये जुनसुकै आरोप लगाए पनि भिटेनलाई अदालतको आदेशसमेत नकुरी पक्राउ गर्नुपर्ने हतार थिएन। मुलुकी फौजदारी कार्यविधि संहितामा कसैलाई पक्राउ गर्नुअघि अदालतबाट अनुमति लिनुपर्ने व्यवस्था छ।

यो नियम दुइटा अवस्थामा मात्र लागू हुँदैन — कसुर गर्ने व्यक्ति भागेर उम्कन सक्ने, वा उसलाई तत्काल पक्राउ नगरे सबुतप्रमाण नष्ट गर्छ भन्ने शंका भए।

प्रहरीले यी दुईमध्ये कुनै एउटा अवस्थामा ‘जरुरी पक्राउ पुर्जी’ जारी गरेर समात्न सक्छ। महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार भिटेनलाई पनि ‘जरुरी पक्राउ पुर्जी’ थमाएर समातिएको हो।यसरी तात्तातै पक्रनलाई के उनी भागेर उम्कन खोज्दै थिए? कि प्रमाण नष्ट गर्न खोज्दै थिए?

कानुनका ठूल्ठूला कुरा नबुझ्ने सामान्य मान्छेले पनि भन्न सक्छ, जुन भिटेनमाथि यसअघि कुनै आरोप नै थिएन, वा प्रहरीले भनेजस्तो कसैले उजुरीसमेत गरेको थिएन भने उनी भागेर उम्किने प्रश्नै आउँदैन।

आरोप नै नभएपछि प्रमाण मेट्ने त झन् कुरै आएन। जुन गीत करोडौंले हेरिसके, लाखौंले मोबाइल वा कम्प्युटरमा ‘सेभ’ गरेका राखेका छन्, ती गीतका प्रमाण नष्ट गर्न सम्भवै छैन।

जब यी दुइटै अवस्था छैन भने प्रहरीले कुन कानुनमा टेकेर भिटेनलाई पक्राउ गर्‍यो? उनलाई समात्न यति हतार गर्नुपर्ने कारण के थियो? प्रहरीले यसको चित्तबुझ्दो जवाफ दिन सकेको छैन।

यो भिटेन पक्राउ प्रकरणमा प्रहरीबाट भएको पहिलो गल्ती हो।अर्को कुरा, भिटेनले अश्लील भनिएको गीत पक्राउ पर्नेबित्तिकै युट्युबाट हटाइसकेका छन्। अरू गीतमा अनुसन्धान गर्ने भए ती सबै युट्युबमै उपलब्ध छन्। प्रहरी युनिफर्म लगाएर गाँजा मोल्दै गरेको तस्बिरका कारण पक्राउ गरिएको हो भने त्यो उनको म्युजिक भिडिओमा प्रयोग भएको छैन। उनले छुट्टै तस्बिर अपलोड गरेका हुन्, जुन सार्वजनिक छ।

अभद्र व्यवहार गरेका भए कहिले, कहाँ, कोसँग गरे भन्ने प्रहरीले खुलाएको छैन। कुनै कन्सर्टमा दर्शक वा कसैसँग अभद्र व्यवहार गरेको आरोप हो भने त्यो संसारभरि नामी कलाकारहरूका कन्सर्टमा पनि हुन्छ। कतिपय अवस्थामा कलाकार वा दर्शकलाई तत्काल प्रहरीले पक्राउ पनि गर्छ।

भिटेनविरुद्ध उठेका यी सबै यस्ता मुद्दा हुन्, जुन केलाउन एक–एक साता समय लाग्ने कुनै कारण देखिँदैन।

प्रमुख जिल्ला अधिकारी पाण्डेयको कुरा मान्ने हो भने, प्रहरीले अझ योभन्दा लामो म्याद मागेको थियो। नसिहत दिएर छाड्न सकिने विषयमा अनुसन्धानका नाममा लामो म्याद लिएर प्रहरीले एक होनहार युवा कलाकारलाई बिनाकारण ‘ह्यारेस’ गर्न खोजेको हो कि भन्ने शंका जन्माउँछ।

यो प्रहरीबाट भएको दोस्रो गल्ती हो।भिटेनले आफ्ना गीतमा ‘अश्लील’ भनिने शब्दहरू प्रयोग गर्न हुन्थ्यो कि हुन्थेन भन्ने पनि बहसमा छ। यसका लागि सबभन्दा पहिला हिपहप वा र्‍याप गीत के हो भन्ने बुझ्नुपर्छ।

अमेरिकी अफ्रिकीहरूले काला जातिमाथिको शोषण र दमनको आक्रोश अभिव्यक्त गर्ने क्रममा यो खालको संगीतले जन्म लिएको इतिहास छ। आक्रोशको अभिव्यक्ति भएकाले यस्तो गीतमा अश्लील भनिने शब्दहरूको प्रयोग स्वीकार्य मानिन्छ।

यो भनेको कसैसँग रिसले चूर भएर आफ्नो कुरा राखेजस्तै हो। त्यस्तो बेला जसरी मान्छेको मुखबाट अपशब्द निस्कन सक्छ, हिपहप वा र्‍याप गीतमा पनि अपशब्द प्रयोगलाई सामान्य मानिन्छ।

भिटेन पक्राउ प्रकरणमा संगीतको यही शैली वा विधा प्रहरी-प्रशासनले नबुझेको देखिन्छ। त्यसो हो भने भिटेनलाई थप ‘ह्यारेस’ नगरेर नयाँ पुस्ताले रूचाउने नयाँ सांगीतिक ट्रेन्डप्रतिको समझ बढाउनु बेस हुन्छ।

यस्ता गीत गाउनै हुन्न, हामीले सुन्नै हुन्न र यस्ता गीतले समाजमा अश्लीलता बढाउँछ भन्ने सोचेर पक्राउ गरिएको हो भने त्यो प्रहरीको अर्को गल्ती हो।

भिटेनले गाउने खालका र्‍याप गीतहरू सबैलाई मन पर्दैनन्। मन पराउनै पर्छ भन्ने छैन। गम्भीर प्रकृतिका प्रेमगीत वा ईश्वरको जपना गर्दै गाइएका भजन मन नपराउने पनि थुप्रै हुन्छन्। कसैले आफ्नो गीत करकापमा पारेर सुनाउँदैन, तर कसैको गीत गाउने स्वतन्त्रता हनन् गर्न पनि पाइँदैन। भिटेन प्रकरणसँग जोडिएको अभिव्यक्ति स्वतन्त्रताको मूलभूत सवाल यही हो।

भिटेनका शब्द, सुर वा तालमा हल्लाखल्ला देख्ने वा त्यसलाई अश्लील मात्र बुझ्नेहरूले स्वैच्छाले ती गीत बहिष्कार गर्न सक्छन्। जहाँसम्म उनका गीतहरू सपरिवार बसेर सुन्न मिल्दैन भन्ने प्रश्न छ, ती रेडियो वा टेलिभिजनमा बज्ने होइनन्। उनी आफ्नो गीत युट्युबमा अपलोड गर्छन्, जुन सुन्ने कि नसुन्ने हाम्रो स्वैच्छाको कुरा हो।

हातहातमा मोबाइल, युट्युब र फेसबुकको युगमा सपरिवार बसेर हेर्न वा सुन्न नमिल्ने सामग्री बग्रेल्ती भेटिन्छन्। त्यस्ता सामग्री खोजी–खोजी हेर्न पनि पर्दैन। एउटा लिंक क्लिक गर्दा ‘हेर्न नमिल्ने’ भनिएका सामग्री यसै खुल्न सक्छन्। प्रहरी–प्रशासन त टाढाको कुरा, परिवारले नै चाहेर पनि पाबन्दी लगाउन सक्दैन।

आधुनिक खुला समाजको यो ‘साइड इफेक्ट’ लाई हामीले चाहेर वा नचाहेर स्वीकार्नैपर्छ। आफ्ना केटाकेटीलाई कसरी त्यस्ता सामग्रीबाट जोगाउने भन्ने हरेक परिवारको चासो वा सुर्ताको विषय पक्कै हो। तर राज्यले त्यसमा हस्तक्षेप गरेर नचाहिँदो ऊर्जा नष्ट गर्ने होइन।

अर्कातिर, यस्ता गीतको सुरूआतमै ‘१८ वर्षभन्दा माथिका लागि’ भनेर सचेत गराइएकै हुन्छ। शब्दहरूले हामीलाई पोल्छन् भने हामी ती गीत नसुन्न स्वतन्त्र छौं। सँगसँगै, भिटेन पनि गीत गाउन उत्तिकै स्वतन्त्र छन् र हुनुपर्छ।

‘अठार वर्षभन्दा माथिकालाई’ भन्ने सूचना मात्र राखेर केटाकेटीलाई कसरी जोगाउन सकिन्छ भन्ने प्रहरी–प्रशासनको चिन्ता हो भने त सरकारले तत्काल लाखौं प्रहरी भर्ती लिए भयो। लाखौं व्यक्तिलाई गृह मन्त्रालय मातहत नियुक्त गरे भयो। ती सबैलाई घर–घरमा गएर कसले के हेर्दैछ, के पढ्दैछ भनेर चियोचर्चा गर्न लगाए भयो।

यति मात्र होइन, युट्युब, फेसबुक, नेटफ्लिक्स, अमेजन र अरू थुप्रै फिल्म साइटहरूमा प्रतिबन्ध लगाए भयो, जहाँ वयस्कले मात्र हेर्ने भनी वर्गीकरण गरिएका श्रव्यदृश्य सामग्री टन्नै उपलब्ध छन्।

प्रहरी–प्रशासन अभिव्यक्ति स्वतन्त्रताको मान्यताविपरित पछिल्लो समय गायक, कलाकारप्रति पासो कस्न उद्यत देखिन्छ। यसअघि पनि गीतकै आधारमा दुर्गेश थापालाई पक्राउ गरिएको थियो, जसको ‘बीच्च बीच्चमा’ ले तीज बेला बजार पिटेको थियो।

प्रहरी–प्रशासनले बाटोमा झैझगडा गर्ने वा सार्वजनिक ठाउँमा अश्लील हरकत गर्नेलाई पक्कै पक्राउ गर्न सक्छ, गर्नु पनि पर्छ। तर गीत–संगीत, साहित्य, सिनेमाजस्ता सिर्जनात्मक माध्यममा प्रयोग हुने अभिव्यक्तिमाथि अंकुश लगाउन हुँदैन।

सडकमा शान्ति सुव्यवस्था कायम गर्नु राज्यको काम हो, तर घरभित्र छिरेर कसले के गर्न हुन्छ र कसले के गर्न हुन्न भनेर नैतिकताको पाठ पढाउनु राज्यको काम होइन।राज्य नागरिकको नैतिक निगरानीमा ओर्लियो भने समाज अगाडि बढ्दैन, पछाडि धकेलिन्छ।

हामीले कस्तो समाज खोजेको हो- अभिव्यक्ति स्वतन्त्रता भएको खुला समाज, कि राज्यले नागरिकको नैतिकतामाथि पनि निगरानी राख्ने बन्द समाज?भिटेन पक्राउपछि हामीले गम्भीर भएर सोच्नुपर्ने प्रश्न यही हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *