सूचना प्रविधि

रोबोटलाई अनुहार दिने हो? डेढ करोड पाइन्छ

यदि तपाईंलाई कुनै रोबोटले आफ्नो अनुहार जस्तै ‘मास्क’ लगाएर संसारमा अस्तित्व बनाउँदा केही आपत्ति हुँदैन भने करोडपति बन्न तयार हुनुस्।

‘गेओमिक’ नामक बेलायती इन्जिनियरिङ कम्पनीले अर्को एउटा कम्पनीसँग मिलेर बनाउँदै गरेको ‘स्टेट अफ द आर्ट हुमानोइड’ रोबोटको लागि नयाँ अनुहार खोजिरहेको छ। र यो अनुहार दिनेलाई उसले करिब डेढ करोड रूपैयाँ (एक लाख तीस हजार अमेरिकी डलर) दिने बताएको छ।

केही दिनअघि आधिकारिक रुपमा यो सूचना सार्वजनिक गर्दै गेओमिकले दयालू र मैत्रीपूर्ण अनुहार रोबोटमा प्रयोग गर्ने बताएको छ। रोबोटमा उपयुक्त छानिएको अनुहार रोबोटको सम्भावित हजारौं संस्करणमा उत्पादन हुनेछ।

कम्पनीले छनोट प्रकिृयामा उमेर र लिङ्गको सीमा तोकेको छैन। केबल इच्छुक मानिसलाई आफ्नो फोटो इमेल मार्फत् पेश गर्न भनिएको छ। कम्पनीको शर्त र नियमअनुसार सबै चरणमा छनोट हुने व्यक्तिलाई अमेरिकी एक लाख तीस हजार डलर दिइने छ।

गेओमिक कम्पनीको रोबोट बुढापाकालाई सघाउन बनाइन लागेको हो। सन् २०५० सम्ममा ८५ वर्षमाथिका वृद्धको संख्या तीन गुणा बढ्ने अनुमान आएसँगै भविष्यमा तिनको सहयोगी बन्न गेओमिक पाँच वर्षदेखि यो रोबोटमा काम गरिरहेको छ।

रोबोटले भ्वाइस कमान्डको जवाफ दिने, सक्रिय सूचना तथा सल्लाह प्रदान गर्ने र आफन्तलाई घरमा अनुगमन गर्ने जस्ता व्यवहारिक उद्देश्यपनि पूरा गर्ने कुरा कम्पनीले आफ्नो ब्लग पोष्टमा लेखेको छ।

यसअघि ‘सोफिया’ नामक रोबोट पनि यही उद्देश्यको साथ बनाइएको थियो जसको अनुहारको प्रतिलिपि बेलायती अभिनेत्री अड्री हेपबर्न लिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *