विविध

लक्ष्मी : व्यक्तिभित्रको वैभव

जीवनमा समृद्धिको कुनै कमी नहोस्। जीवनमा कुनै दुःख, कष्ट नआओस् र ऋणमुक्त भएर जीवन सुखपूर्वक बितोस् यो सबै मानिसको चाहना हो। जीवनमा लक्ष्मी प्राप्त भएपछि सबै समस्या समाधान हुन्छन् भन्ने आशा र भरोसा पनि हामी सबै नेपालीलाई छ। तर त्यो लक्ष्मी स्वरूप के हो त जान्न जरुरी छ। एउटा जागृत व्यक्तिले मात्र वास्तविक धन के हो थाहा पाउन सक्छ।

जागृत व्यक्ति त्यो हो, जसले भयलाई उत्साहमा, चिन्तालाई विस्मयमा, शोकलाई शक्तिमा, क्रोधलाई करुणामा र कामनालाई तृप्तिमा बदल्न सक्दछ। जागृत व्यक्तिले जीवनका ससाना दुःखलाई सुख र खुसियालीमा बदल्नेदेखि लिएर जीवनलाई नै आनन्दको प्रवाहमा रूपान्तरण गर्ने ज्ञान, सोच र कलाले निपुण हुन्छ। त्यही नै उसको लागि लक्ष्मी प्राप्ति हुन्छ।

नेपालीहरूको दोस्रो महत्वपूर्ण पर्व तिहार नजिकिँदै गर्दा लक्ष्मीपूजा, दीपावली र भाइपूजाको विशेष महत्व रहने गर्छ। त्यसो त, यमपञ्चकका रूपमा पनि मानिने हुँदा काग, कुकुर, लक्ष्मी, गार्ईगोरु र दाजुभाइको पूजा गरिन्छ। अस्तित्वको सृजना र हाम्रो जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने यी सबै प्रसंगले हाम्रो जीवनमा थप उत्सव थप्ने काम गरेका हुन्छन्, गरिन्छ। हिन्दी भाषामा त्योहार शब्दले उत्सव, खुसी, आनन्द भन्ने अर्थ दिने हुँदा हाम्रो पर्व तिहारले पनि जीवनमा थप उत्साह, खुसी र उमंग थप्ने हुँदा तिहार नामाकरण हुन गएको होला कि भन्ने अनुमान लगाउन सकिन्छ।

मानव जीवन अनेक विविधता र उत्तरदायित्वले भरिएको हुँदा वर्षैभर अनेक कार्यमा व्यस्त हुने र बेलामौकामा आउने यस्ता पर्वले जीवनमा सुखद क्षण ल्याउने गर्छन् भन्ने मान्यता राखिन्छ। खुसी र उमंगका लागि पर्व मनाउनु र त्यो समयमा कुनै न कुनै देवीदेवताका प्रार्थना गरी आफ्नो जीवनमा प्रसादको अपेक्षा गर्नु अर्को प्रचलन रहेको छ। तिनै संस्कार र प्रचलन मध्य तिहारमा धनकी देवी लक्ष्मीको पूजा आराधना गर्नु र लक्ष्मी मातालाई खुसी राखी धनसम्पत्ति मिलोस् र जीवन अरू सहज होस् भन्ने सबैको चाहना रहेको बुझिन्छ।

एक अर्थमा त सही पनि हो। प्रत्येक व्यक्तिको जीवनमा बिहान उठेदेखि साँझसम्म धनविना कुनै काम बन्दैन। तर, बाहिरी धन, पैसा र मनग्गे सम्पत्ति मात्र खुसी आर्जन गर्ने माध्यम नभएर भित्रको वैभवता महत्वपूर्ण हो भन्ने कुरालाई धेरैले ख्याल गरेका हुँदैनन्। स्वास्थ्य, परिवार सुख, सम्बन्धमा मधुरता, सम्यक् आजीविका, सकारात्मक जीवनशैली, ध्यान, रामरतन धन, स्वाध्याय सबै हामीले आर्जन गर्नलायक धनभित्रै पर्छन्।

जब तिम्रो मन र विचार पवित्र भावनाले ओतप्रोत हुन थाल्छ, त्यसै दिन तिमी दीक्षित हुनेछौ। यो बोध कथाभित्र लुकेको सन्देशले जोसुकैलाई जागृत गराई स्वाध्यायरूपी धन आर्जनमा प्रेरित गराउँछ, स्वाध्यायबाटै आन्तरिक वैभवताको विकास हुन्छ।
यिनीहरूमध्ये कुनै एकको अभावमा जीवनमा सन्तुलन आउँदैन। लक्ष्मीको आराधनाको अर्थ पैसा धेरै आर्जन गर्ने हिम्मत मिलोस् मात्र नभएर मानिसको जीवनमा आवश्यक सबै वैभव फलित होस् भन्ने सांकेतिक अर्थ महत्वपूर्ण छ। हाम्रो समाजमा साथमा पैसा नहुने मानिस जति दुःखी छन्, त्योभन्दा बढी दुःखी छन्। साथमा मनग्गे पैसा भएर पनि जीवनका विभिन्न आयामलाई सन्तुलनमा राख्न नसकी विचलित हुनेहरू। जो पैसा कमाउनकै लागि विदेशी भूमिमा आफ्नो जीवन अर्पेको छ तर घरमा वृद्ध बाआमालाई तातोपानी खुवाउने छोराछोरी साथमा छैनन् भने त्यो धनको के काम ? जीवन नै धन कमाउनका लागि अर्पेको छ। तर पत्नी र छोराछोरीलाई दिने समय छैन, प्रेमभाव दर्शाउने फुर्सद छैन भने त्यो धनको के महत्व ?

धनविना जीवन नचले पनि आफ्ना परिवारका सदस्यलाई खुसी राख्न र जीवनलाई त्योहार बनाउन धन होइन, प्रेम, शान्ति, आनन्द र भित्रको वैभता जरुरी छ। ‘साग र सिस्नु खाएको बेस आनन्दी मनले’ भन्ने भावको अर्थ हो– भित्रबाट खुसी र आनन्द मिल्ने धनको जरुरी छ सबैको जीवनमा। बाहिर देखाउनका लागि, प्रतिष्ठा आर्जनका लागि र अरूका अगाडि कोही बनेर चिनिनका लागि आर्जन हुने धनले जीवनलाई सधैं विचलित पारिदिएको उदाहरण प्रशस्तै देख्न र पढ्न पाइन्छ।

धन हाम्रो आवश्यकतामा काम आउन सकोस् हाम्रो चाहनालाई पूरा गर्नका लागि होइन। मृगतृष्णारूपी हाम्रा चाहना पूरा गर्नकै निम्ति हामी धन आर्जनमा लागेका छौं भने सोच्ने बेला आएको छ– पैसारूपी लक्ष्मी होइन, सुख र आनन्दरूपी लक्ष्मीले हाम्रो जीवनमा वास गरून्। हामीलाई भित्रबाट सम्पन्नताको आभास मिलोस् र जीवनका हरेक सफलतामा लक्ष्मीको स्वरूप अनुभूति होस्, त्यो हाम्रो वास्तविक आर्जन हो। हामीले मेहनत गरेपछि धन त आर्जन भइहाल्छ तर लक्ष्मीरूपी वैभवता प्राप्तिका लागि मेहनत होइन, शान्त, सरल र सहजताको आवश्यकता पर्दछ।

‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र !’ भने झैं धन कमाएर पनि प्रेम, करुणा, दया, परोपकार, आनन्द, अहोभावजस्ता आफ्नो स्वभावमा जिउने कला जान्नु महत्वपूर्ण आर्जन सावित हुनेछ, जसले जीवनलाई सधैं उत्सवमय र जिउनुको आनन्द अनुभूति गराउँछ। पर्वको अर्थ नै पारिवारिक जमघट, पारिवारिक सुख, संवेदना, भाइचारा र संगठित ऊर्जाको अभिव्यक्ति भएकाले त्यो ऊर्जारूपी लक्ष्मी हाम्रो जीवनमा सधैं मिलोस् भन्ने प्रार्थना वास्तविक प्रार्थना बन्नुपर्छ।

लक्ष्मीको आह्वानका लागि जसरी घर, ढोका सफासुग्घर पारिन्छ त्यसैगरी अस्तित्वको कृपाबाट प्राप्त यो शरीररूपी घरलाई सफा पार्न सके जीवन आफैंमा धन्य हुने थियो। एकजना प्रख्यात व्यापारीलाई ७५ वर्षको उमेरमा एक्कासि सन्न्यास दीक्षा लिने इच्छा जागेछ र गुरुकहाँ पुगेछन्। गुरुले आश्चर्य मान्दै सोधेछन्– यो उमेरमा आएर तिमीलाई किन यस्तो भावना आयो ? व्यापारीले भने– गुरुजी जीवनभरको सपनाले मलाई जगाएको छ। अब म सन्न्यास लिएर जीवनलाई धन्य बनाउन चाहन्छु। जीवनको केही समय भए पनि स्वाध्यायमा बिताउन चाहन्छु। गुरुलाई लागिरहेछ– अझै व्यापारीको मन र विचार शुद्ध भइसकेको छैन। जीवनभरको कोडा कचेराले त्यति नै स्थान लिइरहेको छ।

यसपटक गुरुले भन्नुभयो– तिमी जाऊ, समय आएपछि म नै तिमीकहाँ आउनेछु। करिब दुई महिनापछि गुरु व्यापारीकहाँ पुगे। गुरुलाई देखेर व्यापारी दंग परे। मनमनै सोचे आज त गुरुले दीक्षा दिनुहुन्छ। गुरुले पहिले भिक्षा दानका लागि व्यापारीसँग अनुरोध गरे। गुरुको भिक्षा पात्रमा फोहोरमैला, कुहिएको खानेकुरा थियो। व्यापारीले भने, ‘गुरु, म यो मिष्ठान्न हजुरको दुर्गन्धित भिक्षा पात्रमा कसरी दिन सक्छु। पहिले यसलाई सफा त गर्नुस्।

गुरुले मुस्कुराउँदै जवाफ दिनुभयो– व्यापारी ठीक भन्यौ ! मैले पनि तिमीभित्र वर्षौंदेखि अझै बाँकी रहेको लोभ, मोह, क्रोध, ईष्र्यारूपी दुर्गन्ध भरिएको मनलाई सफा नगरीकन, तिम्रो चित्त शुद्दी नभईकन कसरी दीक्षा दिऊँ ? तिमीले पनि मनका अशुद्धिहरूलाई सफा गर। जब तिम्रो मन र विचार पवित्र भावनाले ओतप्रोत हुन थाल्छ, त्यसै दिन तिमी दीक्षित हुनेछौ। यो बोध कथाभित्र लुकेको सन्देशले जोसुकैलाई जागृत गराई स्वाध्यायरूपी धन आर्जनमा प्रेरित गराउँछ, स्वाध्यायबाटै आन्तरिक वैभवताको विकास हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *