प्रमुख समाचार

एक दर्जन चेकपोस्ट पार गर्दै भन्सार छलेका लाखौंका सामान काठमाडौंमा

काठमाडौं– एक दर्जनभन्दा बढी प्रहरी चेकपोस्ट पार गर्दै भन्सार छलेका सामान काठमाडौं भित्रिने गरेको पाइएको छ। महानगरीय प्रहरी अपराध महाशाखाले आइतबार ठूलो मात्रामा भन्सार छलेर ल्याइएका सूर्तीजन्य सामाग्री काठमाडौंबाट बरामद गरेपछि सो कुरा पुष्टि भएको हो।

वर्षौदेखि लाखौं राजश्व छली गर्दै सूर्तीजन्य पदार्थ भित्र्याएको आशंकामा महाशाखाले सुन्धारा, गौरीघाट र ललितपुरको धापाखेलका गोदाममा छापा हानेर ठूलो मात्रामा सूर्तीजन्य पदार्थ आइतबार बरामद गर्‍यो।

उक्त सामानसहित प्रहरीले भारत मोतिहारीको पूर्वी चम्पारण चैनपुरका २७ वर्षीय मोहमद आदिल हुसेन, भारतकै छपरा जजौलीका ४५ वर्षीय उदय भन्ने शरणकुमार सिंह र नुवाकोटको लिखु गाउँपालिका-३ का ३० वर्षीय नारायण बोगटीलाई पक्राउ गरेको छ।

ad
हुसेनको सुन्धारास्थित गोदाम, सिंहको गौरीघाटमा रहेको बनारसी पान पसल र बोगटीको धापाखेलमा रहेको गोदामबाट ५० लाख बराबरका सामान बरामद गरिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

रजनीगन्धा, सुपारी, गुट्खा, पान मसला, गुल दन्त मन्जन, तम्बाकु, मिठा पान मसला, जर्दा पान मसला, बिडी, खैनी, तमाखुलगायतका सूर्तीजन्य पदार्थ बरामद भएको थियो।

महाशाखाले बरामद गरेका यी सामान रक्सौल नाका हुँदै वीरगञ्ज भित्रिएको र त्यहाँबाट काठमाडौंसम्म आएको जानकारी दिएको छ। भारतदेखि काठमाडौंसम्म ल्याउने तीन लेअरका व्यक्ति परिचालित भएको पाइएको छ। ‘एउटा समूहले भारतदेखि वीरगञ्जसम्म पुर्‍याउने गरेको देखिन्छ‚’ पत्रकार सम्मेलनमा बोल्दै एसपी मुकेशकुमार सिंहले भने, ‘अर्को व्यक्तिले वीरगञ्जदेखि काठमाडौंसम्म ल्याउने र पक्राउ परेका व्यक्तिले सप्लाई गर्ने गरेको पाइयो।’

एसपी सिंहले बताएअनुसार नै नेपाल भारत सीमादेखि काठमाडौंसम्म भन्सार छलेर यो गिरोहले सामान भित्र्याउने गरेको पुष्टि भएको छ। सीमा नाका रक्सौलदेखि, मकवानपुर, चितवन, धादिङ, नागढुंगा हुँदै काठमाडौं भित्रँदासम्म एक दर्जन प्रहरी चेकपोस्ट पार गर्नुपर्ने हुन्छ। तर तस्करले प्रहरीका आँखा छल्दै लाखौं राजश्व छलेर सामान भित्र्याउने गरेको पाइएको छ।

एक दर्जन प्रहरी चेकपोस्ट पार गर्दै लाखौंको सामान लामो समयदेखि काठमाडौं भित्रिनु सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छ? यसबारे अपराध महाशखाका एसएसपी थापा भन्छन्, ‘उनीहरुले सार्वजनिक गाडीमा थोरै थोरै गरेर सप्लाई गरेकाले प्रहरीको आँखा नपरेको हुनसक्छ।’

यसअघि पनि पटक पटक प्रहरीले भन्सार छलेर काठमाडौंसम्म आएका लाखौंका सामान बरामद गरेको थियो। गत पुस ९ गते महानगरीय प्रहरी वृत्त स्वयम्भूले भन्सार छलेर ल्याएका ५५ लाख रुपैयाँ बराबरका मोबाइलसहित गुहेश्वरी बस्ने २७ वर्षीय निकेश शाक्य र लैनचौर बस्ने नुवाकोटका रेश्मा श्रेष्ठलाई पक्राउ गरेको थियो। यसरी अवैध रुपमा सामान काठमाडौं भित्रिनुले प्रहरी जाँचमा प्रश्न चिन्ह उठेको छ।

यसरी परे फन्दा
भन्सार छलेर भारतदेखि काठमाडौंसम्म सूर्तीजन्य पदार्थ आउने गरेको सूचना महानगरीय प्रहरी अपराध महाशाखामा केही दिन अघिमात्रै आयो। ‘सूचनाको भेरिफाई गर्न हामी ग्राहक बनेर गौरीघाटको एक पसलमा सामान खरिद गर्न गयौं‚’ महाशाखाका एक प्रहरी निरीक्षक सुनाउँछन्, ‘तपाईहरु नयाँ ग्राहक हुनुभयो। एकैपटक कसरी कारोबार गर्ने?’ ती पसलेको यो जिज्ञासाले सूचना सत्य रहेको प्रहरीले निष्कर्ष निकाल्यो।

त्यसपछि प्रहरीले एक हप्ता निगरानी गरेर तीनवटा गोदाम पत्ता लगायो। उनीहरुले बेच्ने गरेका सामानमध्ये केहीमा अन्तःशुल्कको स्टिकर टाँस गरिएको थियो। तर धेरैजसो सामानमा भने टाँस गरिएको नपाएपछि भन्सार छलेर ल्याएको निष्कर्षमा प्रहरी पुगेको थियो।

त्यसपछि आइतबार महाशाखाका एसपी हृदय थापाको कमाण्डमा खटिएको टोलीले उक्त सानमानसहित तीन जनालाई पक्राउ गरेको हो। उनीहरु पक्राउ परेसँगै सूर्तीजन्य पदार्थसँगै अन्य थुप्रै सामान काठमाडौं भित्रिने गरेको सूचना आएको एसपी थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *