प्रमुख समाचार

आस्थाको तर्फबाट म माफी माग्छु

नेपाली सांगीतिक दुनियाँमा आफ्नै नाम छ हरिबहादुर राउतको । यद्यपि, अहिले चाहिँ उनलाई गायिका आस्था राउतको पिता भनेर चिनाउनुपर्ने भएको छ ।

हरिबहादुर केही बेचैन छन् यतिबेला । सिक्किममा रहेकी उनकी छोरीलाई फर्कनेवित्तिकै पक्राउ गर्ने भनेर प्रहरी तम्तयार बसेको छ । आस्थाको विषयमा धेरैथरि टिप्पणीहरु सामाजिक सञ्जालमा आइरहेका छन् ।

अनलाइनखबरसँग अन्तरवार्ता दिने क्रममा हरिबहादुरले आफ्नो आँसु थाम्न सकेनन् । निकैबेर उनको गला अवरुद्ध भयो । उनले बारम्बार हात जोडेर बिन्ति गरे, ‘कृपया तिललाई पहाड नबनाइदिनुस, मेरी छोरीबाट कुनै गल्ति भएको भए म माफी माग्छु ।’

त्यस दिन घरबाहिर थिए, हरिबहादुर राउत । छोरी आस्था सांगीतिक कार्यक्रमका लागि सिक्किम जाने कुरा थाहा थियो उनलाई तर आ-आफ्नो व्यस्तताले खासै कुराकानी हुन पाएको थिएन ।

आस्था प्रायः देशभित्र र बाहिर हुने सांगीतिक कार्यक्रममा हिँडिरहने भएकाले आमाबुवालाई छोरी घरमा नहुनु कुनै नौलो कुरा हुँदैन । कहिलेकाहीँ त आस्थाले बुवाआमालाई भन्न पनि भ्याउँदिनन् । एक ठाउँबाट फर्केलगत्तै अर्को ठाउँ पुग्ने हतारो हुन्छ ।

‘छोरी विदेश गएकी छ कि देशभित्रकै कार्यक्रममा गएकी छन् भन्ने कुरा उनको सुटकेश हेरेर थाहा हुन्छ,’ हरिबहादुर भन्छन्, ‘विदेश गएको बेला सानो सुटकेस घरमा हुन्छ । स्वदेशभित्रै छन् भने ठूलो सुटकेश घरमा हुन्छ ।’

माघ १ गते आफ्नो सानो सुटकेश घरमा छोडेर हिँडेकी थिइन् आस्था । उनी घरबाट निस्कँदा बुवा-आमा दुवै बाहिर थिए ।

हरिबहादुरलाई बेलुकीतिर एक चिनजानका पत्रकारले फोन गरे । उनले आस्थाको फेसबुक लाइभ हेरेका रहेछन् । एयरपोर्टमा यस्तो भएछ भनेर पत्रकारले सुनाउँदा सुरुमा त राउतले त्यति ठूलोरुपमा लिएनन् । तर, त्यसपछि फोनको घन्टी लगातार बज्न थाल्यो ।

हरि भन्छन्, ‘दिनभर म बाहिर काममा थिएँ । फेसबुक हेरेको थिइनँ । अरुको फोन आएपछि मात्र पत्तो पाएँ ।’

हरिले मोबाइलमा फेसबुक खोलेर हेरे आस्थाको भिडियो, जुन त्यतिबेलासम्म सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो । साथै, आस्थाको विषयमा नानाथरि प्रतिक्रियाहरु पनि आइरहेका थिए । हरिबहादुरको चिन्ताको पारो बढ्यो ।

आस्थाको लाइभ भिडियोका बारेमा उनी भन्छन्, ‘मेरी छोरी हक्की स्वभावकी छ । अन्याय सहनै सक्दिन । उसको पेटमा पाप छैन । पक्कै केही नराम्रो व्यवहार भयो होला र नै त्यसरी आवेशमा आइ । तर, शब्दचयनमा केही त्रुटि भएकै छ ।’

विवाद बढ्दै जाँदा प्रहरीले एयरपोटभित्रैको सीसीटीभी फुटेज बाहिर ल्याइसकेको छ । यसमा जनमत विभाजित छ । कसैले आस्थाप्रति सहानुभूति दर्शाएका छन् त कसैले उनको आलोचना गरेका छन् । धेरैले चाहिँ दुवैको गल्ति औंल्याइरहेका छन् । हरिबहादुरलाई के लाग्छ ?

उनी भन्छन्, ‘सीसीटीभीको भिडियोमा दृश्य मात्रै छ, आवाज छैन । त्यसैले यो हेरेर मात्रै को दोषी हो भनेर निर्क्यौल गर्न कठिन हुन्छ । तर, म यतिचाहिँ भन्न सक्छु कि प्रहरीबाट गलत बोली-वचन नभएको भए छोरीले बिनाकारण त्यसरी आक्रोश पोख्ने थिइन । केही न केही गल्ती दुवैबाट भएको छ ।’

उनी थप्छन्, ‘गल्ती दुवै तर्फबाट भएका होलान् । तर, सत्य बोल्न पाउनुपर्छ सबैले । यदि बोल्नै डराउनु पर्ने भयो भने त पञ्चायतकाल र अहिलेमा के फरक भयो र ।’

प्रहरी अनुसन्धानको विषय भएकाले धेरै बोल्न नसक्ने उनले बताए । उनले भने, ‘प्रहरीले आस्थालाई पक्राउ पुर्जी जारी गरिसकेको छ । अब छलफल होला, अनि सत्यतथ्य आउला । त्यसैको प्रतिक्षा गरौँ ।’

प्रहरीले आस्थालाई पक्राउ नै गर्ला भन्ने चाहिँ उनलाई लागेको छैन ।

हरिबहादुर भन्छन्, ‘प्रहरीसँग धेरै ठूला-ठूला जिम्मेवारी छन् । हत्या, बलत्कारका ठूला अपराधिहरु पक्राउ पर्न सकेका छैनन् । बोल्दा केही गल्ति भयो भनेर सिंगो प्रहरी मेरी छोरीलाई जेलमा हाल्न तयार हुँदैन होला ।’

अहिले केही मिडियाले पनि तिललाई पहाड बनाएर समाचार सम्प्रेषण गरेको हरिबहादुरको दुखेसो छ । खासगरी ‘आस्था राउत फरार’ भनेर लेखिएका समाचारहरुले उनको मन दुखाएको रहेछ ।

उनले भने, ‘मेरी छोरी सांगीतिक कार्यक्रमका लागि सिक्किम गएकी हो भनेर सबैलाई थाहा छ । उसले प्रहरीलाई अनुसन्धानमा सहयोग गर्छु भनिरहेकी छ । केही दिनमा कार्यक्रम सकिएपछि फर्किहाल्छे । यदि प्रहरीले आइहाल्नुपर्छ भन्यो भने कार्यक्रम छोट्याएर पनि आउँछे । अनि, उसलाई कसरी भागेको वा फरर भन्न मिल्छ त ? प्रहरीले जे भन्यो मिडियाले पनि त्यही लेखिदिने ?’

आस्थाले यो आफ्नो केही गल्ती महसुस गरेर नै माफी मागेको हरिबहादुरको भनाइ छ ।

‘बाहिर अलिकति कडा देखिए पनि उसको मन कोमल छ । चाँडै भावुक हुन्छे । हामीसित फोनमा कुरा गर्दा पनि धेरै रोएकी छ । नेपाल फर्केपछि प्रहरीमा गएर आफ्नो कुरा राख्छु भनेकी छ,’ हरिबहादुरले भने ।

यो विषयलाई प्रहरीले मुद्दा-मामलामा लगेको उनलाई त्यति चित्त बुझेको छैन ।

‘दुवै पक्ष बसेर आपसी छलफलमा कुरा मिलाउनु सकिने कुरा हो । यस्तो विषयलाई चर्काउँदा सबैलाई घाटा हुन्छ । भ्रमण वर्ष मनाइरहेको बेला देशलाई नै घाटा हुन्छ । आखिर कलाकारले पनि त देश विदेशमा भ्रमण वर्षको प्रचार गरिरहेका छन् ।’

हरिबहादुर र सावित्री राउतकी एक्ली सन्तान हुन् आस्था । २०४१ सालमा हरिबहादुर र पवित्राको विवाह भएको थियो भने त्यसको ४ वर्षपछि आस्था जन्मेकी थिइन् ।

त्यतिबेला ४-५ जना सन्तान जन्माउने चलन थियो । सरकारले चाहिँ ‘दुई सन्तान ईश्वरका बरदान’ को नारा अघि सारेका थिए । तर, हरिबहादुर दम्पत्तिले भने एउटै सन्तानमा चित्त बुझाए ।

‘छोरा भए पनि छोरी भए पनि एउटा मात्र पाउने हामीले पहिल्यै तय गरेका थियौं । हामी समाजलाई पनि एउटा सन्देेश दिन चाहन्थ्यौं ।’
बुवा कहलिएका गायक भइहाले । आमा पनि गीत लेख्ने । सांगीतक माहोलमा हुर्किइन् आस्था । नाच्न पनि उत्तिकै पोख्त थिइन् ।

आस्था कक्षा ६ मा पढ्दै गर्दा हरिवहादुरले उनलाई संगीत सिक्न मिलन विद्या मन्दिरमा भरिदिए । हरिबहादुरका साथी चर्चित संगीतकार सुरेश अधिकारीले त्यहाँ सिकाउँथे । सुरेशले नै आस्थाको स्वरलाई निखारे । उनको आवाज पृथक खालको थियो ।

सोही विद्यालयमा पढ्दै गर्दा आस्थाले विभिन्न बाल गीत प्रतियोगिताहरुमा सहभागी हुन थालिन् । रेडियो नेपालको बाल गीत प्रतियोगितामा उनी दुई पटक दोस्रो भएकी छन् । यस्तै, काठमाडौंमा आयोजित वीरेन्द्र शिल्ड प्रतियोगितामा तीनपटक प्रथम भएर रनिङ शिल्ड पच पारेकी थिइन् ।

हरिबहादुर भन्छन्, ‘एक वा दुई पटक जित्दा त्यो शिल्ड फिर्ता गर्नुपर्थ्यो । तर, आस्थाले तीन पटक लगातार जितेर त्यसलाई पच पारेकी थिइन् ।’

उसले त्यो बेला ‘छोरालाई पढ्ने पाठशाला, छोरीलाई पाखा र भिर” बोलको बाल गीत गाएकी थिइन् । एसएलसीपछि उनले ‘सालको टपरी गाँसेर’ बोलको रिमिक्स गीत गाइन्, जसले उनलाई चिनायो ।

आस्थाको फरक ‘टोन’ लाई धेरैले रुचाए । पछि उनले आफ्नै एल्बम निकालिन् ‘आधार – भाग १’ । यस एल्बममा भएका गीतहरु हिट भए । यस एल्बमा समावेश ‘खोइ त मलाई झुम्के बुलाकी…, चौबन्दीमा पटुकी…’ लगायत गीतहरुले आस्थालाई सांगीतिक क्षेत्रमा स्थापित गराएका हुन् । त्यसपछि देश तथा विदेशका कार्यक्रमहरुमा उनको डिमान्ड बढ्यो ।

घरको एक्लो सन्तान भएपछि माया त अवश्य बढी भइहाल्छ । कतिपय एक्लो छोरा-छोरीहरु बुबाआमाको मायाले पुल्पुलिने गर्छन् र त्यसको प्रभाव उनीहरुको स्वभावमा पर्छ । आस्थाको विषयमा पनि कतिपयले यस्तै ठान्छन् ।

तर, आफ्नी छोरी बाहिर भनिने जस्तो घमण्डी वा जिद्दी स्वभाव नभएको हरिबहादुर बताउँछन् ।

उनले भने, ‘माया त गरिन्छ नै, तर अनुशासन पनि सिकाएका छौं । उसको कमजोरी यत्ति हो कि मनमा एकथोक र मुखले अर्कोथोक गर्न सक्दिनँ । कसैको ज्यूहजुर गर्ने उसको स्वभाव छैन ।’

‘यहाँ कतिपय कुराहरु सिधासिधा भन्दा धेरैलाई अपाच्य पनि हुन्छ । त्यसैले कूटनीतिक वा घुमाउरो तरिकाले बोल्नुपर्ने हुन्छ । उसले त्यसरी बोल्न जान्दिन । नबिराउनु नडराउनु भन्ने छ उसको आदर्श ।’

आस्थाले जस्तोतस्तो गीत गाउँदिनन् । कुनै पनि गीत गाउनुपूर्व बुवा आमासँग सल्लाह लिने गर्छिन् । शब्द चित्त बुझेपछि मात्रै गाउन तयार हुन्छिन् ।

हरिबहादुर भन्छन्, ‘हाम्रो त घरभित्रै सेन्सर बोर्ड छ । हामी तीन जनाको सेन्सर बोर्डले निर्णय गरेपछि मात्रै आस्थाले गाउँछिन् । उसलाई प्राय राष्ट्रियता जोडिएका सन्देशमुलक गीतमा रुचि छ ।’

नेपाली संस्कृतिसँग नसुहाउँदो गीतबाट आस्थालाई टाढा राखेको हरिबहादुर बताउँछन् ।

उनी भन्छन्, ‘बरु आधा पेट खाइन्छ । तर संस्कृति भुलेर बनेका गीतहरु गाइँनन् । आस्थाले छोडेका धेरै गीत छन्, जुन हिट भएका छन् ।’

आस्थाले अहिले मास्टर्स गरिरहेकी छिन् । उनको विषय आमसञ्चार र पत्रकारिता हो । पत्रकारिता र पर्यटनमा आस्थालाई विशेष रुचि भएको हरिबहादुरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *