प्रमुख समाचार

बझाङमा हिमपातका कारण ५ करोड बराबरको क्षती, दुईको ज्यान गयो, एघार सय पशु चौपाया मरे

बझाङ, ०९ माघ । पुषको अन्तिम सातादेखि सुरु भएका हिमपातका कारण बझाङमा ठूलो धनजनको क्षती भएको छ ।

चार पटकसम्म लगातार परेको हिमपातका कारण सुर्मा गाँउपालिकामा २ को ज्यान गएको छ । त्यस्तै सुर्मा र साइपाल गाँउपालिकामा करीब एघार सय पशु चौपाया मरेका छन् ।

हिमपातका कारण सबै भन्दा बढी साइपाल गाँउपालिकामा क्षती भएको छ । साइपाल गाँउपालिकामा एक हजार ७ सय भन्दा बढी भेडा÷च्याङ्ग्रा मरेका साइपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनुभयो । त्यहाँका करीब तीन सय घर–परिवारले भेडा च्याङ्गा पाल्दै आएका छन् ।

अध्यक्ष धामीका अनुसार बाक्लो हिमपातका कारण करीब एक करोड तीन लाख रुपैयाँ बराबरका भेडा÷च्याङ्राहरु मरेका हुन् । साथै गाँउपालिकाको विवरण अनुसार ६ लाख ५० हजार रुपैयाँ बराबरका विभिन्न जातका फलफूलका बोटहरुमा क्षती पुगेको छ ।

पूरै गाँउपालिकामा एक करोड ९ लाख ५० हजार मूल्य बराबरको नोक्सान भएको अध्यक्ष धामको भनाइ छ ।

यसै क्रममा जिल्लाको तल्कोट गाँउपालिकामा २२ लाख ५० हजार मूल्य बराबरको नोक्सान भएको गाँउपालिका अध्यक्ष लाल बहादुर विष्टले जानकारी दिनुभयो । हिमपातका कारण दाँतोली गाड लघुजल विद्युत आयोजना र मल्लो सुगाड लघु जलविद्युत योजनाका पोलहरु ढलेर १५ लाख बराबरको क्षती भएको छ ।

अहिले विद्युत सेवा पूर्ण रुपमा अवरुद्ध भएको उहाँले बताउनुभयो । गाँउपालिकाले वितरण गरेका ३० भन्दा बढी टनेल हाउसहरुमा पूर्ण रुपमा क्षती पुगेको छ । जसबाट ७ लाख ५० हजार बराबरको क्षती भएको उहाँले जानकारी दिनुभयो ।

यता खप्तड छान्ना गाँउपलिकामा पनि एक करोड २ लाख ३५ हजार मुल्य बराबरको नोक्सान गरेको छ । एकै पटक बाक्लो हिमपात भएकै कारण गाँउपालिकाबाट वितरण गरिएका २ सय ८ वटा भन्दा बढी टनेल हाउस भत्किएका छन् । साथै विभिन्न ठाँउमा विद्युतका पोलहरु भाँचिएका छन् ।

गाँउपालिकाले वितरण गरेका दाँते ओखर, कागती, केराका बोटलगायतका फलफूहरु पूर्ण रुपमा नष्ट भएको गाँउपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले बताउनुभयो । अधिकांश फलफूलका बोटहरु काम नलाग्ने गरेर भाँचिएका छन् । आफू समेत किसान भएको बताउदै उनले आफ्नो मात्रै करीब २५–३० लाख बराबरको नोक्सान भएको बताउनुभयो ।

जिल्लाको जयपृथ्वी नगरपालिकामा भने हिमपातका कारण केही कम क्षती भएको छ । विभिन्न प्रजातीका कागती, अमिलोलगाएतका फलफूहरु र टनेलहरु गरी करीब ५ लाख मूल्य बराबरको क्षती भएको जयपृथ्वी नगरपालिकाका कृषि संयोजक राम बहादुर खड्काले बताउनुभयो ।

यता मष्टा गाँउँपालिका, थलारा गाँउपालिका, केदार स्यँु गाँउपालिका, बुंगल नगरपालिका, छविसपाथिभेरा गाँउपालिका, विथ्थडचिर गाँउपालिकामा पनि लखौं मूल्य बराबरको क्षती भएको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *