मनोरंजन

राजेश दाइ र मेरो तुलना गर्न मिल्दैन: विराज भट्ट

काठमाडौं – अभिनेता विराज भट्टले महानायक राजेश हमालको खुलेर तारिफ गरेका छन् । उनले महान राजेश हमालले लामो समय नेपाली फिल्म क्षेत्रमा योगदान पुर्‍याएको भन्दै तारिफ गरेका हुन् ।

कुनै समय चर्चामा रहेका विराज भट्टलाई कतिपय निर्देशकले राजेश हमालको विकल्पमा पनि लिने गरेका थिए । हमालभन्दा निकै पछि फिल्म उद्योगमा आएका विराजले राजेशलाई महानायक भन्दै सम्मान व्यक्त गरे ।

‘राजेश दाइले आफ्नो युग नै खानुभयो, उहाँसँग मेरो तुलना गर्न मिल्दैन, कहिलेकाहीँ उहाँसँग तुलना भएको देख्छु, त्यसलाई सौभाग्य ठान्छु,’ विराजले भने ।

अभिनेता विराज भट्ट । तस्वीर – अर्घेलो थापा
राजेश हमालले आफ्नो युगमा एकछत्र राज गरेको र उनले आफ्नो बेलामा अरु कसैलाई अघि आउन नदिएको विराजले बताए ।

‘लामो समय राजेश दाइले फिल्म क्षेत्रमा काम गर्नुभयो, उहाँलाई असफल भन्न मिल्दैन,’ खबरहबसँगको कुराकानीमा उनले भने, ‘राजेश हमाल जति कुनै अभिनेताले स्टारले नेपालमा चलेर देखाओस् न !’

विराजले आफूले स्कूल पढ्दा राजेश हमालका फिल्म हेरेर हुर्केको पनि बताए ।

भट्टले निर्देशन गरेको फिल्म ‘साङ्लो’ माघ २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा विराजको लगानी र कथा पनि विराजकै छ ।

फिल्मको प्रचारलाई लिएर यतिबेला विराज मिडिया फ्रेण्डली बनेका छन् । फिल्मका प्रचारात्मक साम्रगीले रिलिजअघि राम्रै चर्चा कमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *