प्रमुख समाचार

अनलाइन सपिङका नाममा ठगी, आठ पक्राउ

माेरङ – अनलाइन सपिङका नाममा ठगी गरेको आरोपमा मोरङ प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले करिब ६९ लाख नेपाली रुपैयाँसहित खोटाङ जन्तेढुंगा गाउँपालिका– ४ का २२ वर्षीय शिवजी खड्का, २० वर्षीय देवी चौलागाई, मोरङ सुन्दरहरैँचा नगरपालिका– ३ का विशाल अर्याल भनिने ३६ वर्षीय निरञ्जनप्रसाद आचार्य, धरान उपमहानगरपालिका – २० विष्णुपादुका बस्ने २० वर्षीय भावना राई, सोही स्थानकी १९ वर्षीया सरिता परियार, २० वर्षीया वर्षा कार्की, २३ वर्षीया सानु गौतम र २१ वर्षीया लक्ष्मी कार्कीलाइ पक्राउ गरेकाे हाे ।

‘वेष्ट बाई’ नामक फेसबुक पेजबाट सामान अडरका नाममा पैसा लिँदै सम्पर्क विहीन हुने निरञ्जनले अन्य सात जनालाई परिचालन गर्दै आएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी बताए । युवतीहरुले भने बैंक खाता खोल्नका लागि नागरिकता दिएका थिए । चौलागाई र खड्का भने बैंकबाट पैसा निकाल्ने काम गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

निरञ्जनको समूहको नेटवर्क भारतमा पनि छ । उनले आफू भारतीय एजेण्टको कर्मचारी भएको बताएका छन् । प्रहरीका अनुसार आचार्यले विभिन्न बैंकमार्फत एक करोड भन्दा बढी रुपैयाँ भारतीय पक्षलाई बुझाएको स्वीकार गरेका छन् । उनले अर्डरमा आफ्ना लागि ५ प्रतिशत कमिसन मात्र आउने बताएको जानकारी एसपी अधिकारीले दिए ।

भारतीय आधारकार्ड पनि बनाएका आचार्यको नेपाल र भारतमा बैंक खाताहरु छन् । उनले १७ जना व्यक्तिका नाममा ७८ वटा छुट्टा छुट्टै बैंक खाता खोलेका छन् । प्रहरीका अनुसार निरञ्जको मात्र ११ वटा बैंकखाता छ । वर्षा कार्कीको १४, लक्ष्मी कार्कीको १३, सानु गौतमको २२ वटा वैंक खाता छन् । उनीहरुको नाम परिवर्तन गर्दै एउटै बैंकमा तीन वटासम्म खाता खोलेकाे पाइएकाे छ ।

पक्राउ पर्ने डरले कारोबार भइसकेपछि भने ती बैंकका खाता बन्द गर्दै हिँड्ने गरेको पाइएको छ । युवतीहरुलाई एक बैंकमा खाता खोलेबापत २ हजार रुपैयाँ दिएर आचार्यले चेक आफू प्रयोग गर्दै आएको एसपी अधिकारीको भनाइ छ । यसरी खोलेका खाताहरु ग्राहकबाट पैसा उठाईसकेपछि भने बन्द हुने गरेको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकाहरुलाई मंगलबार पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको छ । उनीहरु विरुद्ध मलुकी अपराधसंहिता अनुसार ठगी, बैंकिङ कसुर, सरकारी छाप किर्ते, दोहोरो नागरिकता र संगठित अपराध ऐन अन्तरर्गत मुद्दा चलाइने एसपी अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *