राजनिति

राष्ट्रियसभा गृहमा नेकपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठक बुधबारबाट सुरु हुँदैछ। पूर्व–एमाले र माओवादीबीच एकता भएको २१ महिनापछि एजेन्डा तय गरेर पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

केन्द्रीय समिति बैठक आज बिहान ११ बजेबाट राष्ट्रियसभा गृहमा बस्दैछ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नअटाउने भएपछि राष्ट्रिय सभागृहमा बैठक गर्न लागिएको हो। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन मन्तव्य राख्नेछन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् भने महासचिवले संगठन तथा विधान संशोधन प्रस्ताव पेश गर्नेछन्।

आमन्त्रित स्थायी समिति सदस्यसहित केन्द्रीय समिति बैठकमा ४४७ सदस्य सहभागी हुनेछन्। सहभागी केन्द्रीय सदस्य १५ समूहमा विभाजन हुनेछन्। एउटा समूहमा २९ नेता रहनेछन्। यी समूहले राष्ट्रियसभा, धुम्बाराही र पेरिसडाँडा गरेर तीन ठाउँमा छलफल गर्नेछन्। केन्द्रीय समिति बैठकमा एजेन्डागत छलफल १५ समूहमा बिहीबारदेखि सुरु हुनेछ। यो समूहमा सचिवालय सदस्य भने सहभागी हुने छैनन्। समूहले ग्रुप लिडर बनाएर छलफलमा उठेका सवाल र सुझाव शुक्रबारबाट केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्नेछन्।

अध्यक्ष दाहालले छोरी गंगाको निवासमा बसेर तयार पारेको प्रतिवेदनको मस्यौदामाथि सचिवालय बैठकअगाडि दुई अध्यक्षले सामान्य परामर्श गरेका थिए। त्यसपछि सचिवालय बैठकमा प्रतिवेदनका विषयवस्तुबारे नेताहरुलाई जानकारी गराइएको नेताहरुको भनाइ छ ।

केन्द्रीय समिति बैठकका लागि पाँच दिनसम्म राष्ट्रियसभा गृहको हल बुकिङ छ। रिपोर्टिङ सकिएपछि दुई अध्यक्ष र महासचिवले जवाफ दिनेछन्। जवाफ दिएपछि समसामयिक प्रस्ताव पारित हुनेछ।

यस्ता छन् बैठकका सात एजेन्डा

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले बैठकका सात एजेन्डा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘सहीदप्रति श्रद्धाञ्जलि, प्रधानमन्त्री तथा पार्टी अध्यक्षको उद्घाटन मन्तव्य, दुवै अध्यक्षका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने, महासचिव विष्णु पौडेलले सांगठनिक योजना र विधान संशोधन प्रस्ताव पेस गर्ने, सातै प्रदेशका अध्यक्षले पार्टी संगठनात्मक अवस्थामा केन्द्रित रहेर रिपोर्ट पेस गर्ने, समसामयिक प्रस्ताव पेस गर्ने र विविध गरी सात एजेन्डा तय भएको छ,’ सचिवालय बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *