प्रमुख समाचार

उपत्यकामा १० पार्क बन्ने

काठमाडौं : काठमाडौं उपत्यकामा वातावरणीयमैत्री पार्क बन्ने भएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाका विभिन्न १० स्थानमा यस्ता पार्क बनाउन लागेको हो। बढ्दो जलवायु परिवर्तनसँग जुध्न वातावरणीयमैत्री पार्क निर्माण गर्न लागिएको प्रधिकारणका आयुक्त भाइकाजी तिवारीले जानकारी दिए।

टोखा नगरपालिकाका तीन स्थान चण्डेश्वरी, भूतखेल र सपनतीर्थमा पार्क बनाइनेछ। काठमाडौं महानगरपालिकाको भत्केकोपुल र बूढानीलकण्ठ नगरपालिकामा पार्क निर्माण हुने स्थान तय भइसकेको छ। यस्तै कागेश्वरीमनहरा र नागार्जुन नगरपालिकाबाट पनि पार्क माग भएको तिवारीले बताए। बाँकी तीन स्थानमा भने नगरपालिकाको मागका आधारमा तय गरिनेछ। उपत्यकाका सार्वजनिक जमिनमा पार्क निर्माण गरिनेछ।

पार्क बनाउन प्राधिकरणलाई संयुक्त राष्ट्रसंघले वित्तीय सहयोग गर्नेछ। राष्ट्रसंघले ७० करोड रुपैयाँ उपलब्ध गराउनेछ। विश्व व्यापी तापक्रम वृद्धिसँग जुध्न राष्ट्रसँगको अनुदानमा उक्त पार्क बन्न लागेको हो। प्राधिकरण र राष्ट्रसंघबीच पुसमा अनुदान रकमसम्बन्धी सम्झौता भइसकेको छ।

काठमाडौं उपत्यकको जनसंख्या ६० लाखभन्दा माथि पुगिसकेको छ। तर, मुलुकको राजधानीमा बसोबास गर्नेलाई स्वच्छ हावा लिने र शान्त स्थानमा समय बिताउन पर्याप्त पार्क छैन। भएका पार्क पनि नामका मात्रका छन्। ती पार्कमा साँझ, बिहान सुस्ताउने, शारीरिक व्यायाम, बालबालिका खेल्ने र ज्येष्ठ नागरिकलाई आराम गर्ने स्थानको अभाव छ।

व्यवस्था दैनिकीबाट केही समय निकालेर शान्तपूर्व वातावरणमा समय बिताउन कठिन छ। भू–बनोट, मौसम, बोटबिरुवाको विविधता र साँस्कृतिक सम्पन्नताका हिसाबले काठमाडौं सुन्दर सहर हो। पार्क संसारभर सहरका अभिन्न अंग बन्न थालेका छन्।

काठमाडौंको पर्यावरण, मानिसको शारीरिक तथा मानसिक स्वास्थ्य, सहरको शोभा र सभ्यतासँग जोडिने पार्क निर्माण गर्नुपर्ने आवस्था सिर्जना भइसकेको छ। सहरी बासिन्दाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पार्क र हरियालीले सकारात्मक प्रभाव पार्छ। ‘स्वच्छ सहरका लागि पार्क आवश्यक छ। व्यवस्थित र सुरक्षित पार्क नहुँदा वृद्ध र बालबालिका घरकै चार कुनामा कोचिन बाध्य छन्’, तिवारीले भने, ‘वातावरणसँग प्रत्यक्ष जोडिन तथा मानसिक तथा शारीरिक तन्दुरुस्ती कायम राख्न पनि पार्क चाहिन्छ।’ बढ्दो सहरीकरणले काठमाडौंका रैथाने बोटबिरुवा, चराचुरुंगी लोप हुने अवस्थामा पुगिसकेका छन्। वातावरण पनि सन्तुलित बनाउने र काठमाडौं उपत्यकाको साँस्कृतिक विविधता झल्काउने किसिमका पार्क निर्माण गरिने उनले बताए। प्राधिकरणले निर्माण गर्ने पार्कमा पोखरी, हिड्ने बाटो, शारीरिक व्यायाम गर्ने स्थान हुनेछन्। इन्टरनेट सेवा प्रधायकसँगको साझेदारीमा फ्री वाइफाइको व्यवस्था पनि गरिनेछ।

यी पार्क डिजाइन एन्ड बिल्ड मोडालिटीमा निर्माण गरिने प्राधिकरणको योजना छ। यो मोडालिटीमा एउटै कम्पनीले डिजाइन र निर्माण गर्नेछ। यो मोडालिटीमा काम गर्दा डिजाइन र निर्माणमा विवाद आउँदैन। परामर्शदाता कम्पनीबाटै निर्माण गरिने भएकाले निर्माणको क्रममा आवश्यकताका आधारमा डिजाइन परिवर्तन गरेर पनि अघि बढ्न सकिन्छ। चालु आर्थिक वर्षभित्रमै पार्क निर्माण गर्न टेन्डर निकालिने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *