मनोरंजन

भूकम्पले बाटो बदल्दिएका गायक

घरमा रेडियो नेपाल बजिरहन्थ्यो । त्यसमा गीत बजिरहन्थे । कालीप्रसादलाई गीत खुब मनपथ्र्योे । गीत सुनेर घोत्लिरहन्थे । हिँड्दा पनि मथिङगलमा गीत गुन्जिरहन्थ्यो । साथीभाइसँग पनि खासै नबोल्ने, एकोरिरहन्थे । अलि ठूलो भएपछि क्यासेट प्लेयर किनेर क्यासेट सुन्न थाले । “क्यासेट प्लेयर किनेपछि सुरू भयो क्यासेट संकलन गर्नेक्रम । नारायण गोपाल, बच्चु कैलाश, फत्तेमान र किशोर कुमारका गीत संकलन गर्थेँ,” कालीप्रसाद भन्छन्, “नारायण गोपाल र किशोर कुमारको म ठूलो फ्यान । कोठामा गीत बजायो । सुन्यो । क्यासेटसँगै गाउँथेँ ।”

गीत सुनेर कहिल्यै धित मर्दैन थियो उनलाई । तर गाउन असाध्यै लाज लाग्ने । अरुसामु गाउनै सक्दैन थिए । नयाँ मान्छेसँग बोल्न पनि डराउँथे । भलै गाउँमा हुने सांस्कृतिक कार्यक्रममा प्यारोडीहरू भने खुब भन्थे ।

गीतप्रति अघाध स्नेह थियो । गीतले जति खुसी दिन्थ्यो त्यो अरुबाट महसुस गर्न सक्दैन थिए । गीत गाउन पाए हुन्थ्यो भन्ने थियो । न सात पुस्तामा कसैले गाएको न सात गाउँमा । तर पनि गाउँमा हुने भजन, रत्यौली र काँठे भाका उनी मजाले सुन्थे ।

इन्जिनियररिङको पढाइ
संगीतमा न भूत न भविष्य । यसमै करिअर बनाउन सक्छु भन्ने उनी सोच्नै सक्दैैनथे । गीत व्यवसाय हाइन साधना थियो । काठमाडौं कीर्तिपुरका मध्यमवर्गीय परिवारमा जन्मिएका उनले रहरको बाटो मात्रै हिँड्न सक्दैन थिए । जिम्मेवारीको डोको पनि बोक्नुपर्थ्यो ।

०५३ सालमा एसएलसी दिए । गाइड गर्ने मान्छे भएनन् अथवा आफैंले पनि ठोष निर्णय लिन नसकेर हो । भोलि के बन्ने भन्ने बाटो तय गर्न सकेनन् ।
कालीप्रसादले सुनेका थिए काठमाडौं युनिभर्सिटीमा संगीतको छुट्टै डिपार्टमेन्ट नै खुलेको छ । तर त्यो धुलिखेलमा थियो । कीर्तिपुरबाट बनेपा पुगेर पढ्न सक्ने आँट आएन । मनभित्रै मर्‍यो संगीत सिक्ने रहर । त्यसपछि उनी पुगेका थापाथली

इन्जिनियररिङ कलेज
संगीतप्रतिको झुकाव देखेर बुबाले कालीप्रसादलाई सांस्कृतिक कला प्रशिक्षण केन्द्र पु¥याए । कमल क्षेत्री थिए गुरु । तीन वर्ष भोकल सिके । भोकल सिक्न थाले पनि उनले गायक हुने सपना भने देखेका थिएनन् । कारण संगीतमा आम्दानी थिएन । हार्मोनियम बजाउन पाउनु नै उनलाई ठूलो उपलब्धी लाग्ने समय थियो । त्यही समय बुवाले उनलाई हार्मोनियम किनिदिए ।

उनले कीर्तिपुरमै साथीहरू भेटे, जो सँग गितार थियो । डेढ दुई किलोमिटर हिँडेर साथीकोमा जान्थे । दिनभरि गितार बजाउँथे । कहिलेकहिले घरमै ल्याउने अवसर पनि मिल्थ्यो । दिनभरि गाइड हेरेर गितारमा औंलाहरू डुलाउँथे । हार्मोनियम र किबोर्डमा बिहान ५ बजे उठेर संगीतमा सुर लगाउन खोज्थे । मनोज महर्जन, सुविन श्रेष्ठ, भास्कर रिजाल उनका प्यारा साथी थिए । काली आफैं ट्युन तयार पार्थे । साथीहरू वाह क्या राम्रो । तैंलेचाहिँ केही गर्छस् भन्थे ।

वाद्यवादनका सामग्री बनाउन पनि पाइने, गाउन पनि पाइने भएपछि इन्द्रेणी सांस्कृतिक समूहमा आबद्ध भएर गीत गाए । पैसा पनि आउने सांगीतिक माहोलमा बस्न पनि पाइने, त्यसैले उनले केही समय क्यासिनोमा किज पनि बजाए । सोल्टी र रोयल क्यासिनोमा किज बजाएको उनलाई सम्झना छ ।

एफएममा फोन
त्यो बेला एफएम रेडियोहरू भर्खर खुल्दै थिए । निजी स्टुडियोहरू खुल्ने क्रम सुरु भइसकेको थियो । तर पनि धेरैजसो रेडियो नेपालमा स्वर परीक्षा पास गर्नुपर्छ भन्थे । रेडियो नेपालले आयोजना गरेको राष्ट्रिय आधुनिक गीत प्रतियोगितामा उनले पनि भाग लिए । कहिले आफैं भाग लिन्थे, कहिले अरूका लागि संगीत तयार पारिदिन्थे ।

एफएम रेडियोहरूले अन्ताक्षरी र सांगीतिक कार्यक्रमहरू प्रशारण गर्थे, त्यसमा कालीप्रसाद सक्रिय सहभागिता जनाउँथे ।

कठोर संघर्ष
कलेज पढ्दाका दिन कालीप्रसादका सबैभन्दा कठोर संघर्षका दिन थिए । कलेज पढ्न आउँथे । कमल क्षेत्रीकोमा संगीत सिक्न जान्थे । त्यही समय विभिन्न स्कुलमा पढाउन पनि जान्थे ।

जब तीन वर्षको पढाइ सकियो । त्यसपछि करिअर केमा खोज्ने तनाव सुरु भयो । मन गीत–संगीतमा थियो । त्यसैले भ्याइनभ्याई सिकिरहेका थिए । पैसाका लागि पढाइरहेका थिए । तर यो नै करिअर हुन सक्छ भन्ने उनलाई विश्वास थिएन । एकेडेमिक रूपमा ओभरसियरको सर्टिफिकेट थियो ।

बुबालाई पनि घर व्यवाहार चलाउन सघाउनु थियो । आफू पनि स्वावलम्बी बन्नु थियो । त्यसका लागि कामको खोजीमा थिए कालीप्रसाद । २०५६ मा उनले थाहा पाए ओभरसियर पढेको मान्छे तिलगङ्गा आँखा अस्पतालले मागेको छ ।

तिलगङ्गा पुगेपछि आर्थिक अवस्था सहज बन्दै गयो । साथीहरूको गितार मागेर बजाउने उनले दोस्रो महिनाको तलबले २५ सय रुपैयाँमा गितार किने । त्यो अगाडि नै स्कुलमा संगीत पढाउँदाको कमाइले उनले किबोर्ड किनिसकेका थिए । हार्मोनियम बुवाले किन्दिएकै थिए । तिलगङ्गा पुगेपछि विस्तारै सांगीतिक इन्स्टुमेन्टहरू जोड्दै गए ।

सांगीतिक भेटघाटको तलतल
तिलगङ्गा पुगेपछि आर्थिक रुपमा त जिन्दगी सहज बन्दै गयो । तर सांगीतिक भेटघाट पातलियो । संगीतलाई पर्याप्त समय दिन पाउन छोडे । करिब तीन वर्ष पछि डोरेमीका भानुभक्त ढकालसँग उनको भेट भयो । त्यसपछि उनी फुर्सदमा डोरमी जाने, रेकर्डिङ र एरेन्जमेन्ट हेर्न थाले ।

आर्थिक सहजतासँगै समय भयो कि सांगीतिक साथीको खोजीमा निस्किहाल्थे । त्यही बेला भेटिए सुनील बर्देवा । त्यसपछि उनको बास नै डोरेमीमा हुन थाल्यो । डोरेमीमा उनले संगीत त सिकेनन् तर धेरै संगीतकर्मीसँग त्यहीँ भेट हुन्थ्यो । अरेन्जर गोपाल रसायलीसँगको सामीप्यता बढ्यो । “साथीहरू भेट हुने संगीतका गफ गर्ने, प्रविधि र त्यसको प्रयोगमा छलफल हुन्थ्यो । त्यो वातावरणले मलाई म्युजिक अरेन्जर र कम्पोजर बनायो । कम्प्युटर किनेँ र अरेन्ज गर्न सुरु गरेँ,” कालीले संघर्षका सुरुका दिन सम्झिए ।

प्रतियोगितामा प्रथम, कम्पोजमा अब्बल
साधना कला केन्द्रले आयोजना गरेको अधिराज्यव्यापी गायन प्रतियोगितामा उनी संगीतमा प्रथम भएका थिए, ०६२ मा । उक्त प्रतियोगितामा प्रथम भएपछि उनी सांगीतिक समूहमा चिनिए । शशि रावलले कालीप्रसादलाई भनिन्, “मलाई एउटा गीत बनाइदिनुस् न ।”

आग्रह स्विकार्दै कालीप्रसादले गीत तयार गरिदिए । शशिले गीत गाइन् । शब्द, संगीत र एरेन्जमेन्ट उनकै थियो । गीत थियो, ‘चाहना सकियो बहाना सकियो… ।’ पहिलो गीत नै हिट भयो ।

०६४ मा आएको एल्बममा नाम थियो, ‘इन्ट्रान्स’ । दुवैले यही गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए । दुवैका लागि यो गीत भाग्यशाली बन्यो । गीतले अवार्ड पायो । शशिलाई गायिकाका रुपमा स्थापित् गरिदियो । कम्पोजरको सानो समूहमा कालीप्रसादको पनि छबी बन्यो ।

जब यो गीत आम स्रोताले मन पराए । त्यसपछि बल्ल कालीले बुझे म कम्पोजका लागि फिट रहेछु गाउन होइन । “त्यो बेलासम्म पनि मलाई गाउन रहर लाथ्यो । तर जब त्यो गीतको संगीत मन पराइयो । त्यसपछि मैले रियलाइज गरेँ म गाउन हैन, कम्पोजका लागि रछु,” उनी आफूलाई गायनभन्दा संगीतका अरू विधामै अब्बल रहेको महसुस गरेको सुनाउँछन् ।

समयले कालीप्रसादको भेट सनुप पौडेल, हेमन्त रानासँग गरायो । चिनाइदिने भानुभक्त ढकाल थिए । कालीप्रसाद भन्छन्, “सबैको प्यारो मान्छे भानुभक्तले धेरै गायक–गायिकाको करिअर बुस्ट गर्न सहयोग गर्नुभएको छ ।” भानुभक्त समकालीन धेरै गायक–गायिकाका गुरु पनि हुन् ।

सनुपले गीत निकाल्ने भए । त्यसमा कालीले कम्पोज गरे । हेमन्त रानाले पनि गीत निकाल्ने भए । कालीप्रसाद उनीहरूका मिल्ने सखा । कम्पोज उनको हुने नै भयो । शब्द पनि उनैले लेखे । गीत थियो, ‘लैजा रे… ।’ हेमन्त रानाले गाए । गीत बजारले मन परायो । हेमन्त गायकका रूपमा स्थापित भए । त्यसको श्रेय कालीप्रसादको पोल्टामा पनि धेरथोर प¥यो । भलै बजारले चिनोस्, नचिनोस् । यो गीत ०६५ मा रेकर्ड भएर ०६६ मा रिलिज भएको थियो ।

तिलगङ्गामा दुई सिफ्टमा काम हुन्थ्यो । पहिलो बिहानदेखि दिउँसो २ बजेसम्म । अर्को त्यसपछि । कहिले कुन, कहिले कुन । पालैपालो ड्युटी हुन्थ्यो । जुनबेला समय पाउँथे सांगीतिक साथी–संगीकोमा पुगिहाल्थे उनी ।

चलचित्रमा प्रवेश
सनुपले निर्देशक गणेशदेव पाण्डेलाई चिनेका रहेछन् । सनुपले गणेशदेवलाई कालीप्रसादलाई सुझाए । ०६६ मा कालीप्रसादले पहिलोपटक चलचित्र ‘मालतीको भट्टी’मा काम पाए । कालीप्रसादले सबै गीत बनाउने मौका पाए । “त्यो बेला गणेशदेव मुम्बईमा बसेर काम गरिरहनु भएको थियो । उहीँबाट उहाँले मलाई स्क्रिप्ट मेलमा पठाउनुभयो,” कालीप्रसाद नोस्टाल्जिक हुन्छन्, “मलाई त्यो बेला इमेल पनि राम्रोसँग चलाउन आउँदैन थियो । हामी मेलबाटै कुरा गर्थ्यौ । ट्युन बनाएर इमेलबाट पठाउँथे । इमेलबाटै ट्युन सुनेर उहाँले कस्तो राम्रो बनायौ भन्नुहुन्थ्यो ।”

फिल्म त चलेन । तर गीत राम्रा थिए । त्यसले कालीप्रसादलाई आत्मविश्वास भर्यो । ‘भिजा गर्ल’को अफर आयो । काम गरे । यो चलचित्र पनि चलेन । यसमा पनि सांगीतिक पक्षको भने तारिफ भयो ।

तिलगङ्गाको काम थियो । यता सोलो गीत र चलचित्रको गीत बनाउनुपथ्र्यो । पारिश्रमिक कति आउँछभन्दा पनि गीत गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । भलै उनले पहिलो चलचित्रमा नै राम्रो पारिश्रमिक पाएको थिए । “सायद मैले पहिलो चलचित्रमा ९० हजार पारिश्रमिक नपाएको भए । आर्थिक शोषण भएको भए चलचित्रतर्फ मेरो मेरो बाटो त्यहीँबाट टुट्थ्यो होला,” उनी सुनाउँछन् ।

रातरात बसेर काम गर्थे । चलचित्रको गीत बनाउँदा दुई–तीन घण्टा मात्रै सुतेर काम गरेको कालीप्रसादलाई आजैजस्तो लाग्छ । आजात ढुंगानाको ‘बिदा नै देऊ बरु…’ चलिसकेको थियो । सीमा संग्रौलाको ‘के नै रुनु छ र…’ उनले बनाइदिएका गीत पनि चलिसकेका थिए ।

त्यसपछि उनले काम पाए चलचित्र ‘मञ्जरी’मा । गीत तयार पारे गीत थियो, ‘दैव हे…’ । सनुपले गाए । गीत सुपर हिट भयो । त्यसपछि उनको भेट भयो, एकतारेसँग । संयुक्त रूपमा गीत लेख्न थाले । आफूले तयार पारेको गीत गाउनलाई आर्थिक अभाव थिएन । मनले खाएको गीत रेकर्ड गर्थे ।

गीतमा दिलचस्पी थियो । तर काम अर्कै थियो । पैसा त थियो तर पूर्ण आत्मसन्तुष्टि थिएन । जागिर खान थालेको १२ वर्ष भइसकको थियो । सँगै गीतसंगीतलाई पनि समय चोरिरहेका थिए । तर स्वयंले महसुस गरिरहेका थिए समय पुगिरहेको छैन । १३औं शृंखलासम्म प्रशारण भएको ‘हाम्रो टिम’ सिरिजको ब्याकग्राउन्ड स्कोर गरे ।

आफैंले मन पराएको त्यो गीत
सोलो गीतहरू फाट्टफुट्ट गरिरहेका थिए । राम्रै रेस्पोन्स पाइरहेका थिए । त्यहीबेला उनलाई चलचित्र ‘रेशम फिलिली’ टिमले भन्यो– लोक बेसमा आधारित गीत चाहियो । कालीले गीत तयार गर्न सुरु गरे । टाइटल सङ ‘भारी भारी भो…’ तयार पारे । यो गीत उनी आफैंलाई खुब मनपर्‍यो । आज पनि तपाईं आफैलाई मन पर्ने आफ्नै गीत कुन होभन्दा कालीप्रसाद यो गीतलाई कहिल्यै भुल्दैनन् । कारण यो गीतमा नेपाली माटो बोलेको छ । पञ्चेबाजा बजेको छ । गाउँघरको जनजिब्रोका शब्द समेटिएका छन् ।

‘पारी त्यो डाँडा…’
अर्को गीत पनि तयार पार्नु थियो । लोक लय मिसाउनु थियो । ‘मञ्जरी’ पछि लोक लयका गीतले उनलाई बेस्सरी हिर्काएको थियो । लोक गीतको ‘ह्याङ’ उत्रिएको थिएन । उत्रिएन बरु त्यसमै डुबे उनी । उनले उपलब्ध भए जति लोक गीत र भाका सुने । “यति चोखो र मीठो गीत हामीसँगै रहेछ । हामीसँग गीतको महासागर रहेछ । तर हामी कताकता दौडिरहेका रहेछौं,” उनी भन्छन्, “त्यसपछि मैले लोक गीतसंगीतको अध्ययन तथा संकलन गर्न थालें । झलकमान गन्दर्भ, जयनन्द लामा, अरुण उपत्यका, देउडाका सके र पाएजति गीत सुनें । सम्भव भएसम्म गाउँगाउँ गएँ ।” नवीन खड्का र पुस्तका खड्कालाई उनीहरूकै गाउँमा पुगेर भेटे । भाकाहरू टिप्न थाले ।

त्यसपछि उनले तयार पारेका कम्पोजिनमा त्यो देखिन पनि थाल्योे ।

चलचित्रका लागि भनेर घरमै बसेर ट्युन तयार पारे । तयार पारिएको त्यो गीत कालीप्रसादलाई त मन परेको थियो । तर मेकरले मन पराएनन् । फलतः गीत थन्कियो । त्यही गीतमा चलचित्रको सिचुएसनअनुसार केही फेरबदल गरे । आफ्नो अरेन्ज हटाएर अलमोडाको अरेन्ज राखे । उनले निकै राम्रो आउटपुट दिए । जब प्रणवले यो गीत सुने, मन परेछ, भने– “यो गीत गरौं ।”

कालीप्रसादले सोमिया बराइलीलाई गाउन लगाए । उनले सोचेभन्दा पनि राम्रो गाइन् । चाहियो पुरुष भोकल । उनले सोचेका थिए, जयनन्द लामालाई । खोजी गरे । उनी अमेरिकामा रहेछन् । कसलाई खोज्ने होला सोचिरहेका थिए । तर उपयुक्त आवाज ठम्याउन उनलाई हम्मे परिरहेको थियो । विनय श्रेष्ठले भने, “गुरु तपाईं आफैं गाउनुस् न, तपाईंको पनि स्वर राम्रो छ त ।”

कालीप्रसाद स्टुडियो छिरे । उनलाई एकदम डर लागिरहेको थियो । “म डराइरडराइ गाइरहेको थिएँ । तर जो स्टुडियो पस्छ यो गीत सुन्नबित्तिकै टक्क अडिएर सुन्छ,” उनी सम्झिन्छन्, “सबैले ओहो भने । हेमन्त राना र एक्सिस्का सन्दीपले भने– कस्तो राम्रो गीत बनाको तिमीले ।”

गीत बजारमा आउनबित्तिकै ‘पारी त्यो डाँडा…’ लोकप्रिय भयो । केटाकेटीदेखि बुढाबुढीसम्मको जिब्रोमा गीत झुम्मियो । गीतले चलचित्रको मात्रै होइन कालीप्रसादको पनि हाइप क्रस ग¥यो । युट्युबमा भिवर्सको ओइरो लाग्यो । कभर डान्स गर्ने समूहहरू जन्मिए । त्यसपछि लोक बेसका गीत चलचित्रमा राख्ने ट्रेन्ड सुरु भयो ।

गीत चिन्थे, गायक चिन्दैनथे
गीत गाडीमा बज्थ्यो । गीग र डिस्कोमा बज्थ्यो । ठमेलका सडकमा हिँडिरहँदा कालीप्रसादको कानमा त्यही गीत ठोक्किन आएपुग्थ्यो । तर यो गीतको गायक यही हो भनेर उनलाई कसैले चिन्दैनथियो ।

“चारैतिर बज्ने गीत बनाउन सकिने रैछ त, यो क्षमता ममा रहेछ, विस्तारै मलाई पनि चिन्दै जालान्, चिनिँदै जाउँला भन्ने लाग्यो,” उनी भन्छन्, “तर कहिलेकाहीँ कसैले नचिन्दा कुनै बेला यो गीत गाउने मान्छे मै हुँ नि भनेर ठूलो भीडका अगाडि भन्दिउँ कि जस्तो पनि लाग्थ्यो । तर म यति इन्ट्रोभट थिएँ कि यसो भन्न त के नयाँ मान्छेसँग बोल्न पनि डराउने स्वाभाव थियो । अहिले पो नेचर चेन्ज भयो, मान्छेसँग डर लाग्न छोड्यो ।”

‘पारी त्यो डाँडा…’ मात्रै होइन त्यसअगाडि पनि उनका थुप्रै गीतले स्रोताको मनमा राज गरिसकेका थिए । तर स्टेज कार्यक्रम गरेका थिएनन् । स्वाभाविक पनि थियो । उनी कम्पोजर थिए । ‘जालमा…’ पछि भने उनलाई स्टेज कार्यक्रमको अफर आउन थाल्यो । दुवैमा र यूकेमा भिसा प्रोसेसिङ हुँदै थियो । स्टेज कार्यक्रमका लागि उनी एलियनसरह थिए । मनमा डरले डेरा जमाइरहेको थियो । अलिकति खुसी, अलिकति डर, त्यसको रोमाञ्चकता नै बेग्लै थियो । डर हटाउन रिहर्सन गरिरहेका थिए ।

त्यो महाभूकम्प ठीक त्यही समय उनलाई हेटौंडाबाट स्टेज कार्यक्रमका लागि बोलावट भयो । दिउँसो १ बजे ‘सो’ थियो । खाना खाएर मोबाइलमा ट्विटर चलाइरहेका थिए । एक्कासि जमिन लगलग हल्लिन थाल्यो । हल्लिरह्यो एक छिन् । त्यो भूकम्प थियो । दिन थियो– ०७२ वैशाख १२ गते ।

दौडिएर बाहिर निस्किए । करिब १० मिनेट भएको हुँदो हो । मोबाइल हातमै थियो । मोबाइलमा ट्विटर चलिरहेको थियो । ट्विटर रिफ्रेस हुँदा धरहरा भत्किएको तस्बिरसहितको ट्विट आयो । त्यसपछि ट्विटरमा निरन्तर काठमाडौं ध्वस्त भएका तस्बिरहरू आउन थाले ।

अब गीत होइन मान्छेहरू आफन्तको खोजखबरीमा लागे । मरे बाँचेको सूचना लिन थाले । समयले कोल्ट्यो फेर्‍यो । उनी तीन दिन लगाएर काठमाडौं फर्किए । थानकोटबाट ओरालो लाग्दा नै उनले देखे घरहरू ध्वस्त भएका । सोचेभन्दा पनि धेरै ध्वस्त भएको थियो काठमाडौं ।

“भूकम्प गएपछि मेरो मनमा अचम्मका कुराहरू खेल्न थाले । यत्रो भूकम्प गयो । यतिधेरै मान्छेको ज्यान गयो । कैयौं बालबालिकाले अभिभावक गुमाए । म पनि मरेको भए ? मैले कम्पोज गरेका गीतहरू चलिरहेका छन् । सँगै काम गरेका साथीहरू चर्चामा छन् । यतिका मान्छेको ज्यान जाँदा पनि म भाग्यले बाचेँ । देशमा यति ठुलाठूला घटना, दुर्घटना भए । व्यवस्था परिवर्तन भयो । तर पनि मैले चाहेर पनि एउटा जागिर छोड्न सकेको छैन । प्यासनलाई प्रोफेसन बनाउन सकेको छैन,” फेरि एकपटक कालीप्रसाद नोस्टाल्जिक हुन्छन्, “मलाई आर्थिक रूपमा सबल बनाएको जागिरको म अहिले पनि रेस्पेक्ट गर्छु । तर म त्यो काम गर्न जन्मिएकै होइन भन्ने कुराले गलाउन थाल्यो । बुबाआमालाई समेत नभनी असारको अन्तिममा राजीनामा दिएँ । त्यो दिनसम्म पनि म गायनलाई प्रोफेसन बनाउँछु भन्न थिएन । चार वर्ष अगाडिसम्म पनि ।”

जागिर छोडेपछि समय भयो, राहात बाँड्न हिँडे । कतै राहत बाँडे, कतै स्कुल बनाए, कैतै निर्माण सामग्री पुर्‍याए । अब कालीप्रसादले जिन्दगीलाई गम्भीर रूपमा सोच्न छाड्दिए । तर महिना मर्दा तलब नआउँदा जिन्दगी कठिन हुन थालिसकेको थियो । जागिर छोड्दा आएको पैसा निथारपिथार हुन थालिसकेको थियो । गीतहरू रेकर्ड हुन छोडेका थिए । चलचित्र बनिरहेका थिएनन् ।

तर, कालीप्रसाद जहाँ–जहाँ राहत बाँड्न जान्थे । दुईतीन वर्षका बच्चालाई पनि गीत गाऊ त बाबु भन्यो भने ‘पारि त्यो डाँडा…’मा नै गाउँथे । कालीप्रसादको मनै आनन्द हुन्थ्यो ।

लगत्तै युनिसेफको ‘भन्दै सुन्दै गाउँगाउँमा’ प्रोजेक्टमा उनी आबद्ध भए । त्यो प्रोजेक्टको उद्देश्य थियो– भूकम्प अतिप्रभावित क्षेत्रका पीडितलाई भूकम्पको डरबाट बाहिर ल्याउन गीत तथा प्रहसन गर्नु । यसका लागि उनी विभिन्न जिल्लाका ४० ठाउँ पुगे उनी । कालीप्रसादले देश देखेको यो नै पहिलोपटक थियोे । नेपाल चिनेको पहिलोपटक हो । र आफ्नो गीतको लोकप्रियता र प्रभाव महसुस गरेको पनि पहिलोपटक हो ।

‘भन्दै सुन्दै गाउँगाउँमा’ सकिए पछि ‘सो’का लागि अमेरिकाबाट अफर आयो । त्यसको केही दिन अगाडि मात्रै चलचित्र ‘पुरानो डुङ्गा’को गीत ‘नीर जैले रिसाउनी…’ रिलिज भएको थियो । आफ्नै स्वरमा चलेका दुइटा गीत भए । “अमेरिकामा रहेका नेपालीले मेरा गीत सबै सुनेका तर मलाई कसैले पनि नचिनेका,” उनी भन्छन्, “त्यो सोले मलाई अमेरिकामा रहेका नेपालीबीच नोटिस गरायो ।” उनी भन्छन्– नीर जैले रिसाउनी… हिट नभैदिएको भए मेरो करिअर त्यहीँ स्टप हुन्थ्यो ।

त्यसपछि उनको अर्को गीत ‘लुट–२’को ‘ठमेल बजार…’ ले पनि मार्केट लियो । जति पनि उनका गीत आए । ती गीतमा कतै न कतै लोकलय र शब्दको फ्युजन गरे । नेपालमा प्रयोग गरिएको यो करिब–करिब पहिलोपटक थियो । त्यसैले स्रोताले उनको प्रयोगलाई स्रोताले स्वीकारे ।

नेपाल आइडलमा प्रवेश
फ्रेन्चाइज सिङगिङ रियालिटी सो आइडल नेपालमा आउने भएछ । प्रोमो बजाउन लोकेश बज्राचार्यले कालीलाई बोलाए । कालीले बनाइदिए । त्यो बेला ‘नीर जैले रिसाउनी…’ लोकप्रिय भइरहेको समय थियो ।

लोकेशले भने कालीप्रसादलाई भने, “तिमीलाई सुरेश पौडेलले बोलाउनुभएको छ ।” कालीप्रसाद सुरेशलाई भेट्न गए । उनले अफर गरे । कालीप्रसादलाई सुरुमा त विश्वासै लागेन । उनको दिमागमा वेगवायु गतिमा प्रश्न आयो– दर्शक÷स्रोताले मलाई स्वीकार्छन् ।

तत्काल निर्णय दिन सकेनन् । तीन दिनको समय मागे । मन मिल्ने साथीहरूलाई सोधे । अग्रजहरूसँग सल्लाह लिए । सबैले भने, “पहिलोपटक इन्टरनेसनल फ्रेन्चाइज सो हुन लागेको छ । यो अवसरको सदुपयोग गर्नुपर्छ, गुमाउनु हुँदैन ।”
बल्ल कालीप्रसाद तयार भए ‘नेपाल आइडल’को निर्णायकका लागि । तेस्रो सिजन चलिरहँदा पनि उनले निरन्तरता दिइरहेका छन् ।

आरोपको खण्डन
उनलाई आरोप पनि लाग्यो, गीत चोरीको । तर उनी भन्छन्, “मैले चोरी गरेको होइन, प्रभावित भएको हुँ । इन्सपायर त संसारको जुनसुकै कुनाको व्यक्ति पनि हुनसक्छ । म पनि हुन्छु । कर्ड बजाएर हेर्‍यो भने, मेलोडी सुन्यो भने, कन्टेन्ट हेर्‍यो भने त्यो देखिँदैन । आरोप लागेको इन्स्टाको फोटोमा हो । त्यसमा हाम्रो आफ्नै लय छ, हाम्रै मेलोडी पनि छ । र आरोप आएको मेलोडी पनि भेटिएला तर चोरिएको होइन । इन्सपायर भएको हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *