मनोरंजन

छमछमीकी चुलबुले

सुटिङमा म जति पनि खट्न सक्छु। म्युजिक भिडियोमा अभिनय गर्न होस् या छमछमी नाच्न समय बितेको पत्तै हुन्न। सुटिङ टिमसँग काम गर्दा मलाई निकै रमाइलो लाग्छ’ अभिनेत्री मनीषा सापकोटा आफ्नो सुटिङ क्रेज सुनाउँदै थिइन्। कालो लेदरको ज्याकेट, सेतो पाइन्ट र कालो बुटमा उपस्थित भएकी मनीषा मोडलिङमा संघर्ष गर्दैछिन्।

रेडियो टीभीमा कतै गीत बज्यो कि मनीषाका खुट्टा चल्मलाउँछन्। उनी फुरुङ हुँदै कोठाभित्र पस्छिन्, चुकुल लगाउँछिन र टीभी साउन्ड ठूलो पारेर छमछमी नाच्छिन्। मनीषालाई नृत्य र अभिनयमा करियर बनाउन मन छ। उनले केही म्युजिक भिडियोमा मोडलिङ गरेकी छन्। केही इभेन्टमा उनले नृत्य देखाएकी छन्।

धुम्बाराहीमा जन्मिएकी मनीषा सानैदेखि नृत्यप्रेमी थिइन्। उनकी आमा पनि गजबको नाच्नुहुन्छ। उनले नाच र अभिनय औपचारिक रूपमा सिकेकी भने छैनन् उनले। दुर्गा भवानी स्कुलमा पढ्दा कोरियोग्राफर प्रशान्त तामाङसँग नृत्य सिकेकी हुन्। स्कुलमा हुने हरेक सांगीतिक कार्यक्रममा दोस्रो हुनु परेको अनुभव छैन उनीसँग।

क्यानभास इन्टरनेसनल कलेजमा उनले सोसल वर्क विषयमा ब्याचलर्स पढ्दैछिन्। उनलाई सामाजिक काममा औधी रुचि छ। चकलेटी स्वभावकी मनीषाले रमाइला गीतमा अभिनय गरेकी छन्। चुलबुले केटीको रूपमा उनको अभिनय धेरैले मन पराउँछन्। परिवारका कान्छी छोरीका रूपमा जन्मिएकी मनीषा घरमा लाडप्यारमा हुर्किएकी हुन्। मागेको कुरा परिवारले पु¥याइदिन्थ्यो। भन्छिन्, विशेषत मामुले धेरै नै माया गर्नुहुन्छ। अहिलेसम्म पनि मेरा लुगासमेत धोइदिनुहुन्छ। मैले धोएका लुगामा मामुलाई विश्वास नै लाग्दैन।’

भन्छिन्, केकी अधिकारी मेरो आइडल पात्र हो। सबैले मलाई केकी जस्तै नाच्छेस् भन्छन्, मलाई पनि उहाँको अभिनय खुब मन पर्छ। उहाँकै फिल्म र अभिनय हेरेर हुर्किएकी हँु म। यस्तै एउटा अवार्ड कार्यक्रममा होला उहासँग भेट भएको थियो।’

साथीभन्दा पनि परिवार र काम गर्ने टिमसँगै रमाउने मनीषालाई यात्रा गर्न र घुम्न भने रमाइलो लाग्दैन। कलेजका साथी मिलेर घुम्न जान्छन् तर उनी सधैं छुट्छिन्। उनलाई घर छाडेर हिँड्ने भन्नासाथ ज्वरो आउन थाल्छ। यात्राले मलाई खुब असर गर्छ। बरू साथीसँग बसेर मुभी हेर्न र क्याफेमा गएर खाजा खान मन पर्छ। युट्युब हेर्ने, अनलाइनमा समाचार पढ्ने र फुर्सद हुँदा आफ्नै अभिनय रहेको भिडियो हेर्न मन पराउँछिन्।

अहिले काम र करियरमा फोकस हुने समय हो भन्ने मनीषालाई लभ गर्ने, डेट गर्ने र सम्बन्धमा बस्ने काम झन्झटिलो लाग्छ। उनले आफ्ना साथीलाई उनीहरूको केटा साथीले शंका गर्ने, झगडा गर्ने र टर्चर गर्ने गरेको देखेकी छन्। यसैले पनि उनलाई यस्ता सम्बन्धमा बस्न मन पर्दैन। तर उनले टिनएजमा भने प्रेमको महसुस गरेकी थिइन्। भन्छिन्, ‘यसै हाई हेल्लो गर्ने सम्बन्ध।

अहिले सम्झँदा हाँसो उठ्छ।’ कक्षा ११ मा पढ्ने बेला कलेजकै सिनियरसँग क्लोज सम्बन्धमा थिइन् उनी। भन्छिन्, ‘उसले त मलाई खुब तनाव दियो नि। जतिखेर पनि फोन मात्रै गर्ने, उसलाई बढी फ्रिडम चाहिने, घर परिवारको मतलबै छैन। म त केही दिनमै दिक्क भए। सम्हाल्न नसकेर सबैतिर ब्लक हानिदिएँ।’

सम्बन्ध जस्तोसुकै भए पनि यसले आफूलाई अनुभवी बनाएको उनको भनाइ छ। ‘यसैले होला ‘जस्ता तस्ता आई लभ यु भन्नेलाई रेस्पोन्स नै गर्दिनँ म।’ काम बुझ्ने, माया गर्ने र अलि सिरियस खालको मान्छे भेट भएको छैन। अहिलेलाई ‘नो टाइम फर लभ’। कामकै सिलसिलामा सिनियरबाट हुने मिस व्यवहारले भने उनलाई चित्त दुख्छ। भन्छिन्, ‘मोडलिङमा नयाँ आउनेलाई काम पाउनै गाह्रो छ।

नयाँ हो भन्ने थाहा पाएपछि कतिपय निर्माता निर्देशकले सामाजिक सञ्जालमा गलत नियतले म्यासेज गर्छन्।’ मैले तिमीलाई यस्तो काम दिन लाइराछु बदलामा मलाई के दिन्छौ त भनेर सोध्ने व्यक्ति पनि छन्। उनले आफूलाई शंका लागेका व्यक्तिको संगत नै नगर्ने र सामाजिक सञ्जालमा पनि ब्लक गर्ने गरेकी छन्। एक त काम पाउनै गाह्रो, अर्को गलत नजरबाट बच्नुपर्ने चुनौती। तर पनि हिम्मत नहार्ने उनले अठोट गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *