राजनिति

नेकपाका नेता भन्छन्– ‘कमरेडहरू, हामी दलाल बन्दै छौं !’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा सम्पत्ति छानबिनको मुद्दा प्रमुख रूपमा उठेको छ । छलफलमा भाग लिएका १५ वटै समूहमा प्रमुख रूपमा सम्पत्ति छानबिनको कुरा उठेको नीरज आचार्यले जानकारी दिए ।

५ र ११ नम्बर समूहमा त पार्टीका नेताहरूको मात्र नभई, राजकीय जिम्मेवारीमा रहेका २०४८ सालपछि प्रधानमन्त्री, मन्त्रीको जिम्मेवारीमा पुगेकाहरूको अनिवार्य सम्पत्ति छानबिन गर्नुपर्ने आवाज प्रमुख रूपमा उठेको टोली नेता राजेन्द्र राईले भने । “भ्रष्टाचारको अवस्था डर लाग्दो नै छ त्यसमा पनि प्रदेश नम्बर दुई भ्रष्टाचारमा प्रथम छ । भ्रष्टाचारलाई रोक्न सकिएन भने हाम्रो सरकारले जति नै राम्रो काम गरे पनि सबै ओझेलमा पर्छ, अबको दिनमा हाम्रो सरकारलाई, हामीलाई कतैबाट खतरा छ भने भ्रष्टाचारबाट छ ।

भ्रष्टाचार उन्मूलनका लागि खरिद ऐन लगायत अन्य आवश्यक ऐन, कानुनमा यथोचित परिवर्तन, स्रोतभन्दा बाहिरको सम्पत्ति सरकारलाई तीन महिनाभित्र बुझाउन मौका, आह्वान त्यसपछि कारबाही, २०४८ पछि यता ठूला, आवश्यकहरूको सम्पत्ति छानबिन गर्नुपर्छ,” आफ्नो समूहमा उठेका विषयहरूलाई रिपोर्टका रूपमा प्रस्तुत गर्दै नेता राईले बैठकमा भने ।

समूहगत छलफलको निचोड सुनाउँदै नेता राईले पार्टी र आन्दोलन सही दिशामा नरहेको बताए । “हामी सही बाटोमा छैनौँ, यसरी जनताको जनवाद, समाजवाद आउन सक्दैन, किनकि, क्रान्ति जारी छ तर हामी आफै क्रान्तिका लागि नेतृत्व गर्न नसक्ने, क्रान्तिको शत्रु वर्गमा रूपान्तरण हुँदै छौं,” उनले आफ्नो समूहको निष्कर्ष सुनाए ।

“हामी दिन प्रति दिन माथिल्लो वर्गमा उक्लने कोसिसमा छौं, पुँजीपति वर्गमा रूपान्तरण हुने प्रयत्नमा छौं । सम्पति थोपर्ने होडबाजीमा छौं । त्यसैगरी दलाल नोकरशाही पुँजीवाद अबको क्रान्तिको शत्रु भनेका छौं । हामी आफैं कुनै पेसा, व्यवसाय नगरीकन सम्पत्ति थुपार्दै छौँ, पुँजीपति बन्दैछौं अर्थात् आफैं दलाल अथवा दलाल पुँजीपति बन्दैछौं ।

अर्कोतिर, जनताको जनवाद, समाजवाद प्राप्तिका लागि पहिलो सर्त राज्यसत्ता सम्पूर्ण रूपले हाम्रो हातमा आउनु हो तर हाम्रो हातमा सरकार र संसद मात्र आएको जो सम्पूर्ण सत्ता होइन, सुरक्षाका अंगहरू, कर्मचारी प्रशासन, अड्डा अदालत, संविधान, ऐन, कानुन आदि सबै हामीले सोचे जस्तो बनेको छैन र त्यस्तो बनाउने कुुनै सोचाइ, योजना र प्रयत्न पनि हामीबाट भइरहेको छैन, पुरानो राज्जसत्ताबाट जनताको जनवाद, समाजवादमा कसरी पुगिन्छ र ?,” उनले आफ्नो समूहमा उठेका कुरा बुँदागत रूपमा प्रस्तुत गरे ।

समृद्धि र विकासका कुरा गरे पनि त्यसको उपभोक्ता को हो भन्नेमा पार्टी प्रस्ट हुन नसकेको राईको भनाइ थियो । “समृद्धि र विकासको उपभोग, उपयोग आम जनताले अझ भन्ने गरिब जनताले गर्न सक्ने बनाउने कुरा गर्दैनौं, त्यस्तो योजना बनाउँदैनौं, त्यसैले हाम्रो समृद्धि र विकास धनीहरूका लागि, मुठ्ठीभरका लागि हुने खतरा छँदैछ, विकास समृद्धिका लागि ढुंगा, माटो, खोलानालाको विकास, भौतिक निर्माणका कुरा गर्छौँ तर मानिसको विकासको कुरा गर्दैनौं, गरिब, पछाडि परेकालाई अघि ल्याउने, विभेदहरूको अन्त्य गर्ने कुरा गदैँनौं, त्यस्तो योजना बनाउँदैनौँ, यसरी कसरी जनताको जनवाद, समाजवाद आउन सक्छ र ?,” राईले बैठकमा प्रस्तुत गरे ।

एकातिर बजेट र योजना उपभोग, सेवा, अनुत्पादक क्षेत्रका भौतिक, पूर्वाधार निर्माणमा बढी विनियोजन भएको र उत्पादक क्षेत्रमा कम भएको उनले बताए । श्रमको सबैभन्दा ऊर्जाशील हिस्सा, युवाहरु विदेश पलायन भइरहेकै छ भने श्रमको अर्को ठूलो हिस्सा भयावह बेरोजगारीको कारण निष्क्रिय रहेकाले शीघ्र समृद्धि, विकास सम्भव नभएको उनको निचोड थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *