प्रमुख समाचार

बाबालाई भेटाइदिन्छु भन्दै बालिकाको अपहरण, हात बाँधेर राखेको अवस्थामा घुम्न जानेले गरे उद्धार

काठमाडौं । आइतबार भक्तपुरबाट एकजना बालिकाको अपहरण गरिएको छ । फिरौतीका लागि अपहरण गरिएको आशंका प्रहरीले गरेको छ । सूर्यविनायकस्थित ग्लोरी बोर्डिङ स्कुलको युकेजीमा अध्ययन गर्ने ६ वर्षकी गृष्मा राउत (नाम परिवर्तन) लाई अपरिचित व्यक्तिले आइतबार दिउँसो अपहरण गरेको थियो । स्रोतका अनुसार विद्यालयमा आफू अविभावक भएको बताएको थियो भने बालिकालाई ‘बाबालाई भेटाइदिने’ भन्दै मोटरसाइकलमा राखेर घ्याम्पेडाँडा पुर्‍याएको थियो ।

“बाबालाई भेटाइदिन्छु भन्दै मोटरसाइकलमा राखेर लगेको पाइयो,” अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, “घ्याम्पेडाँडामा लगेर बालिकालाई गेम खेलौं भनेर हात बाँधिदिएछ । बालिका रुन थालेपछि घुम्न गएकाहरुले देखेछन् । त्यहाँबाट अपहरणकारी भागेछ । त्योबीचमा परिवारमा फोन गरेर १६ लाख फिरौती मागेको पाइएको छ ।”

परिवारले छोरी अपहरणमा परेको प्रहरीलाई जानकारी गराएका थिए । अनुसन्धानमा खटिएको प्रहरी टोलीसँगै रहेको परिवारलाई अपहरणकारीले पैसा लिएर ठिमीस्थित भाटभटेनी अगाडि आउन भनेको थियो । परिवारसँगै त्यहाँ पुगेको प्रहरी टोलीले अपहरणकारीलाई पक्राउ गरेको थियो ।

“हात बाँधेर राखिएको अवस्थामा बालिका रोएपछि घुम्न गएका मान्छे नजिक आएछन्,” प्रहरी स्रोतले भन्यो, “परिवारकै सम्पर्कमा रहेको अपहरणकारी त्यसपछि साइड लागेछ ।”घुम्न गएका व्यक्तिहरुले बालिकालाई सोधपुछ गरेपछि घर पुर्‍याइदिएको प्रहरीले जनाएको छ ।

अपहरणकारीले बालिकाको अपहरण गरिसकेपछि १६ लाख रुपैयाँ परिवारसँग माग गरेको रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । “बालिकालाई घ्याम्पेडाँडामा लगेर पछाडि हात बाँधि राखेको तर बालिका रोइकराइ गरेपछि निज अपहरणकारी घुम्न आउने मानिसले रोएको आवाज सुन्ने डरले भागेको पाइयो,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *