मनोरंजन

रेखाको बिहेको कार्ड !

यो वर्ष केही नेपाली अभिनेता तथा अभिनेत्रीहरुले घरजम बसाएका छन् । गएको मंसिरमा अभिनेत्री ऋचा शर्मा र यही फागुनमा अभिनेत्री रिश्मा गुरुङले लगनगाँठो कसे । यस्तै, शुक्रवार नेपाली फिल्मका लभ बर्डस् प्रियंका कार्की र आयुष्मान देशराज जोशी विवाह बन्धनमा बाँधिए । अब, दुलही हुने पालो अभिनेत्री आँचल शर्माको आएको छ । उनी यही फागुनमा विवाह गर्दैछिन् ।

हरेक वर्ष अभिनेता तथा अभिनेत्रीहरु बैबाहिक जीवनमा बाँधिँदा अभिनेत्री रेखा थापाले भने सधैं मिडियाकर्मीबाट विवाहको प्रश्न सामना गर्नुपर्छ । निर्माता छविराज ओझासँग दश वर्ष लामो बैबाहिक सम्बन्ध टुंग्याएपछि एकल जीवन विताउँदै आएकी अभिनेत्री रेखा केही वर्षयता कसैको प्रेममा रहेको फिल्मवृतमा चर्चा छ । तर, उनले भने यो कुरालाई अफवाह बताउँदै आएकी छन् ।

शुक्रवार साँझ अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको रिसेप्सन पार्टीमा पुगेकी अभिनेत्री रेखा थापालाई पत्रकारले प्रश्न गरे- ‘अब तपाईंको बिहेको कार्ड कहिले छापिन्छ ?’ उनले ठट्यौली शैलीमा ‘छिटै छापिन्छ’ भन्दै जवाफ फर्काइन् । उनले थपिन्, ‘बिहे भनेको लेखान्त हो । जहिले लेखेको छ त्यो बेला केही कुराले पनि रोकिन्न । मैले चाहेर बिहे हुने होइन ।’

निर्देशक रेनशा वान्तवा राईसँग प्रियंका र आयुष्मानको रिसेप्सन पार्टीमा पुगेकी उनले आफ्नो अभिनय र निर्माण रहने नयाँ फिल्मको आउँदो बैशाखबाट छायांकन सुरु हुने पनि बताइन् । फिल्ममा अनुबन्ध भएका अभिनेता द्वय दयाहाङ राई र सौगात मल्लसँग स्क्रिन साझेदारी गर्न आफू निकै उत्साहित रहेको उनको भनाई छ । यो फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् ।

अभिनेत्री रेखाले निर्देशक रेनशासँगको प्रोजेक्ट पनि निर्माण हुने स्पष्ट पारेकी छन् । केही महिनाअघि उनले आफूले निर्माण गर्ने फिल्ममा रेनशालाई निर्देशकमा अनुबन्ध गरेकी थिइन् । तर, यो फिल्मभन्दा अगाडि उनले सविरसँगको प्रोजेक्ट अगाडि गर्ने भएपछि अब रेनशासँग सहकार्य भएको फिल्म नबन्ने चर्चा चलेको छ । यसबारेमा रेखा थापाले आफ्नो मुख खोलेकी छन् ।

‘रेनशाको लामो समयदेखि ‘आइ एम ट्वान्टिवान’ मा काम भैरहेको छ । मैले पनि सविरसँगको प्रोजेक्ट धेरै अगाडि गर्ने कमिटमेन्ट गरेको थिएँ । त्यसैले अहिले हामीले आ-आफ्नो प्रोजेक्ट गर्न लागेका हौं । हामी दुवै फुर्सद भएपछि फिल्मको तयारीमा जुट्नेछौं,’ रेखाले भनिन् । फिल्मलाई लिएर अड्कलबाजी नगर्न आग्रह गर्दै उनले आफूहरु सल्लाहअनुसार नै अगाडि बढेको बताइन् । ‘फिल्मीखबर’

Leave a Reply

Your email address will not be published. Required fields are marked *