समाचार

पोखराका होटल मजदुरको तलब सरकारको आर्थिक प्याकेजमा निर्भर

पोखराको एक मात्र पाँचतारे होटल पोखरा ग्राण्डमा सरकारले लकडाउन घोषणा गर्दा केही कोरियाली नागरिक थिए।

उनीहरु अन्नपूर्ण आधार शिविर पदयात्रामा गत माघ ४ गते हिउँपहिरोमा परेर हराएका आफन्त खोज्न पोखरा आएका थिए। सरकारले चैत ११ गते लकडाउन घोषणा गरेपछि होटलले नयाँ बुकिङ लिएन, पर्यटक पनि बस्नका लागि गएनन्।

लकडाउन पश्चात थप एक साता कोरियाली नागरिक होटलमै बसे। होटलले उनीहरुको सेवा गर्न आवश्यक केही कर्मचारी राखेर अरुलाई घरबिदामा पठायो।
जब एक सातापछि कोरियाली नागरिक काठमाडौं फर्किए, त्यसपछि पोखरा ग्राण्ड पूर्ण रुपमा बन्द छ।

होटलमा अहिले ५ वटा हल छन्। पोखरामा महँगो खर्चमा हुने सेमिनार तथा अन्य कार्यक्रम यही होटलमा हुन्छन्। २ वटा बार, २ वटा रेष्टुरेन्ट र १ सय ४० वटा कोठा छन्। होटलमा अहिले १ सय ७० जना कार्यरत छन्। होटल बन्द भएपछि उनीहरुलाई तलब खुवाउनै मुस्किल परेको पोखरा ग्राण्डका जनरल म्यानेजर रोशन खवासले बताए।

‘मार्च महिनाको तलब वितरण गरियो’ खवासले सेतोपाटीलाई भने, ‘अप्रिल महिनाको तलब पठाउन व्यवस्थापनसँग कुरा भइराखेको छ।’ पोखरा ग्राण्डमा कार्यरत स्टाफमध्ये अधिकाँश स्थायी कर्मचारी छन्। कुल १ सय ७० कर्मचारीमध्ये झण्डै १ सय ५० जना स्थायी कर्मचारी भएको खवासले बताए।

उनका अनुसार, कर्मचारीलाई तलब खुवाउन मात्र महिनामा ७० लाख रुपैयाँ खर्च हुन्छ। होटल संचालन बन्द भए पनि कर्मचारीको तलब, बत्ती, मर्मत संभार, सरकारलाई तिर्नुपर्ने कर लगायत गरेर महिनामा १ करोड जति खर्च लाग्ने खवासले बताए।

लकडाउन पश्चात पनि होटल राम्रोसँग संचालनमा आउन नसक्ने उनले बताए। बजारबाट उठ्न बाँकी भएका, एजेन्सीले दिन बाँकी भएको रकम पनि अब उठाउन मुश्किल पर्ने र होटलमा व्यापार नहुने भएकाले कर्मचारी धान्न पनि समस्या हुने उनको भनाइ छ।

होटल व्यवस्थापनले कर्मचारी कटौतीको योजना भने अहिलेसम्म बनाएको छैन। धेरैजसो स्थायी कर्मचारी भएकाले पनि कटौती भने तत्काल नहुने खवासले बताए।
यता, पोखराको फेवातालस्थित फिष्टेल लजले पनि मार्च महिनाको मात्र तलब खुवाएको छ।

अप्रिलयताको तलब खुवाउन होटल एसोसिएसन, सरकार लगायत सरोकारवालासँग भएको कुराकानी र सहमति अनुसार हुने लजका लेखापाल अनिल श्रेष्ठले बताए।

फिष्टेल लजमा अहिले १ सय १९ जना कर्मचारी कार्यरत छन्। उनीहरुलाई तलब खुवाउन महिनामा झण्डै ५० लाख खर्च हुने श्रेष्ठले बताए।

पोखरामा ठूला लगानीका होटललाई भन्दा साना होटल तथा रेष्टुरेन्टमा काम गर्ने कर्मचारी एवं मजदुरलाई लकडाउनले बढी चिन्तित बनाएको छ। पोखराको लेकसाइडस्थित एक होटलमा कार्यरत कृष्ण न्यौपानेले फागुनदेखिकै तलब नपाएको बताए।

‘लकडाउन भएपछि काम भएन, घर आएँ’ उनले भने, ‘होटलले लकडाउनभरीको तलब दिन नसक्ने भनेको छ ।’ होटल एसोसिएसन अफ नेपाल (हान) पश्चिमाञ्चलका अनुसार पोखरामा ४ सय वटा होटल छन्।

यी होटलहरुमा १५ हजार बढी कर्मचारी कार्यरत छन्। पोखरामा ३० हजार वटा पर्यटकस्तरीय बेड रहेको हान पश्चिमाञ्चलका अध्यक्ष विकल तुलाचनले बताए। पोखराका होटलमा मात्रै झण्डै २ खर्ब लगानी भएको उनले बताए।

लकडाउन भएपछि प्राय सबैजसो होटलले कर्मचारीलाई तलब दिएको उनले बताए। ‘चैत महिनाको तलब गइसक्यो, वैशाख चल्दैछ’ तुलाचनले सेतोपाटीलाई भने, ‘केही होटलले स्टाफसँग आपसी सहमतिमा तलब दिएको होला।’

हानले ६ महिना होटल बन्द गर्ने निर्णय गरेकाले त्यसअवधिको तलबका बारेमा भने सरकारले ल्याउने राहत प्याकेजमा निर्भर हुने उनले बताए। यसका लागि सरकारलाई हानको तर्फबाट विकल्प दिएको र वार्ता भइराखेको उनको भनाई छ।

सरकारले व्यवसायीलाई असार मसान्तसम्म कर तिर्दा १० प्रतिशत छुट दिने निर्णय गरेको छ। यस्तै, बैंक ऋणमा २ प्रतिशत व्याज घटाउने निर्णय गरेको छ। व्यवसायीलाई राहत दिने सरकारको यो निर्णय क्षणिक भएको तुलाचन बताउँछन्।

‘हामीले ऋणको रिस्ट्रक्चर (पुनर्तालिकीकरण) गर्न भनेका छौं,’ उनले भने, ‘यसो गर्दा केही वर्ष लम्ब्याउन सकिन्छ, समय लम्बिँदा किस्तादर घटाउन सकिन्छ।’ उनले अब कम्तिमा ६ महिना ऋण तिर्न सक्ने अवस्था नरहेको बताए।

कोरोना भाइरस रोकथामका लागि भएको लकडाउन र त्यसले व्यवसायमा पारेको असरका कारण रोजगार गुम्ने अवस्था आएको उनले बताए। ‘एक दुई महिना त जेनतेन धान्न सकिन्छ, त्यसपछि के गर्ने भनेर सरकारलाई भनेका छौं।’ रोजगार गुम्न नदिन सरकारले सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषको प्रयोग गर्नुपर्ने उनले सुझाव दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *