समाचार

भारतबाट लुकीछुपी आउनेबाट नेपालमा कोरोना संक्रमित बढे

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको सँख्या दिनदिनै बढ्दै गइरहेका छन् । मंगलबार मात्र थप ८३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमध्ये अधिकांश भारतसँग सीमा जोडिएका जिल्लाका रहेका छन् ।

पर्सामा मात्र थप ५७ जनामा कोरोना संक्रमण देखिएको छ भने कपिलवस्तु, रुपन्देही, बारा, सर्लाही र महोत्तरीमा पनि नयाँ संक्रमण पुष्टि भएको छ ।

हालसम्म देखिएका नयाँ संक्रमितमध्ये धेरै भारतबाट लुकीछिपी नेपाल आएका व्यक्ति वा उनीहरुको सम्पर्कमा आएर संक्रमित भएको देखिएका छन् । उनीहरु लुकीछिपी आउँछन्, सरकारी निकायलाई कसैलाई जानकारी नदिइ सिधै घर पुग्छन्, गाउँघरमा निर्वाध डुल्छन् र त्यहीँबाट कोरोनाभाइरस फैलिएको छ ।

पछिल्लो समय भारतमा रेलबाट एक राज्यबाट अर्को राज्यमा मान्छे पठाउने गरेको कारण पनि सीमा क्षेत्रमा नेपालीको चाप बढेको हो । उनीहरुलाई नेपाल छिर्न नदिएपछि कुनै नकुनै चोर बाटो अपनाएर नेपाल छिर्ने गरेको पाइएको छ ।

बरु सीमामा आएकालाई औपचारिक रुपमा नेपाल ल्याएर परीक्षण गरी क्वारेन्टाइनमा राखेर मात्र घर जान दियो भने संक्रमित पहिचान गर्न सजिलो हुने र संक्रमणको फैलावट नियन्त्रण हुने जानकारहरु बताउँछन् ।

कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली भारतबाट विभिन्न चोरबाटो प्रयोग गरी नेपाल छिरेबाट कोरोना संक्रमणको जोखिम बढेको बताए । ‘सीमामा प्रहरीको कडा निगरानी छ, तैपनि उनीहरु लुकीछिपी नेपाल छिर्ने गरेका छन्,’ उनी बताउँछन् ।

कतिपय अवस्थामा त भारतका सुरक्षाकर्मीले समेतले नेपालीहरुलाई सीमा कटाउने गरेको बताइन्छ । सोमबार मात्र दिल्लीबाट पैदल हिडेर आएकार मोरङ र सुनसरीका ११ जनालाई भारतका सुरक्षाकर्मी जोगवनी नाका कटाएका थिए तर उनीहरुलाई नेपालका सुरक्षाकर्मीले समातेर क्वारेन्टाइनमा राखिएका छन् ।

त्यस्तै रुपन्देहीमा फेला परेका नौ जना संक्रमित फेला परेका छन् । उनीहरु पनि भारतको मुम्बईबाट लुकिछिपी नेपाल छिरेका थिए । पछि उनीहरुलाई समातेर क्वारेन्टाइनमा राखेको थियो । आज रुपन्देहीमा पहिलो संक्रमितलाई डिस्चार्ज गरेको छ ।

केही दिनपहिले कपिलवस्तुमा दुईजना कोरोना संक्रमित भेटिएको थियो । उनीहरु कपिलवस्तुको मायादेवी गाउँपालिकाका थिए । उनीहरु दुबै जना भारतको मुम्बईबाट लुकीछिपी नेपाल प्रवेश गरेका थिए ।

बैशाख १ गते रौतहटका एक युवकलाई कोरोना भाइरस संक्रमण भएको भेटिएको थियो । ती युवा दिल्लीबाट लुकिछिपी नेपाल आएका थिए । उनी १६ दिनदेखि ईशनाथ नगरपालिकाको औरैया क्वारेनटाइनमा बस्दै आएका थिए ।

कैलालीमा पनि फेला परेका संक्रमितमध्ये एकजना भारतबाट आएका थिए । चैत १२ गते नाकामा रोकिएका नेपालीलाई स्थानीयको पहलमा बसमा राखेर नेपाल ल्याइएको थियो । त्यसमा ती संक्रमित युवा पनि थियए ।

त्यस्तै, कञ्चनपुरको बेदकोट नगरपालिका–९ को क्वारेन्टाइनका ४१ वर्षीय व्यक्तिमा र कैलालीको लम्कीचुहा–९ प्रतापपुरको सरस्वती मावि क्वारेन्टाइनमा बसेका २१ वर्षीया युवामा कोरोना संक्रमण देखिएको थियो । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का ती ब्यक्ति चैत २ गते भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको सल्लीमा कामका लागि गएका थिए । नेपाल र भारत दुवै देशमा लकडाउन भएपछि उनी त्यहाँबाट पैदल हिँडेर कञ्चनपुरको ब्रम्हदेब हुँदै लुकेर नेपाल प्रवेश गरेका थियो ।

नेपाल–भारत सीमामा रहेकालाई नेपाल ल्याएर उनीहरुको परीक्षण गरी १४ दिन क्वारेन्टाइनमा राखेर मात्र घर पठाउने नभए सीमा सुरक्षा कडा पारेर एकजना मान्छे पनि छिर्न नदिने काम सरकारले गर्नुपर्ने अवाज सबैतिरबाट उठ्न थालेको छ । भारतीय सीमाबाट लुकीछिपी आउनेलाई नियन्त्रण नगर्ने हो भने नेपालमा कोरोना संक्रमण नियन्त्रण हुन नसक्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *