समाचार

आज लकडाउनको ५३ औं दिन: सवारी साधनको चेकजाँचमा कडाई

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज ५३ दिन पुगेको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता देशभर लकडाउन गरेको छ । लकडाउनका कारण जनजीवन प्रभावित भएको छ । लामो समय भएको लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले आइतबारदेखि सवारी साधन सञ्चालनका लागि केही सहज बनाएको थियो ।

त्यस्तै उपत्यकामा टाइम कार्ड लागू गरी विभिन्न ४२ प्रकारका उद्योग व्यवसाय तथा सरकारी कार्यालयहरु, बैंक तथा वित्तीय संस्था सञ्चालन गर्ने निर्णय समेत गरेको थियो । तर फेरि कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले लकडाउनलाई कडाई गरेको छ ।

शुक्रबार उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सुरक्षाकर्मीले सवारी साधनको चेकजाँचलाई कडाई पारेको देखिएको छ । प्रहरीले सवारी पास नभएका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । अत्यावश्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मीका सवारी साधनलाई भने सञ्चालन गर्न दिइएको छ । उपत्यकाका भित्री सडकहरुमा अत्यावश्यक उपभोग्य पसलहरु खुलेका छन भने मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गरिरहेको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शुक्रबारसम्म २ सय ५८ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । जसमध्ये ३५ जना निको भएका छन भने २ सय ७२ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म २२ हजार ६ सय ७३ पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने ६२ हजार ३ सय २७ जनाको आरडीटी परीक्षण भएको छ । अहिले देशभर १५ हजार ६ सय जना क्वारेन्टाइनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *