समाचार

कोरोना संक्रमित महिला ४२ दिनअघि नै काठमाडौंको सतुंगलबाट पुगेकी थिइन् धादिङ

काठमाडौं । बिहीबार संक्रमण पुष्टि भएकी धादिङकी महिला पाटन अस्पतालको आइसोलेसनमा रहेको बुझिएको छ ।

काठमाडौंको सतुंगलमा बस्ने सामान्य गृहणी उनलाई कसरी कोरोना संक्रमण भयो भनेर खोजी भएपनि स्रोत पत्ता लगाउन नसकिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

काठमाडौंको सतुंगलमा रहेको अमरबस्तीमा श्रीमान तथा ७ वर्षीय छोरासँग बस्दै आएकी उनी चैत १५ गते धादिङ गइ वैशाख २७ गते मात्रै काठमाडौं फर्किएकी थिइन् ।

उनको श्रीमान सतुंगलकै एक निजी संस्थामा काम गर्ने र उनी विशुद्ध गृहिणी भएको धादिङ प्रशासनले जनाएको छ । यद्यपि उनमा कसरी कोरोना संक्रमण भयो भनेर पत्ता लगाउन नसकिएको धादिङका प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए ।

४२ दिनअघि गाउँमा, तर कसरी देखियो संक्रमण ?
काठमाडौंको सतुंगलबाट ४२ दिनअघि नै उनीहरु मोटरसाइकलबाट गाउँ गएको पाइएको छ । प्रशासनका अनुसार उनीहरु चैत १५ गते मोटरसाइकलबाट धादिङको गल्छी गाउँपालिका ८ गोगनपानीस्थित कटुवाल गाउँमा गएका थिए । गाउँ गएपछि उनीहरुले खेती किसानी गरेको र अन्य मानिसहरुको सम्पर्कमा पनि खासै नरहेको पाइएको छ । संक्रमित महिला एकपटक नजिकै रहेको आफ्नो माइत गएको भएपनि उनको माइतमा पनि बाहिरबाट कोही नआएको पाइएको छ ।

४२ दिन गाउँमा बसी सरकारले साना उद्योग र कलकारखाना खोल्ने निर्णय गरेपछि उनीहरु वैशाख २७ गते मात्रै काठमाडौं फर्किएका थिए । काठमाडौं भित्रिएकाको स्वास्थ्य परीक्षण गर्ने नीति अनुसार वैशाख २९ गते ती महिलाको स्वाबको नमुना लिइएको थियो । जेठ १ गते आएको रिपोर्टमा ती महिलामा कोरोना पोजेटिभ देखिएको हो । अहिले उनको श्रीमान र छोरोको पनि स्वाबको नमुना लिइएको र रिपोर्ट आउन बाँकी रहेको बुझिएको छ ।

संक्रमणको स्रोत खुलाउन कठिन
ती महिलालाई कहाँबाट कसरी कोरोना संक्रमण भयो भनेर छुट्याउन नसकिएको धादिङका प्रमुख जिल्ला अधिकारी तामाङले बताए । प्रजिअ तामाङले भने, ‘उनी चैत १५ गते नै धादिङ आएको देखिन्छ । त्यसपछि अन्य स्थानबाट आएको मानिसहरुको सम्पर्कमा रहेको पनि देखिँदैन । अब यो संक्रमण धादिङ आएपछिको हो कि काठमाडौंबाटै आएको हो भनेर हामीले कन्ट्राक्ट ट्रेसिङ गर्दै छौँ । पहिले उहाँको श्रीमानको परीक्षणको रिपोर्ट आयोस्, त्यसपछि मात्रै थप केही भन्न सकिएला ।’

गाउँका अन्यको स्वाबको नमुना लिइने
ती महिलाको स्थायी घर गल्छी ८, कटुवाल गाउँमा उनीहरुका परिवारको ५ घर रहेको र त्यो वस्तीलाई नै अहिले क्वारेन्टाइन बनाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार अब त्यो बस्तीबाट अन्यत्र बस्तीमा जान निषेध गरिएको छ र प्रहरीले सुरक्षा दिइरहेको छ । सम्भव भएसम्म आज र आज सम्भव नभएको अवस्थामा भोलि उनीहरु सबैको स्वाबको नमुना लिई परीक्षणका लागि पठाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *