समाचार

कोरियामा कोरोनाबाट निको भइन् १०४ वर्षीया वृद्धा

दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना संक्रमित वृद्धाको सफल उपचार भएको छ।

चोई नाम गरेकी उक्त वृद्धा ६७ दिनको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट शुक्रबार डिस्चार्ज भएकी हुन्।

उनी दक्षिण कोरियामा कोरोना सङ्क्रमणबाट निको हुनेमध्ये अहिलेसम्मकै बढी उमेर भएकी वृद्धा हुन्।

सन् २०१२ देखि थेगुको दक्षिणी ग्यङ्सानमा रहेको एक केयर सेन्टरमा बसिरहेकी चोईलाई एक हप्ताअघि कोरोना संक्रमणको पुष्टि भएको थियो।

त्यसपछि उनलाई पोहाङ अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो।

उनलाई सरूमा सुख्खा खोकी लाग्ने तथा घाँटी दुख्ने लक्षण देखिएको थियो र सेतो रक्त कोष समेत घटेको थियो।

स्वास्थ्यकर्मीको मेहनतका साथ उपचारका कारण उनी ठिक भइन्।

चोईको १२ पटकसम्म कोरोना परीक्षण गरिएको थियो।

उनको नवौँ पटकबाट कोरोना सङ्क्रमणको नतिजा नेगेटिभ आयो। त्यसपछिका सबै नतिजा नेगेटिभ आएपछि अस्पतालले डिस्चार्जको अनुमति दिएको हो।

डिस्चार्जका समयमा पुष्पगुच्छासहित उनलाई सम्मान गरिएको थियो। उनले उपचारमा संलग्न सबैलाई धन्यवाद दिएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *