समाचार

तुलसीपुरका कोरोना संक्रमित टिचिङ अस्पतालका कर्मचारी

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ खर्चवा गाउँका ३४ वर्षीय कोरोना संक्रमित व्यक्ति काठमाडौंस्थित टिचिङ अस्पतालका कर्मचारी भएको खुलेको छ।

लामो समयदेखि काठमाडौं बस्दै आएका उनले परीक्षण गराउँदा आफ्नो ठेगाना दाङ तुलसीपुर राखेको अधिकारीहरुले बताएका छन्।

तुलसीपुरका कोरोना सम्पर्क व्यक्ति विमल केसीले ती व्यक्ति टिचिङ अस्पतालमा कार्यरत रहेको भन्ने खुल्न आएको भएपनि स्वास्थ्यकर्मी हुन कि कर्मचारी ? भन्ने अझैं एकिन भइ नसकेको जानकारी दिए।

‘उहाँ काठमाडौंमै क्वारेन्टिनमा रहेको भन्नेसम्म जानकारी दिइएको छ,’ केसीले भने ‘उहाँ यो बीचमा दाङमा आएको रेकर्ड छैन।’

ती व्यक्तिका बारेमा थप कुरा पत्ता लगाउने प्रयास भइरहेको केसीले बताए।

हिजो दाङका अन्य दुई युवामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरू जिल्लाकै पहिलो संक्रमित हुन्।

संक्रमण पुष्टि भएका गढवाका दुई युवा पाँच दिनअघि भारतबाट आएका थिए। उनीहरू गोरखपुर र मुम्बईबाट कपिलवस्तुको कृष्णनगर नाका हुँदै दाङ आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *