समाचार

शनिबारदेखि जमुनाहा नाका पूर्ण सिल

पश्चिम नेपालको एक प्रमुख सीमा नाका जमुनाहा नाका शनिबार बिहानैदेखि पूर्ण रूपमा बन्द गरिएको छ।

बाँके जिल्लाका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले शनिबार बिहानैदेखि बाँकेस्थित जमुना नाकाबाट आवातजावत पूर्ण रूपमा बन्द गरिएको जानकारी दिए।

गृहमन्त्रालयको आदेश अनुसार नाका पूर्ण रूपमा सिल गरिएको एसपी ओलीले बताए।

तर उनले सीमा नाकामा नेपालीहरू आएर बसेको देखिएको जानकारी दिए।

‘भारतबाट आएका मानिसहरू सीमा पारी बसिरहेका देखिएका छन्,’एसपीले ओलीले भने, ‘माथिको आदेश आएमात्रै उनीहरूलाई प्रवेश गराउन सकिन्छ।’

आरडिटीमा पोजेटिभ देखिएका तीनै जनाको पिसिआर रिपोर्ट नेगेटिभ

बाँकेको नेपालगन्जस्थित जमुनाहा नाकामा आरडिटी परीक्षण गर्दा कोरोनाको एन्टिबडी देखिएका तीनै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

शुक्रबार छिमेकी देश भारतबाट आएकामध्ये सुर्खेत, कालिकोट र नुवाकोटका एक–एक युवामा आरडिटी परीक्षण गर्दा कोरोनाको एन्टिबडी देखिए पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको बाँके जिल्लाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

रिपोर्ट नेगेटिभ आएका तीनै जनालाई शनिबार नै सम्बन्धित ठाउँ पठाइने उनले जानकारी दिए।

बिहीबार राति अवेरसम्म झन्डै सात सय नेपाली बाँकेस्थित जमुनाहा नाकामा आइपुगेका थिए। उनीहरूलाई आरटिडी परीक्षण गरेर सम्बन्धित जिल्लाहरूमा पठाइएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले नाकामा रहेका ४० जिल्लाका सात सय नागरिकलाई शुक्रबार बिहान २ बजेसम्म उद्धार गरिएको जानकारी दिएकी थिइन्।

भारतबाट नेपाल फर्किएकामध्ये सबभन्दा धेरै कर्णालीका रहेको उनले बताइन्।

त्यस्तै झापा, गोरखा, स्याङ्जा, दोलखा, नुवाकोट, दाङ, सल्यान, रोल्पालगायत जिल्लाका नागरिकहरू पनि स्वदेश फर्किएको उनले बताइन्।

उनीहरू भारतको बहराईच लगायतका जिल्लाहरूको क्वारेन्टिनमा बसेका तथा अलपत्र परेका नेपालीहरू हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *