समाचार

पोखराका जलारीलाई पारसले बाँडे राहत, महानगरले दियो काम

फेवातालमा माछा मारेर जीवन धान्ने जलारी समुदायको माछा अहिले विक्री हुँदैन।

लकडाउनका कारण माछा खाने मानिस लेकसाइड र खपौंदी जान पाएका छैनन्। होटल र रेष्टुरेन्ट बन्द हुँदा उनीहरुको माछा किनिदिने कोही भएनन्।

पोखरा महानगरले मजदुर तथा विपन्न नागरिकलाई राहत वितरण गर्दै थियो। जलारी समुदायले भने राहत मागेनन्। उनीहरुले महानगरसँग राहतको सट्टा काम दिनुपर्ने माग राखे।

महानगरले जलारीको माग पुरा गर्‍यो। उनीहरुले फेवातालको मुहानतर्फ बढेको जलकुम्भी झार निकाल्ने काम पाए। महानगरले दैनिक ज्यालादारीमा जलारी समुदायलाई काम दिएको महानगरका उपमेयर मञ्जुदेवी गुरुङले बताइन्।

अहिले फेवातालको जलकुम्भी झिक्ने काम ७१ जनाले गरिराखेका छन्। सुरुमा ६५ जनाले मात्र यो काम गरेका थिए। पोखरा १८ खपौंदीस्थित इन्द्र हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष इन्द्रबहादुर जलारीले माछा बिक्न छाडेपछि तालको जलकुम्भी निकाल्ने काम गरेको बताए।

‘लकडाउनपछि हामीले दुई साता माछा मारेनौं’ इन्द्रले सेतोपाटीलाई भने, ‘अहिले एक दिन बिराएर माछा निकाल्छौं, त्यही पनि विक्री हुँदैन।’

पोखरामा पहिलो पटक माछा विक्री नहुने अवस्था आएको उनको अनुभव छ। वर्षाका कारण तालमा पानीको मात्रा पनि बढिराखेकाले अब जालमा माछा पर्न पनि कम हुँदै गएको उनले बताए।

फेवातालबाट निकालिएको माछाको जात अनुसार मुल्य फरक छन्। टिलिपिया जातको माछा प्रतिकिलो २५० रुपैयाँ पर्छ भने सबभन्दा महँगो स्थानीय सहर जातको माछा प्रतिकिलो १ हजार १ सय रुपैयाँ पर्छ।

तर अहिले कुनै पनि माछा नबिकेको जलारी समुदायको भनाइ छ। यही एरिया अर्थात फेवातालको मुहानतर्फ खपौंदी साइडमै बस्छन्, नेपालका पूर्व युवराज पारस शाह।

जलारी समुदायलाई लकडाउनले मर्का परेको उनी र उनको समूहले ठम्यायो। राहत वितरण गर्ने निर्णय गर्‍यो। पूर्व युवराज शाहका सहयोगीहरु जलारी समुदायका अगुवालाई भेट्न पुगे।

जलारी समुदायसँग पारस।

शाहका सहयोगी विश्वराज पौडेल लगायतको टोलीले स्थानीय एकता जलारी समाजका अध्यक्ष कान्छाकुमार जलारीलाई भेटे। कान्छाकै सहयोगमा जलारी समुदायका अति विपन्न घरपरिवारको ‘लिष्ट’ बनाए।

विपन्न जलारी समुदायका झण्डै डेढ सय घरको लिष्ट बनाएको पौडेलले बताए। ‘सरकार (पारस शाह)ले विपन्न नागरिकलाई राहत दिने इच्छा देखाउनुभयो’ पौडेलले सेतोपाटीलाई भने, ‘हामीले विपन्न जलारी समुदायको नाम लिष्ट तयार पारेर सहयोग गर्‍यौं।’

पूर्व युवराज पारस आफै उपस्थित भएर विपन्न जलारी समुदायका ४५ घरपरिवारलाई राहत वितरण गरेको पौडेलले बताए। शाहले राहतमा १२ किलो चामल, १ लिटर तेल, १ पोका विस्कुट, १ किलो नुन, १ किलो दाल र हात धुने साबुन दिएका छन्।

सनातन हिन्दु युवा बाहिनीका अध्यक्ष समेत रहेका पौडेलले पहिलो चरणमा राहत वितरण गर्दा ६० हजार जति खर्च लागेको बताए। राहतको खर्च पूर्व युवराज पारसले नै गरेको उनले जानकारी दिए। अझै करिब १ सय २० घरलाई राहत दिन बाँकी रहेको उनको भनाइ छ।

‘सरकारले जनतालाई राहत दिन चाहनुभएको छ’ पौडेलले भने, ‘हामी गाउँतिर पनि राहत वितरण गर्न सकिन्छ कि भनेर बुझ्दैछौं।’ पूर्व युवराज पारस शाह झण्डै ९ महिनादेखि पोखरामा बस्दैछन्। लकडाउन अघि काठमाडौं गएर पशुपतिनाथ मन्दिरको सरसफाईमा सहभागी भएका थिए। लकडाउन भएपछि भने उनी पोखरामै छन्।

सहयोगी पौडेलका अनुसार शाह अहिले लेकसाइडको खपौंदी नजिकै एउटा होटलमा अपार्टमेन्ट भाडामा लिएर बसेका छन्। उनले भाडास्वरुप मासिक ८० हजार रुपैयाँ जति बुझाउने गरी अपार्टमेन्ट लिएको उनका सहयोगीले बताए।

यसअघि केही समय शाह पोखराकै घारीपाटनमा घर भाडामा लिएर बसेका थिए। उनको समूहमा ४ जना जति काठमाडौंबाट आएका छन् भने केही पोखराबाट जोडिएका छन्। टिममा अहिले १५ जना जति रहेको पौडेलले बताए।

लकडाउनमा पोखरामा रहँदा पूर्व युवराज शाह लेकसाइड वरिपरि घुमिरहेको भेटिन्छन्। हार्ले डेभिड्सन मोटरसाइकलमा सहयोगी सहित उनी तालको वरिपरि घुम्ने गर्छन्। कहिलेकाही बेगनासतालसम्म पुग्ने गरेका छन्।

पूर्व युवराज पारस अब पोखरामै बस्ने पौडेलले बताए। ‘उहाँ अब पोखरामै बस्छु भन्नुभएको छ’, उनले भने ‘जनताको दुखसुखमै बस्छु, घरदैलोमै जान्छु’ पारसको भनाई उदृत गर्दै पौडेलले भने, ‘दरबारको घेराबन्दीमा बस्दिन भन्नुभएको छ।’

पौडेलले पूर्व युवराज पारसबारे मिडियामा नचाहिँदो हल्ला चलाइएको बताए। ‘उहाँलाई त्यसै नराम्रो बनाइदिएको हो, त्यसै खराब बनाइदिएको हो’ उनले भने, ‘गणतन्त्रवादीले राजसंस्थालाई बदनाम गर्न त्यसो गरिदिएको हो।’

पौडेलले पारसलाई नभेट्दासम्म आफू पनि उनी प्रति ‘नेगेटिभ’ भएको बताए। ‘जब उहाँलाई भेटे उहाँ त एकदम राम्रो हुनुहुँदो रहेछ’ पौडेलले सेतोपाटीलाई भने, ‘यस्तो राम्रो मान्छेलाई त्यसै नराम्रो भनेर प्रचार गरिदिए।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *