अन्तरास्ट्रिय

कुकुरबाट कोरोना पत्ता लगाउने अनुसन्धानका लागि बेलायतले दियो ५ लाख पाउन्ड

बेलायती अनुसन्धानकर्ताहरूले कुकुरबाट मानिसमा कोभिड-१९ को भाइरस सुँघेर पत्ता लगाउन सकिन्छ कि सकिदैन् भन्ने बारेमा अनुसन्धान गर्ने भएका छन्।

बेलायती सरकारले शनिबार यसका लागि ५ लाख पाउण्ड दिएको जनाएको छ। यसको अनुसन्धान दुर्हाम विश्वविद्यालय अन्तरगतको लन्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिन र एक ब्रिटिस परोपकार संस्थाले गर्नेछ।

‘जैवभेदी कुकुरहरूले यसअघि नै विशिष्ट किसिमको क्यान्सर पत्ता लगाइसकेकाले हामीले यो आविष्कारले हाम्रो वृहत परीक्षण रणनीतिका लागि दुर्त नतिजा दिने विश्वास गरेका छौं’, इनोभेसन मन्त्री जेम्स बेथेलले भने।

अनुसन्धानका लागि ६ वटा ल्याब्राडोर र ककर स्पानियल्सलाई कोभिड-१९ का बिरामीका गन्धको नमुना दिइनेछ र यसलाई संक्रमण नभएका मानिसहरूको गन्धबाट छुट्टाउन सिकाइनेछ। ती नमुनाहरू लन्डन अस्पतालका कोभिड-१९ बिरामीबाट लिइने जनाइएको छ।

यी जैवभेदी कुकुरहरूलाई यसअघि केही निश्चित प्रकारका क्यान्सर, पार्किन्सन र मलेरिया पत्ता लगाउने कामका लागि प्रशिक्षित गरिएको थियो।

अनुसन्धान सफल भएमा एउटा कुकुरले प्रतिघण्टा २ सय ५० जना मानिसको परीक्षण गर्नसक्ने र यिनीहरूलाई विमानस्थल लगायतका सार्वजनिक स्थलमा प्रयोग गर्न सकिनेछ।

अमेरिका र फ्रान्सका अनुसन्धानकर्मीहरू पनि यसप्रकारको परीक्षणका लागि कुकुरहरूलाई तालिम दिने प्रयासमा लागिरहेका छन्।

कोरोनाको महामारी सुरू भएपछि कुकुरहरूको सानो संख्यामा पनि धेरैजसो अवस्थामा आफ्ना मालिकबाट संक्रमण सरेको पुष्टि भएको छ।

यस्ता केसहरू हङकङ, नेदरल्याण्ड र अमेरिकामा रिपोर्ट भएका थिए। यस्तै न्यूयोर्कको एक बाघलाई पनि कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *