समाचार

पीसीआरलाई पन्छाएर किनिएको आरडीटी किटको नालीबेली

तर मन्त्रालयले ३ लाख आरडीटी र २ लाख पीसीआर टेष्ट गर्ने भन्दै खरिद प्रक्रिया थालेको छ । तत्कालका लागि १ लाख २५ हजार आरडीटी र १ लाख पीसीआर किट खरिद गर्न मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई पत्र पठाएको छ । ‘तीन लाख आरडीटी टेस्ट पुर्‍याउने स्वास्थ्य मन्त्रालयको निर्देशन छ, हामीले त्यसकै तयारी गर्दैछौं,’ विभागका एक अधिकारी भन्छन्, ‘पीसीआर किट २ लाख मात्रै पुयाउने भएकाले त्यसअनुसार नै प्रक्रिया गरिनेछ ।’

सरकारले सुरुमा ओम्नी समूहसँग गरेको सम्झौतामा १० हजार पीसीआर किट किनेको थियो । त्यसयता थप किट खरिद गर्न सकेको छैन । बरु स्विटजरल्याण्ड सरकारले सहयोगमा दिएको ३० हजार, भारत सरकारले दिएको ३० र चीन सरकारले दिएको २० हजार पीसीआर किटले काम चलाएको छ ।

पिसिआर किट आनाकानी गरेको सरकारले ओम्नी समूहले ल्याएको ७५ हजार आरडीटी किट सकाएर चीनको बेइजिङ लिपु मेडिकल कम्पनीले उद्पादन गरेको कोलिडल गोल्ड इम्युनोक्रोमाटोग्राफिक्स बाण्ड्रको १ लाख आरडीटी किट ल्यायो । अब फेरि थप १ लाख २५ हजार किट खरिद गर्ने तयारी छ ।

नेपालमा प्रयोग भएको आरडीटी किटको नालीबेली

विवादास्पद सम्झौतासँगै ओम्नी समूहले १५ चैतमा ६ लाख अमेरिकी डलर बराबरको ७५ हजार किट ल्याएको थियो । तर सम्झौतासँगै किटको गुणस्तरमा प्रश्न उठ्यो । सरकारले ओम्नी समूहसँग भएको सम्झौता रद्द गर्ने निर्णय गर्‍यो भने स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले किटको अध्ययन गरेर त्यसको सिफारिसको आधारमा प्रयोग गरिने बताए ।

तर, त्यसको दुई दिनपछि स्वास्थ्य मन्त्रालयले ओम्नीले ल्याएको किट प्रयोग गर्न पाउनेपर्ने भन्दै मन्त्रिपरिषदमा प्रस्ताव गर्याे र स्वीकृति पनि पायो । सरकारले किटको गुणस्तरबारे स्वास्थ्य अनुसन्धान परिषदको रिपोर्ट समेत पर्खिएन । त्यसपछि पीसीआर टेस्टको साटो आरडीटी टेष्ट नै प्राथमिकतामा पर्‍यो । तर पीसीआर नेगेटिभ आयो भने आरडिटी पोजेटिभको रेकर्ड समेत राखिएन ।

स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारी गुणस्तर परीक्षण नभई आरडीटी प्रयोग गर्न मन्त्रिपरिषदबाट निर्णय गर्दै समुदायमा लैजानुमा गलत नियत देखिएको बताउँछन् । उनका अनुसार स्वास्थ्य सामाग्रीको व्यवस्थापन गर्ने स्वास्थ्य व्यवस्थापन महाशाखाले तयार पारेको खरिद गर्नुपर्ने सामग्रीको सूचीमा आरडीटी किट नै थिएन । र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र स्वास्थ्य सेवा विभाग दुबैको राय पनि आरडीटी किटबारे सकारात्मक थिएन ।

तर, ओम्नीसँग खरिद सम्झौताका लागि बनाइएको वार्ता टोलीका संयोजक डा. खेम कार्कीको टोलीले तत्काल मास स्क्रिनिङका लागि चाहिने भन्दै ७५ हजार आरडीटी किट सूचीमा थप्याे । सम्झौताअनुसार दोस्रो लटमा आउनुपर्ने किट पहिलो लटमै आयो । अनि अहिलो लटमा आउनुपर्ने धेरै सामान नै आएन ।

किट आइसकेपछि पनि मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्यका प्रयोगशालाका अधिकारीबीच विवाद भएको थियो । डब्ल्यूएचओले प्रमाणित नगरेको किटलाई प्रमाणीकरण गर्न नसक्ने बताएपछि प्रयोगशालाकी निर्देशक डाक्टर रुना झालाई कोभिड–१९ सकिएपछि सरुवा गर्ने धम्की समेत दिइएको थियो ।

‘प्रयोगशालाले किट प्रमाणित गर्न नमानेपछि मन्त्रालयका अधिकारीहरुले सिधैं क्याबिनेट लगेर निर्णय गराएका हुन्’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, ‘केही व्यक्तिको स्वार्थका कारण पीसीआरभन्दा आरडीटी किट प्राथमिकतामा परेको छ ।’

स्रोतकाअनुसार राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदलाई किट अध्ययनमा पनि सहयोग भएन । अध्ययनका लागि चाहिने न्यूनमत नमुना समेत दिन आनाकानी गरियो । जब किट प्रयोग गरी सकिन लाग्यो, बल्ल नमुना दिइएको थियो । त्यसका बाबुजद परिषद्ले अध्ययन रिपोर्ट मन्त्रालयलाई बुझाएको छ । अध्ययनमा संलग्न परिषदका एक अधिकारी भन्छन्, ‘सरकारलाई बुझाएको रिपोर्टमा आरडीटीलाई प्राथमिकता नदिने सिफारिस गरिएको छ ।’

नयाँ किटको पनि उस्तै समस्या

तर डब्ल्यूएचओले प्रमाणित नगरेको मात्र होइन, मन्त्रालयकै अनुसन्धानले प्राथमिकता नदिनू भनेको आरडीटी किट किन्न नै मन्त्रालयले जोड दिएको छ । र ओम्नी समूहले ल्याएको वन्डफो किटमा झै अहिले ल्याएको कोलिडल गोल्ड इम्युनोक्रोमाटोग्राफिक्सको किटको गुणस्तरमा पनि प्रश्न उठेको छ ।

यो किट चिनियाँ कम्पनीको हो । तर चीनमा नै यसको प्रयोगमा प्रतिबन्ध लागेको छ । विश्व स्वास्थ्य संगठनकाअनुसाार चीनमा १९ वटा आरडीटी किट अनुमतिप्राप्त छन् । तर सरकारले ल्याएको लेपु मेडिकल कम्पनीले यो किट त्यो सूचीमा छैन ।

चीनले आफ्नै देशमा प्रयोग गर्न स्विकृति नदिएको किट नेपाल ल्याउनुले यसको गुणस्तरमा स्वतः प्रश्न उठ्छ । र, नेपालमा किटले दिएको नजिता पनि त्यस्तै छ ।

शुक्रबार काठमाडौं महामानगरपालिकाले सफाइ क्षेत्रमा काम गर्ने ६ सय ६४ जना कर्मचारीको यही किटमा परीक्षण गरिएको थियो, जसमा ३१ जनाको रिपोर्ट पोजेटिभ आयो । तर पीसीआर विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आयो ।

काठमाडौं महानगरको सरसफाइ क्षेत्रमा काम गर्ने कर्मचारीहरूको परीक्षणमा संलग्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक चिकित्सकका अनुसार आरडीटी पोजेटिभ आएका ३१ जनामध्ये १ जनाको आईजीजी एन्टिबडी देखिएको थियो भने ३० जनाको आईजीएम एन्टिबडी देखिएको थियो ।

जीवाणु वैज्ञानिक डा. सुदीप खड्काकाअनुसार कोभिड–१९ को भाइरस शरीरमा प्रवेश गरेको पहिलो सातादेखि आईजीएम एन्टिबडी बन्न थाल्छ । शरीरमा भाइरस पसेको ९/१० दिन भएको छ र त्यसै अवधिमा आरडीटी परीक्षण गरियो भने संक्रमण हुँदाहुँदै पनि नेगेटिभ रिपोर्ट आउँछ । किनकि, यो किटले भाइरस प्रवेश गरेको नौ दिनपछि मात्र रिपोर्ट पोजेटिभ देखाउँछ ।

यस्तै, भाइरस प्रवेश गरेको करिब १५/२० दिनपछि आईजीजी एन्टिबडी शरीरमा मात्र बन्छ । त्यसअघि व्यक्ति संक्रमित भएपाि आरडीटी किटले नेगेटिभ रिपोर्ट निकाल्छ ।

त्यसैले र्‍यापिड टेस्ट विधिबाट दुईमध्ये एक वा दुवै प्रकारका एन्टिबडी भए–नभएको पहिचान गरेर कोभिड–१९ संक्रमित भए–नभएको पहिचान गर्ने पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने जीवाणु वैज्ञानिक डाक्टर खड्का बताउँछन् ।

तर पीसीआरमा सबैको रिपोर्ट नेगेटिभ आयो । यसले पनि किटको गुणस्तरमा प्रश्न उठाएको छ । ‘आईजीएम एन्टिबडी देखिएकाहरूको पीसीआर किन नेगेटिभ देखियो भन्ने अध्ययनको विषय रहेको हो’ इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाको प्रमुख डाक्टर वासुदेव पाण्डे भन्छन्, ‘यति धेरै आरडीटी पोजेटिभ आउँदा (आईजीएम) केही केस पीसीआरमा पनि पोजेटिभ आउनुपर्ने हो । किन सबै नेगेटिभ आयो भनेर किटबारे अध्ययन गर्नुपर्ने देखिन्छ ।’

एकैपटक धेरै नमुना परिक्षण गर्दा एण्टीबडी आइजिएम धेरै सङख्यामा देखाएको तर पिसिआर जाँच गर्दा सबैलाई नेगेटिभ देखायो भने किटमै खराबी हुने जिवाणु वैज्ञानिक डाक्टर खड्का बताउँछन् । उनको अनुसार यो किटले भारत र बेलायतमा पनि राम्रो नतिजा दिएको थिएन । भारतमा उक्त किटले एक्टिभ केसमा प्रयोग गर्दा ५ प्रतिशत मात्र केस पत्ता लगाएको थियो ।

‘समुदायमा कत्तिको फैलिएको छ भन्ने पत्ता लगाउन प्रयोग गर्ने किटलाई अहिले नेपालमा व्याक्तिगत डाइग्नोस्टिक गर्न प्रयोग गरिएको छ’ डाक्टर खड्का भन्छन्, ‘नेपालमा अहिले धेरैभन्दा धेरै पीसीआर टेष्ट गर्नुपर्ने हो, तर उल्टो भइरहेको छ ।’

आरडीटी किट कुन बेला प्रयोग गर्ने ?

जनस्वास्थ्य विज्ञहरुका अनुसार कोभिड–१९ को लक्षण देखिएर अस्पताल वा आइसोलेसन वार्डमा राखिएका व्यक्ति, क्वारेन्टिनमा बसेको १४ दिन पुगेका व्यक्तिको परीक्षणमा आरडीटी प्रयोग गर्न सकिन्छ । तर यसको लागि छुट्टै प्रोटोकल बनाउनुपर्छ । एण्टीबडी आईजीएम देखियो भने क्वारेण्टाइनमा राख्नुपर्छ । कन्ट्याक ट्रेसिङ गरेर र उनीहरुको सम्पर्कमा आएकाहरुको पनि परीक्षण गर्नुपर्छ ।

जिवाणु वैज्ञानिक खड्काका अनुसार शंकास्पद व्यक्तिको शरीरबाट रगत लिएको १० देखि ३० मिनेटमा आरडीटीले नतिजा निकाल्नसक्छ । लक्षण देखिएका व्यक्तिहरुको तत्काल नतिजा थाहा पाउन यो विधीबाट परिक्षण गरिन्छ ।

तर प्रारम्भीक चरणको संक्रमण भएका तथा लक्षण नदेखिएकाहरुको हकमा विश्वसनीय नतिजा नदिएकाले धेरै देशले आरडीटीलाई मान्यता दिएका छैनन् । भारतमा इन्डियन काउन्सिलअफ मेडिकल रिसर्च (आईसीएमआर) ले र्‍यापिड डाइग्नोस्टिक किट कस्ता व्यक्तिमा कसरी प्रयोग गर्ने भन्ने बारेमा गाइडलाइन बनाएको छ ।

तर नेपालमा वैज्ञानिक आधारविनै टेष्ट भइरहेको छ, जसले गर्दा नतिजामा गडबढ आइरहेको छ ।

‘प्रोटोकल नबनाइकन प्रयोग गर्ने, संक्रमित पनि नगन्ने, क्वारेण्टाइनमा पनि नहाल्ने र कन्ट्याक ट्रेसिङ पनि नगरेको देख्दा अचम्म लागेको छ’ जिवाणु वैज्ञानिक खड्का भन्छन्‘चीनले नै सिफारिस नगरेको किट ल्याएर के गर्न खोज्या के हो बुझ्न गाह्रो छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *