समाचार

अष्ट्रेलिया आउने जहाज काठमाडौं फर्किँदा नेपाली लैजाने तयारी

दुई पटक नेपालबाट अष्ट्रेलिया चार्टर्ड भई आएका ध्वजाबाहक नेपाल एयरलाइन्सका जहाज खाली फर्किए।

जुन ५ तारिख अर्थात जेठ २३ गते राजधानी क्यानबेरामा नेपाल एयरलाइन्सको जहाज आउँदैछ। सो जहाजमा यहाँ अलपत्र परेका र अत्यन्तै जरुरी भएका नेपालीलाई फिर्ता लाने तयारी भएको छ।

अष्ट्रेलियन दूतावासले निगमको जहाज चार्टर्ड गरी पिआर होल्डरसहित अष्ट्रेलियन तथा न्यूजील्याण्डका नागरिक गरी साढे दुई सय बढीलाई ल्याउँदैछ। सोही जहाज फर्किँदा अलपत्र परेका नेपालीलाई लैजाने तयारी भएको अष्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ।

नेपालबाट अष्ट्रेलिया आइपुगेका अभिभावक, खेलाडी र कलाकारहरु अलपत्र परेको समाचार आइरहेका बेला यस पटक भने नेपाली दूतावासको विशेष पहलमा राजधानी क्यानबेरा आउने चार्टड विमानले यात्रु लैजान अनुमति प्राप्त गर्ने संकेत मिलेको दूतावासको भनाइ छ।

‘परराष्ट्र मन्त्रालय र सम्वन्धित निकायलाई यस पटकको चार्टड विमान खाली फर्काउन नहुने र यहाँ समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउनु पर्ने विशेष पहल गरेका छौँ’ अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले भने ‘उताबाट सकारात्मक संकेत आएको छ।’

मंगलबार दिउँसो परराष्ट्र मन्त्रीसँग पनि यस विषयमा कुराकानी भएको उनले बताए। उच्चस्तरीय समितिले यो विषयलाई अनुमोदन गरिसकेको र मन्त्रीस्तरीय निर्णय बाँकी रहेको जानकारी प्राप्त भएको राजदूत दाहालले बताए।

ब्रिसबेनका लागि पहिलो उडान भरेको नेपाल एयरलाइन्सले दोस्रो पटक सिड्नीमा उडान भरेको थियो। निकै दबाब र अनुरोधका बाबजुत पनि दुबै विमान राज्यको अनुमति प्राप्त नहुँदा खाली फर्केका थिए।

नेपालस्थित अष्ट्रेलियन दूतावासको पहलमा पटक पटक गरी नेपालमा रहेका अष्ट्रेलियन तथा न्युजील्यान्डका नागरिक र पिआरधारीलाई चार्टड विमानमार्फत अष्ट्रेलिया ल्याउने काम भइरहेको छ।

यद्यपी दुई देशका राजधानी जोडिने गरी पहिलो पटक हवाइ उडान हुने भएको हो।

‘हामीले पटक पटक अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउनुपर्छ भन्ने अनुरोध गर्दै आएका छौँ, यस पटक भने साँच्चिकै राज्यले क्यानबेराबाट यहाँ समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउँछ भन्ने विश्वास लिएका छौँ’ एनआरएन अष्ट्रेलियाका महासचिव डा ज्ञानेन्द्र रेग्मीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *