समाचार

उपत्यकामा समेत कोरोना माहामारी बढ्न थालेपछि ट्राफिक प्रहरीले सुरक्षा सतर्कता बढाउँदै चेकजाँच सुरु गरेको छ ।

ट्राफिक प्रहरीले मंगलबारदेखि प्रोटेक्टिभ ग्लास (चस्मा) भाइजर (फेस सिल्ड) र पीपीई समेत लगाई सवारीसाधनको चेकजाँच सुरु गरेको हो ।

उपत्यकामा तिनै जिल्लामा खटिने ट्राफिक प्रहरीको सुरक्षाका लागि विभिन्न स्वास्थ्य उपकरण प्रयोगमा ल्याइएको ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले बताए ।

हाल काठमाडौंका तीन जिल्ला, काठमाडौं, भक्तपुर र ललितपुरमा कुल १ हजार ४ सय ७५ ट्राफिक रहेका छन् । अहिले ती सबै ट्राफिकलाई प्रोटेक्टिभ गगल्स, मास्क, पञ्जा, स्यानिटाइजर, सावुन आदि प्रदान गरिएको एसएसपी ढकालले बताए ।

हाल ट्राफिक प्रहरीले सवारी चेकजाँज र अनधिकृत प्रयोगलाई पनि नियन्त्रण गर्न चेकजाँच बढाएको र त्यसका लागि उपत्यकाको २६ वटा मुख्य चोक तथा नाकामा खटिने ट्राफिक प्रहरीलाई मास्क, पञ्जा, चस्मा, भाइजर र पीपीईको प्रयोग अनिवार्य गरिएको छ । त्यसैगरी उपत्यकाको ४६ स्थानमा चेकजाँचमा खटिने ट्राफिक प्रहरीलाई पनि भाइजरसहित अनिवार्य सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको छ ।

सोमबार मात्रै शिखर इन्स्योरेन्सको तर्फबाट ट्राफिक महाशाखालाई १ हजार ५ सय थानका दरले के ९५ मास्क, प्रोटेक्टिभ गगल्स, भाइजर, स्यानिटाइजर तथा ५ हजार थान मेडिकल मास्क प्राप्त भएको थियो । महाशाखाले त्यही स्वास्थ्य उपकरणहरु ट्राफिक प्रहरीलाई उपलब्ध गराएको हो ।

सवारीसाधनको चेकजाँचमा खटिने ट्राफिक प्रहरी चालक तथा यात्रुका प्रतक्ष सम्पर्कमा जानुपर्ने भएपनि कम्तीमा एक मिटरको सामाजिक दुरी कायम गर्न निर्देशन दिइएको एसएसपी ढकालले बताए ।

अबको केही दिनमा नै सम्पूर्ण ट्राफिक प्रहरीलाई पुग्ने गरी भाइजर र पीपीई आइपुग्ने भन्दै अब बिस्तारै सबै ट्राफिक प्रहरीलाई कोरोनाबाट बच्न सुरक्षा उपकरण प्रदान गरिने एसएसपी ढकालको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *