समाचार

क्रिमसन अस्पतालमा उपचाररत संक्रमित व्यक्तिको मृत्यु भएको छैनः स्वास्थ्य मन्त्रालय

कपिलवस्तुको क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमित व्यक्तिको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिले पनि सो व्यक्तिको भेन्टिलेटरमा उपचार भइरहेको बताए।

साथै संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको पनि मन्त्रालयले जनाएको छ।

यसअघि प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले ती बिरामीको मृत्यु भइसकेको बताएका थिए।

सेतोपाटीसँग कुरा गर्दै मन्त्री बरालले भनेका थिए- १५ मिनेट भयो उहाँको मृत्यु भएको खबर आएको। थप कुरा बुझ्ने काम भइरहेको छ।

मन्त्री बरालले दिएको सोही सूचनाका आधारमा सेतोपाटीले कोरोनाबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु शीर्षकमा समाचार लेखेको थियो।

सेतोपाटी

उक्त अस्पतालका सञ्चालक दुर्गा पाण्डे र तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले पनि बिरामीको मृत्यु भएको विभिन्न सञ्चारमाध्यमलाई कोट दिएका थिए।

अस्पतालले बिरामीको मृत्यु नभएको विज्ञप्ति निकालेपछि हामीले मेयर घिमिरेलाई किन मृत्यु भएको भन्ने कोट दिनुभयो भनेर सोधेका थियौं। मेयर घिमिरेले आफूलाई बिहानै अस्पतालका सञ्चालक पाण्डेले बिरामीको मृत्यु भएको जानकारी दिएकाले आफूले सोही आधारमा सञ्चारमाध्यममा बोलेको बताए।

‘पाण्डे हाम्रो ७ नम्बर वडाको अध्यक्ष र कार्यपालिका सदस्य हो। मैले उहाँले दिएको सूचनाका आधारमा बोलेको हुँ। अहिले अस्पतालले मृत्यु भएको होइन भनेछ। मैले त केही बुझ्नै सकेको छैन,’ उनले भने।

सञ्चालक पाण्डेले भने आफूले बिरामीको मृत्यु भएको सूचना नदिएको दाबी गरेका छन्।

प्रदेशका जिम्मेवार मन्त्रीले दिएको सूचनाका आधारमा सेतोपाटीले समाचार प्रकाशन गरेको हो।

अहिलेसम्म नेपालमा कोरोनाका कारण दुई जनामको मृत्यु भएको छ। जसमा एक जना सिन्धुपाल्चोककी महिला र बाँकेका युवक हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *