समाचार

अब ललितपुर महानगरमा बिहानदेखि साँझसम्म अत्यावश्यक पसल खोल्न पाइने

ललितपुर महानगरपालिकामा अत्यावश्यक पसलहरू बिहानदेखि साँझसम्म खोल्न पाइने भएको छ।

सोमबार महानगरपालिकाको संयोजनमा ललितपुरका प्रमुख जिल्ला अधिकारी, विग स्टोर संचालक तथा सुरक्षा निकायका पदाधिकारीबीच बसेको बैठकले बिहानदेखि साँझसम्म पसल खोल्न दिने निर्णय गरेको हो।

महानगरले २९ वटै वडाका ठूला खाद्य स्टोर, किराना पसल, फलफूल तथा तरकारी, औषधिजस्ता अतिआवश्यक पसलहरू खोल्न निर्देशन दिएको हो।

ठूला स्टोरहरू बिहान १० बजेदेखि साँझ ७ बजेसम्म र साना पसलहरू बिहान ७ बजेदेखि बेलुका ७ बजे सम्म खुल्ला राख्न अनुमति दिइएको हो।

तर पसल अगाडि साबुन पानीले हात धुने व्यवस्था वा ह्यान्ड सेनिटाइजको व्यवस्था गर्न समेत अनुरोध गरेको छ।

साथै स्टोरभित्र रहेको क्यास काउन्टर एउटा मात्रै भएमा तीन जनालाई मात्र प्रवेश गराउन अनुरोध गरेको छ। ग्राहकलाई पनि मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ।

पसलबाहिर लाइन बस्दा दुई मिटरको फरकमा बस्न भनिएको छ भने भित्र एक मिटरको दूरी कायम गर्न भनिएको छ। स्टोरका कर्मचारीले अनिवार्य परिचयपत्र लगाउनुपर्नेछ।

साना खाद्य स्टोर तथा तरकारी फलफूल पसलहरूलाई मूल्यसूची देखिने गरी राख्न अनुरोध गरिएको छ। त्यस्तै ग्राहक आफैलाई सामान छुन नदिनेगरी व्यवस्था मिलाउन महानगरले भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *