समाचार

फुर्सदको समयमा कौसी खेती गरौँ

तरकारीको बढ्दो भाउ र विकराल विषादीको प्रयोग अहिलेको समयमा निकै ठूलो समस्याको रुपमा देखा परेको छ। विशेषगरी सहरीकरणको बढ्दो चापसँगै जग्गा जमिनको अभाव हुने भएकोले भारतबाट आयातित विषादीयुक्त तरकारीमा सहरबासीहरु आश्रीत हुने क्रम बढ्दो छ।

सहरमा तरकारी खेती गर्न जग्गा जमिन नै आवश्यक पर्छ भन्ने हुँदैन। इच्छा र जाँगर भएमा घरका कौसीमा पनि तरकारी फलाउन सकिन्छ जसलाई कौसी खेती भनिन्छ। मेहेनत गर्यो भने केही असम्भव छैन भनेझैँ आफ्नै घरको छतमा र बरन्डामा आफूलाई पुग्नेगरी प्रशस्त मौसमअनुसार तरकारी फ़लाउन सकिन्छ।

आफ्नै कौसीमा उम्रेको तरकारी टिपेर खाँदाजतिको आत्मसन्तुष्टि किनेको तरकारीले दिँदैन। स्वास्थ्य र विषादीरहित अर्गानिक तरकारी आफ्नै घरमा फलाउन सके तरकारीको परनिर्भर कम हुन्छ। यसरी तरकारीमा आत्मनिर्भर हुनुको साथसाथै घरबाट निस्किएको फोहोरको पनि उचित व्यवस्थापन गर्न सकिन्छ।

कतिपय मानिसहरु आफ्नो खेतबारी बाझै राखेर बजारबाट विषादीयुक्त तरकारी किनेर खान्छन। तरकारी फलाउने ठाउँको अभाव भयो भनेर भौतारिदै हिड्नुभन्दा आफ्नो घरको कौसीको सदुपयोग गरेर सबैले आफ्नो घरका ४-५ जना परिवारलाई पुग्ने गरी तरकारी फलाउन सकियो भने आत्मनिर्भर हुन बेर लाग्दैन।

यसरी कौसी खेती गर्दा विभिन्न कुरामा ध्यान पुराउनु पर्दछ। यसको लागि घर बनाउँदा नै छतमा विशेष प्रकारको संरचना बनाउन सकिन्छ। त्येसैगरी घरमा खेर गएका पुराना जार, ड्रम, डब्बाहरु, क्यारेट, गमला आदिको प्रयोग गरेर कौसीमा तरकारी फलाउन सकिन्छ।

स्थानीय प्रजातिका बीउहरु जम्मा गरेर तरकारी खेती गर्दा बीउबिजनको उचित संरक्षण पनि हुने गर्दछ। घरको कौसीमा तरकारी लगाउँदा वर्षामा विशेषगरी फर्सी, लौका, खुर्सानी, सिमी, घिरौला आदि लगाउन सकिन्छ भने हिउँदमा सिमि, बकुल्ला, साग, काउली आदि लगाउन सकिन्छ।

त्यसैगरी सुन्तला, कागती, स्ट्रबेरी, अम्बा, ल्गायत विभिन्न किसिमका फलफूलहरु पनि फलाउन सकिन्छ। कौसी खेतीको लागि जरा कम फैलिने, लामो समयसम्म फल वा पात टिपेर खान सकिने तरकारी बाली खेती गर्नु लाभदायक हुने गर्छ।

ठिक मात्रामा माटो, बालुवा र मल मिलाएर गमलामा वा अन्य भाडामा भरेर, माटोमा हल्का पानी हालेर बीउ वा बिरुवा रोप्नु पर्दछ। घरमा उत्पादन भएको फोहोर कुहाएर मल बनाएर अथवा पिना, गाइभैसिको गोबर, कुखुराको मल लगायत गडौली मल पनि प्रयोग गर्न सकिन्छ।

कौसीमा गरिने खेतीका लागि अलि बढी स्याहार र लगनको आवश्यकता रहन्छ। व्यवस्थित मलजल र काँटछाँट गरेर बिरुवाको उचित रेखदेख गर्न अत्यन्तै जरुरी छ। कौसी खेतीका लागि प्रयोग हुने माटोको मिश्रणमा चार भागको एक भाग मात्रै माटो र बाँकी तीन भागको एक भाग बालुवा र बाँकी दुई भाग मल राखी तयार गरेमा अत्यन्तै फलदायक हुन्छ।

आजभोलि त नरिवलको जटाका टुक्रालाई सानो सानो टुक्रा बनाएर, एक दिनजति भिजाएपछि त्यो जटाका टुक्रा र माटो मिसाएर पनि माटो हलुका बनाइन्छ। किराहरुको नियन्त्रणको लागि गाइको पिसाबमा पानी मिसाएर छर्न सकिन्छ र विभिन्न किसिमका ट्रयापहरुको पर्योग गर्न सकिन्छ।

बिरुवामा लाग्ने रोगहरुको व्यवस्थापन गर्न पहेलो भएका पातहरु टिपेर फाल्ने, रोग लागेका बिरुवाहरु हटाउने र अन्तिम विकल्पको रुपमा उचित मात्रामा विभिन्न किसिमका औषधिहरु प्रयोग गर्न सकिन्छ।

यसरी अहिलेको यो लकडाउनको फुर्सदिलो समयमा काम नपाएर बाटोबाटोमा भीडभाड गर्दै हिड्नुभन्दा समयको सदुपयोग गरेर कौसी खेतीको सुरुआत गरौँ र अरुलाई पनि गर्न सल्लाह दिउ।

अहिलेको महंगीमा दैनिक तरकारी किनेर खानभन्दा सहरका हरेक घरमा खालि रहेको जग्गा र छतमा तरकारी खेती गर्ने अभियान सुरू गरे तरकारीमा गरिने खर्च केही हदसम्म कम हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *