समाचार

भारतमा कोरोना संक्रमितको दैनिक वृद्धिमा नयाँ रेकर्ड

भारतमा कोरोना संक्रमणको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका ६ हजार ८८ नयाँ संक्रमित फेलापरेसँगै दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको हो।

प्रतिदिन संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको यो सातामा दोश्रो पटक हो।

यसअघि बुधबारमात्र एकैदिन ५ हजार ६ सय ११ जना संक्रमित थपिदां नयाँ रेकर्ड कायम भएको थियो।

योसँगै शुक्रबार बिहानको पछिल्लो तथ्यांक अनुसार भारतमा संक्रमितको संख्या १ लाख १८ हजार ४ सय ४७ पुगेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हाल त्यहाँ ६६ हजार बढी सक्रिय केस रहेका छन् भने ४८ हजार बढी कोरोनाबाट निको भएर घर फर्किएका छन्।

भारतमा हाल लकडाउनको चौथो चरण चलिरहेको छ।

भारतमा कोरोनाको संक्रमणबाट महाराष्ट्र राज्य सबैभन्दा धेरै प्रभावित छ। त्यहाँ ४१ हजार बढीमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ भने १४ सय ५४ जनाको ज्यान गइसकेको छ।

महाराष्ट्रपछि धेरै प्रभावित राज्यमा क्रमशः तमिलनाडु र गुजरात रहेका छन्।

कोरोना संक्रमित संख्यामा सातामै दोश्रो पटक नयाँ रेकर्ड कायम भएपनि भारतले बिहीबार देशभरका ३ सय ८३ रुटमा हवाइसेवा खोल्ने घोषणा गरेको छ।

घोषणा अनुसार मे २५ बाट एक तिहाई फ्लाइटहरू चालु हुनेछन्।

यसैगरी भारतको गृह मन्त्रालयले देशका राज्यहरूलाई लकडाउनका निर्देशनहरूलाई कडाइका साथ लागु गर्न भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *