समाचार

कपिलवस्तुमा जनप्रतिनिधि र पत्रकारमा कोरोना संक्रमण

कपिलवस्तुमा जनप्रतिनिधि र पत्रकारसहित कोरोनाभाइरस संक्रमित हुनेको संख्या ७७ पुगेको छ।

शनिबार बिहान एक जना वडाध्यक्ष र एक जना पत्रकारसहित आठ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संख्या ७७ पुगेको हो।

शुक्रबार पनि दुई जना पत्रकारमा कोरोना संक्रमण देखिएको थियो।

शनिबार थपिएका आठ जनामध्ये छ जना वाणगंगा र दुई जना बुद्धभूमिका रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।

उनीहरू कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८, ३, ११, ५, १० का एकएक जना २५, १९, ४२, ४० र ३५ वर्षका पुरुष रहेका छन् भने वडा नम्बर ६ का २७ वर्षीय महिला रहेकी छन्।

बुद्धभूमि नगरपालिका वडा नम्बर ४ का २२ वर्षका पुरुष र १७ वर्षकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।

उनीहरुको जेठ ४ र ५ गते वाणगंगा नगरपालिका स्थित सिद्धार्थ क्याम्पस बुङचीबाट स्वाब संकलन गरिएको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले सेतोपाटीलाई बताए।

वडाअध्यक्ष र पत्रकार बाहेक अरु ६ जना भारतबाट आएको थापाले बताए।

कपिलवस्तुमा भारतबाट आएका व्यक्तिसँगै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ।

यसअघि कृष्णनगर नगरपालिकाका कर्मचारी तथा सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

रूपन्देहीमा थपिए आठ जना

यस्तै रुपन्देहीमा पनि शनिबार आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिवार पुष्टि हुनेमा गैंडहवा गाउंपालिकाका ७ र रोहिणी गाउँपालिकाका १ जना रहेका छन्।

गैंडहवा गाउँपालिकाका अध्यक्ष बच्छुलाल केवटले १०/१२ दिन पहिला भारतबाट फर्केर गाउँपालिकाका वडा नम्बर २ मा रहेको जोगडा मावि र वडा नं. ४ को नवदुर्गा माविमा रहेको क्वारेन्टाइनमा बसेका २० वर्षका दुई, २४ वर्षका दुई, ३० वर्षका दुई र २७ वर्षका एक जनामा कोरोना संक्रमण पुष्टि भएको सेतोपाटीलाई बताए।

यो सँगै गैंडहवा गाउँपालिकामा मात्रै १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै रोहिणी गाउँपालिकामा पहिलोपटक शनिवार ५५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। उनी भारतबाटै फर्केर रामनरेश मावि क्वारेन्टाइनमा बसेका थिए।

रुपन्देहीमा शनिवारसम्म ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमित कोटहीमाईका २५ वर्षीय युवा भने संक्रमण मुक्त भएर घर फर्किएका छन्।

३६ जनाको विभिन्न अस्पतालमा रहेका आईसोलेसनमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *