समाचार

बाँकेका ४ र बर्दियाका १ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ६०८ पुग्यो

आइतबार बाँकेका ४ र बर्दियाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

दाङको राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा दुई जिल्लाका गरी थप पाँच जनामा कोरोना संक्रमण देखिएको हो।

बाँके जिल्लाका राप्ती सोनारी गाउँपालिका वडा नं. ५ का १६, २३, २३ र २४ वर्षीय युवाहरूमा कोरोना संक्रमण देखिएको छ। उनीहरू नारायणपुर भवनपुर माविको क्वारेन्टिनमा बसेकाहरू हुन्।

त्यसैगरी बर्दिया जिल्लाको बाँसगढी वडा नं. ९ निवासी एकजना २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारी दिएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०८ पुगेको छ।

तीमध्ये ८७ जना उपचारपछि घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ।

दाङ, बाँके, बर्दियाको गरी २ सय २९ वटा नमूना परीक्षण गर्दा २ सय २४ जनाको रिपोर्ट नेगेटिभ आएको कायममुकायम रजिष्ट्रार देवले जानकारी दिएका छन्।

आइतबार थप २ सय ६६ वटा नमूना प्रक्रियामा रहेको प्रतिष्ठानले जानकारी दिएको छ। हालसम्म प्रतिष्ठानमा १ हजार ६ सय ६४ वटा नमूना संकलन भएकामध्ये १ हजार ३ सय ७८ रिपोर्ट आएको छ। त्यसमा ३६ जनाको रिपोर्ट पोजेटिभ छ भने १ हजार ३ सय ४२ को नेगेटिभ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *