समाचार

लकडाउन एकैपटक यति धेरै लम्ब्याउँने तर यस्तो मोडलमा खुकुलो बनाउँने

काठमाडौ । सरकारले लकडाउन एकैपटक धेरै लम्ब्याउने निर्णयको तयारीमा छ । लकडाउन एकैपटक लम्ब्याउने घोषणा गर्ने र नागरिकको जीवनशैलीमा सहज हुनेगरी खुकुलो बनाउँने मोडल तय गरिने निश्चित भएको हो । यसैले २० जेठमा लकडाउनको अर्को चरण शुरु हुने निश्चितप्रायः छ । तर, यसपटक लकडाउनको नयाँ मोडालिटी रहने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दा नयाँ मोडालिटीमा कोरोना भाइरसविरुद्धको संघर्षमा जाने बताएका थिए । उनले उद्घोषले उद्योग, प्रतिष्ठान, नीजि कार्यस्थल खुल्न दिने र निर्माणका कार्य गर्न छुट दिइने उल्लेख गरेका थिए । कोरोनाविरुद्धको लडाईं लामो हुने भन्दै संघर्ष र आर्थिक गतिविधि सुरक्षाको उपाय अपनाएर गरिने बताएका थिए ।

विश्वस्त स्रोतका अनुसार सरकारले सार्वजनिक यातायात र शैक्षिक संस्था भने अझै केही समय बन्द गर्नेछ । तर, शैक्षिक कार्यक्रमको विकल्पका रुपमा अनलाइन र दुर शिक्षा शुरु गर्ने तयारी गरेको छ । यसका लागि शिक्षा मन्त्रालय लागिपरेको छ ।

उद्योगहरु संचालन हुनेछन् । त्यसका लागि भने सम्बन्धित उद्योगीले सुरक्षाको वातावरण मिलाउनुपर्नेछ । कृषि कार्य गर्न छुट नै छ ।
विशेषगरी विदेशमा रहेका अलपत्र नेपालीको उद्धार गरी रोजगारीमा लगाउने सरकारको तयारी छ । उनीहरुलाई निर्माण क्षेत्रमा लगाउने तयारीका साथ सरकार लागेको छ । कोरोनाविरुद्धको लडाईंमा निर्माण कार्यलाई गति दिने सरकारको तयारी देखिएको छ । राष्ट्रिय गौरवका आयोजना र ठुला आयोजनाहरुले पनि गति लिनेछन् ।

देशमा कोरोना भाइरसको संक्रमण निकै बढ्न थालेपनि लकडाउनले जनताको दैनिक जीवन नै मुश्किल भएपछि सरकारले आर्थिक गतिविधि निश्चित मापदण्ड तोकेर गर्न दिन लागेको हो । यस्तो अवस्थामा नीजि तथा सरकारी कार्यालय, प्रतिष्ठान वा रोजगारसम्बन्धित कार्य स्थल खुल्नेछन् । होटल, रेष्टुरेण्ट वा मनोरञ्जनका क्षेत्र जहाँ धेरै मानिसको जमघट हुन्छ त्यस्ता स्थान भने अझै खुल्नेछैनन् । अब आफ्नो नीजि सवारी लिएर हिँडडुल गर्नेलाई प्रहरीले बाटोमा रोक्नेछैन । अस्पतालहरु कोरोना संक्रमितले भरिदै गएपछि सरकारले घरमै आइशोलेशनमा रहने गरी व्यवस्था समेत गर्न लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *