समाचार

आजदेखि विदेशबाट नेपालीको उद्धार, नेपाली भूमिमा उत्रिदा खुशीले यसरी माटो चुम्न थाले

काठमाडौ । आजदेखि सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन सुरु गरेकोछ । आज बिम्स्टेक सदस्य मुलुक म्यान्मारबाट नेपालीहरु स्वदेश फर्किसकेका छन् । उनीहरु नेपाली भूमि टेक्न पाउँदा अत्यन्तै खुशी भएका छन् । उनीहरुले विमानबाट उत्रिएर विमानस्थलको भूमि चुमेको दृष्य देखिन सकिन्थ्यो ।

म्यान्मार सरकारले आफ्नै खर्चमा नेपालीहरुलाई स्वदेश फर्कादिएको छ । यसैगरी आजै खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) बाटपनि नेपालीहरु स्वदेश फर्किदैछन् । यूएईलेपनि आफ्नै खर्चमा नेपालीलाई स्वदेश फर्काउँदैछ। यूएईले एक सय ६८ जना नेपालीलाई केही बेरमा नेपाली भूमिमा उतारिदिँदैछ । म्यानमारले २६ जना नेपालीलाई ल्याईसकेको छ । उनीहरू शुक्रबार (आज) काठमाडौ आपुगेका छन्। फर्किएकाहरूको हवाई खर्च नेपाल सरकारले व्यहोर्नु पर्दैन।

म्यान्मार र यूएईले कोरोना भाइरस संक्रमण फैलिएपछि ती मुलुकमा अलपत्र परेकामध्ये १ सय ९४ नेपालीलाई आफ्नै खर्चमा ल्याइदिने भएका हुन्। यूएईले आफ्नोमा अलपत्र परेकालाई फर्काउन डेढ महिनाअघि नै सरकारलाई पत्राचार गरेको थियो। म्यानमारमा अलपत्र परेकालाई भने सेनाको पहलमा फिर्ता हुन लागेको परराष्ट्र अधिकारीले जनाए। म्यान्मारबाट २६ जना नेपाली ल्याउन परराष्ट्र मन्त्रालयको पहलसँगै सेनाले त्यहाँको सेनासँग आग्रह गरेको अधिकारीहरूले बताए।

नेपाली सेनाको आग्रहलाई स्विकार्दै म्यान्मारको सेनाले आफ्ना दुईवटा विशेष जहाजबाट त्यहाँ अलपत्र परेका नेपालीलाई ल्याएको हो। म्यान्मारले आफ्नो सेनाको दुई वटा विशेष जहाजबाट २६ जना नेपाली ल्याएको छ। म्यान्मारबाट नेपाली लिएर उडेको सेनाको विशेष जहाज शुक्रबार बिहान ९ः५० र १०ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको छ ।

यूएईबाट १ सय ६८ जना नेपाली लिएर एयर अरेबियाको चार्टड विमान शुक्रबार अपराह्न काठमाडौंमा अवतरण हुनेछ। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले म्यान्मार र यूएईबाट आउने नेपालीलाई व्यवस्थापन गर्ने प्रक्रिया पूरा भइसकेको बताए। विमानस्थल ओर्लिएपछि उनीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिनेछ। स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको शंका भएमा त्यस्ता व्यक्तिलाई सीधै कोभिड अस्पताल लगिनेछ।

अन्यलाई कोभिड १९ क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सीसीएमसी) ले प्रदेश अनुरुप तोकेको होल्डिङ क्षेत्रमा राखिनेछ। त्यसपछि सम्बन्धित प्रदेशसँगको समन्वयमा उनीहरूलाई सम्बन्धित पालिकामा पुर्‍याएर क्वारेन्टाइनमा राखिनेछ। १४ दिने क्वारेन्टाइन बसाइका क्रममा कोरोना भाइरसको संक्रमण नदेखिएमा उनीहरू आफ्नो घर जान सक्ने गरी तयारी गरिएको छ। क्वारेन्टाइनमा रहेका बेला कोरोना भाइरसको संक्रमण देखिए उनीहरूलाई प्रदेशस्थित कोभिड अस्पतालमा भर्ना गरिनेछ। सीसीएमसीको संयोजनमा म्यान्मार र यूएईबाट नेपालीहरू फिर्ता ल्याउन लागिएको हो। म्यान्मारबाट आएकाहरु बागमती प्रदेशका १७, गण्डकी प्रदेशका ४, प्रदेश १ का ४ र प्रदेश ५ का १ जना छन्।

यूएईबाट आउने १ सय ६८ मध्ये प्रदेश १ का १ सय ३३ जना र बाँकी गण्डकी प्रदेशका रहेको उल्लेख छ। यूएईबाट आउने यात्रुको संख्या घटबढ भएकाले प्रदेशअनुसार यात्रुको विवरण प्रस्ट भइसकेको छैन। म्यान्मार र यूएईबाट आएका सबैलाई सीसीएमसीले बनाएको कार्ययोजनाअनुसार व्यवस्थापन गरिनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनीहरूलाई प्रदेशबमोजिम तोकिएको होल्डिङ क्षेत्रमा राखिनेछ।

सीसीएमसीले प्रदेश १ का यात्रुको व्यवस्थापनका लागि १ हजार जना क्षमताको भक्तपुरको सूर्यविनायकस्थित इम्पेरियल पार्टी प्यालेस र ठिमीस्थित हेरिटेज पार्टी प्यालेसलाई होल्डिङ क्षेत्र तोेकेको छ। बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का यात्रुलाई काठमाडौंको सुकेधारास्थित मिराकल र स्काइजोन पार्टी प्यालेस, बसुन्धारास्थित यती र कुण्डलिनी पार्टी प्यालेसलाई होल्डिङ क्षेत्र तोकेको छ। उपत्यकामा बस्ने यात्रुलाई समेत सुकेधारा र वसुन्धाराकै पार्टी प्यालेसमा राखिनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेश जाने यात्रुका लागि ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेज, महालक्ष्मीस्थानस्थित डिलाइट र खरिबोटस्थित मण्डला पार्टी भेन्युलाई होल्डिङ क्षेत्र तोकिएको छ। सरकारले कोरोना भाइरसको संक्रमणका कारण हवाई र स्थलमार्गबाट स्वदेश फर्कने नेपालीको व्यवस्थापनका लागि बृहत् कार्ययोजना बनाएको थियो। सीसीएमसीले बनाएको उक्त कार्ययोजनालाई मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि कार्यान्वयनमा आएको हो।

यससँगै यूएईबाट अन्य नेपाली पनि उनीहरूले ल्याउँदै छन् भने कुवेत र ओमानबाट पनि ल्याइदिने गरी तयारी अगाडि बढेको छ। साउदी र कतारबाट पनि आउनेछन्। मलेसियाबाट पनि नेपाली फर्काउने गरी प्रक्रिया अगाडि बढेको छ। अन्य युरोपेली मुलुक, अस्ट्रेलिया र अमेरिकाबाट पनि फर्कनका लागि नेपालीले आवेदन दिएका छन्। तयारीमा ढिलाइ हुँदा नेपाल एयरलाइन्सको अस्ट्रेलिया उडान भएको तेस्रो विमान पनि खाली फर्कनुपरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *