समाचार

लकडाउन खुकुलाे हुने अपेक्षा विपरित झन् कडाइ गर्दै सरकार

काठमाडौं। लकडाउन खुकुलो बनाउने कि कडा गर्ने भन्ने सरकारी नीति ढुलमुलमा परिरहेका बेला व्यवशायी आफैंले लकडाउन उल्लंघन गरी पसल खोल्न थालेपछि प्रहरीले लकडाउन कार्यान्वयन गर्न पसल बन्द गराउन थालेका छन्। दुई दिन यता काठमाडौका व्यवशायीहरुले आफ्नो पसल खोल्न थालेपछि प्रहरीले पसल बन्द गराउन थालेका हुन्।

काठमाडौका व्यापारीहरुले चावहिल, बानेश्वर, न्यूरोड, कालिमाटी, कलंकी, नयाँवसपार्क, ज्ञानेश्वर, बागबजार, त्रिपुरेश्वर लगायतका क्षेत्रमा व्यवशायीहरुले पसल खोलेका थिए। पसल खोल्न थालेका व्यवशायीहरुलाई प्रहरीले पसल बन्द गर्न लगाएका थिए।

आफूहरुलाई घरधनीले भाडा माग्न थालेको र भाडा तिर्ने पैसा नभएको बेला पसल खोल्नुको विकल्प नभएको बताउन थालेका छन्। उनीहरुले पसल खोलेपछि आर्थिक रुपमा चलयामान हुन सहज रहेको भन्दै प्रहरीलाई पसल खोल्न दिन आग्रह गरेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख श्याम ज्ञावालीले सरकारले लकडाउन खुला गरिनसकेका कारण प्रहरीले पसल खोल्न दिने अवस्था नआएको बताएका छन्। उनका अनुसार मंगलबार मात्रै करिब ३ हजार सवारी साधान प्रहरीले नियन्त्रणमा लिएर राखेको छ। विना पास सडकमा दौडिएका सवारी साधानलाई नियन्त्रणमा लिएको एसएसपी ज्ञावालीले बताए।

आइतबार र सोमबार सुरक्षाकर्मीहरुले चेकजाँजलाई अहिल खुकुलो बनाएका कारण मंगलबार सर्वसाधारणहरु बाक्लो रुपमै बाहिर निस्केका थिए। मंगलबार सडकमा सवारी साधानको चाप बाक्लो देखिएपछि गृहमन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सडकमा बाक्लै परिचालन गरेको छ।

लडकडाउनको मोडालिटीमा फरक नआएको र पुरानै मोडालिटीमा लकडाउन भैरहेकाले पनि सुरक्षाकर्मीको उपस्थिति बाक्लै रहेको गृहमन्त्रालय स्रोतले जनाएको छ।व्यवशायीहरुले विहान बेलुका मिलाएर पसल खोल्दै आएका छन्। प्रहरीले पनि विहान बेलुका मिलाएर पसल खोल्न दिएको छ।

तर आइतबारदेखि भने व्यवशायीहरुले न्यूरोड, वानेश्वर, त्रिपुरेश्वर, कालिमाटी क्षेत्रका मूख्य बजारहरुमा पसल खोल्न थालेका थिए। न्यूरोडमा पसल खोलेका व्यवशायीहरुलाई प्रहरीले केही समयमै बन्द गराएको थियो भने लाजिम्पाट र चावहिल क्षेत्रमा प्रहरी र व्यवशायीबीच केही समय घम्साघम्सीनै भएको थियो।

सरकारले ३२ गतेसम्म लकडाउनलाई कायमै राखेको छ। गत १७ गते बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको समन्वयमा लकडाउनलाई खुकुलो पार्ने गरी कार्यायोजना ल्याउन उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समन्वय समितिलाई निर्दैशन दिएको थियो। तर समितिले मन्त्रिपरिषद बैठकमा त्यसको मोडालिटी पठाउन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *