अन्तरास्ट्रिय

जापानको संसदद्वारा ३ सय अर्ब डलरको आपतकालीन बजेट पारित

जापानको संसदले बुधबार करिब ३०० अर्ब अमेरिकी डलरको आपतकालीन बजेट पारित गरेको छ।

कोरोनाभाइरस महामारीबाट सिर्जित आर्थिक चुनौतीलाई ध्यान दिँदै विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था भएको जापान सरकारले उक्त बजेट प्रस्तुत गरेको थियो।

कोरोना महामारीका कारण जापानमा उपभोक्ताको खर्चमा कमी आएपछि मुलुकको अर्थतन्त्र नै मन्दीमा जाने खतरा रहेको छ।

सन् २०१५ यता पहिलोपटक जापानको अर्थतन्त्रमा मन्दी देखिन थालेको सरकारी र अन्य प्रक्षेपणले देखाएका छन्।

पछिल्लो बजेटमा साना व्यवसायीलाई अनुदानको व्यवस्था गर्नुका साथै स्वास्थ्यकर्मीलाई नगद वितरण पनि समेटिएको छ।

यो बजेट माथिल्लो सदनबाट पारित भएपछि यही शुक्रबारदेखि कार्यान्वयनमा जाने अपेक्षा गरिएको छ।

बजेटले वित्तीय उद्धार कार्यक्रम र संघर्षरत व्यवसायलाई ऋण उपलब्ध गराउनेतर्फ पनि ध्यान दिएको छ।

जापानमा मंगलबारसम्म कोरोनाभाइरसबाट १७ हजार २५१ जना संक्रमित हुनुका साथै ९१९ जनाको मृत्यु भएको छ।

तर देशभित्र कोरोनाभाइरसको संक्रमण बढेको भन्दै प्रधानमन्त्री शिन्जो आबेले आपतकालीन स्थितिको घोषणा गरेका थिए।

तर कोरोनाभाइरस प्रसारमा कमी आएसँगै गत महिना प्रधानमन्त्री आबेले उक्त घोषणा फिर्ता लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *