समाचार

मोटरसाइकलमा जोर–बिजोर : एकातिर नजर, अर्कोतिर निशाना

काठमाडौँ । सरकारले लकडाउन खुकुलो पार्ने निर्णयसँगै निजी सवारी साधनका लागि जारी गरेको जोर–बिजोर प्रणालीले प्रारम्भिक दिनमा अन्योल सिर्जना ग¥यो ।

मन्त्रिपरिषद बैठकले निजी सवारी साधनमा जोर–बिजोर लागू गर्ने निर्णय गरे पनि मोटरसाइकलमा उक्त नियम लागू हुने कि नहुने भनेर किटान गरेन । मन्त्रिपरिषदको निर्णयमा साइकल र मोटरसाइकलमा चालकमात्र रहने गरी सञ्चालनको व्यवस्था गरेको थियो भने निजी सवारी मोटरसाइकलमा जोर–बिजोर प्रणाली लागू हुने कि नहुने भन्नेबारे प्रष्ट नहुँदा स्थानीय प्रशासन, ट्राफिक प्रहरी र सर्वसाधारणमा समेत अन्योल देखियो ।

सर्वत्र अन्योलका बीच दुई दिनपछि सरकारले मोटरसाइकलमा पनि जोर–बिजोर प्रणाली लागू भएको प्रष्टिकरण दियो । सार्वजनिक यातायात सञ्चालन नभएको यो अवस्थामा कार्यालयहरु खोल्ने निर्णय भइसकेका कारण पनि यातायातका लागि मोटरसाइकल सञ्चालनले कर्मचारीहरु (सरकारी र निजी)लाई कार्यालय आउजाउ गर्न सहज देखिन्थ्यो । सेवाग्राहीलाई पनि कार्यालयसम्म पुगेर आफ्नो काम सम्पन्न गराउनका लागि मोटरसाइकल अहिलेको सन्दर्भमा सुरक्षित र भरपर्दो सवारी साधन बनेको छ । त्यसमा पनि मोटरसाइकलमा दुई जना बस्न नपाउने नियमले कोरोना संक्रमण सर्न सक्ने दृष्टिले जोखिमरहित तुल्याएकै थियो ।

तर पनि सरकारले मोटरसाइकललाई किन जोर–बिजोर प्रणालीमा सामेल ग¥यो ? आम सर्वसाधारणले बुझ्न नसक्नु स्वाभाविक हो ।

एकातिर नजर, अर्कोतिर निशाना

जानकारहरुका अनुसार अहिलेको सन्दर्भमा मोटरसाइकललाई जोर–बिजोर प्रणालीमा बाँधिरहनुको अर्थ नै छैन । कोरोना संक्रमण फैलनबाट रोक्ने उद्देश्यले अन्य व्यवस्था लागू गरिएकै छ । अहिलेको परिस्थितिमा त्यसै पनि एउटा मोटरसाइकल चालक अनावश्यक रुपमा बजार निस्कन हच्किन्छ । दैनिक ३/४ सयको हाराहारीमा कोरोना संक्रमित बढ्दै गएको अवस्थामा बजारमा अनावश्यक निस्कनु आफ्नो लागि आफैले जोखिम निम्त्याउनुजस्तै हो भन्नेमा सायदै कसैमा विमति होला ।

तर पनि सरकारले सडकमा मोटरसाइकलको चाप आधा घटाउने गरी जोर–बिजोर प्रणालीमा यसलाई आवद्ध गरेको छ । स्रोतका अनुसार सरकारले एकातिर नजर र अर्कोतिर निशाना लगाउँदै मोटरसाइकलमा पनि जोर–बिजोर प्रणाली लागू गरेको हो ।

पछिल्ला दिनमा देशव्यापी रुपमा सरकारविरुद्ध युवाहरु सडकमा निस्किएका छन् । मोटरसाइकल भनेकै युवाको रुचीको सवारी साधन हो । मोटरसाइकल चढ्ने आधाजसो उमेरसमूह युवा नै हुन्छ ।

सामाजिक सञ्जालमार्फत विरोध प्रदर्शनको कार्यक्रम तय गर्ने र मोटरसाइकल चढेर कार्यक्रमस्थलमा पुग्ने क्रम बढेपछि सरकारले आन्दोलनमा सहभागिता घटाउनका लागि मोटरसाइकलमा जोर–बिजोर सिस्टम लागू गरेको स्रोत बताउँछ ।

मोटरसाइकलमा जोर–बिजोर लागू गर्दाको फाइदा

सर्वसाधारणको हकमा मोटरसाइकलमा जोर–बिजोर प्रणालीले कुनै फाइदा गरेको छैन । बजार तथा कार्यालयहरु खुलेको अवस्थामा आवतजावतका लागि प्रभावकारी माध्यमका रुपमा रहेको मोटरसाइकलमा चालकमात्र सवार हुन पाउने शर्तले नै कोरोना संक्रमणको जोखिमलाई अन्त्य गर्दछ ।

त्यसैले कोरोना नियन्त्रणका लागि भनेर सरकारले मोटरसाइकलमा जोर–बिजोर प्रणाली लागू गरिरहनुको अर्थ नरहेको जानकारहरुको भनाइ छ ।

मोटरसाइकलमा जोर–बिजोर लागू गर्दा सरकारलाई भने तत्काल फाइदा नै देखिन्छ । सरकारविरोधी प्रदर्शनमा सहभागी हुने युवाको संख्या मोटरसाइकलमा जोर–बिजोर प्रणाली लागू गर्दा आधा कम हुने देखिन्छ ।

साविक बागमती अञ्चलमा दर्ता भएका मोटरसाइकलको संख्या ९ लाखभन्दा बढी छ । तीमध्ये ६ लाख मोटरसाइकल मात्र चालु अवस्थामा रहेछन् भने पनि जोर–बिजोर प्रणालीका कारण ३ लाख मोटरसाइकलले एक दिन सञ्चालनका लागि अनुमति पाउँछन् ।

सरकारले यसअघि नै मोटरसाइकलमा दुई जना सवार हुन नपाउने नियम लागू गरिसकेको छ । दुई जना सवार हुन पाउँदा युवाद्वारा गरिएको सरकारविरोधी प्रदर्शनमै सहभागिता बढ्छ भनेर सरकारले मोटरसाइकलमा दुई जना सवार हुन नपाउने नियम लागू गरेको बताइन्छ । अन्यथा, एउटै परिवारका सदस्य घरमा सँगै खान–बस्न मिल्ने तर मोटरसाइकलमा एकसाथ सवार हुन नपाउने भन्ने नियम आफैंमा कोरोना संक्रमण रोकथामका सन्दर्भमा व्यवहारिक देखिदैँन ।

कोरोना संक्रमण सर्न सक्ने सम्भावनाका सन्दर्भमा मोटरसाइकलको तुलनामा अन्य सवारी साधन प्रयोग गर्नु त्यति सुरक्षित देखिदैँन । तर मोटरसाइकलमै पनि सरकारले जोर–बिजोर प्रणाली लागू गर्दा दैनिक कार्यालय आउ–जाउ गर्नुपर्ने कर्मचारी, पसल खोल्न जानुपर्ने व्यापारी, विभिन्न निकायमा कामको सिलसिलामा जानुपर्ने सेवाग्राही मर्कामा पर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *