समाचार

‘गाली नगरिदिए हुन्थ्यो कसैले, हाम्रो पनि मनै त हो’

राधिका आलेले छ महिनाअघि बानेश्वरको गल्लीमा पानीपुरी-चटपटे पसल खोलेकी थिइन्। राम्रै चल्थ्यो। घर धान्न जेनतेन पुग्ने। अनि सुरू भयो लकडाउन। कोरोना डरसँगै दुई महिना कोठामै थुनिइन्।

श्रीमान, छोरा, भाइका छोरा र उनको गरी चार पेटले ढ्यांग्रो ठोक्न थालेपछि डर सायद भाग्यो! जुन गल्लीमा पसल चलाउँथिन्, त्यही गल्लीमा अचेल टाउकोमा डोको बोकेर हिँडिरहेकी भेटिन्छिन्, हरिया मकै बेच्न।

‘दुई महिना बढी कोठाभित्र बस्दा जोहो गरेको खाद्यान्न सकियो,’ राधिकाले सोचिन्, ‘यसरी कोठामै बस्ने हो भने पर्सिबाट त भोकै भइन्छ। चार जनाको परिवार कसरी पालिनू!’

पसलको सटर र कोठाको महिनामा १६ हजार भाडा तिर्नै पर्‍यो। घरबेटीले महिना नाघ्न दिने छैनन् भन्ने थाहा छ। भाडा ढिलो भएकै कारण यसअघि राधिकाको कोठा अँध्यारिएको छ। धारामा पानी बन्द भएको छ। चिन्ता खानेकुराको मात्रै होइन, जीवनचक्र चल्नु पनि पर्‍यो।

अनि त कोरोना महामारीबीच डोको बोकेर हरिया मकै बेच्न निस्किएकी हुन् राधिका। १५ दिनयता उनी बानेश्वर हुँदै मैतिदेवीका गल्लीसम्म मकै बेचिरहेकी छन्।

लगातार ३-४ बिहान देखेपछि मैले उनलाई सोधेँ- यसरी घरघरै घुमेर मकै बेच्न गाह्रो हुन्न?

‘भोकै बस्नुभन्दा त सजिलै छ। तै पनि भारी डोको बोकेर हिँड्न के सजिलो भन्नु है,’ भारी बोकेर हिँड्दा सुन्निएका खुट्टा देखाउँदै उनले भनिन्, ‘कहिले त चाँडै सकिन्छ। आज त १० बज्दासम्म आधा बाँकी छ। बेलुका कति खुट्टा दुख्ने हो।’

राधिकाको दैनिकी राती २ बजेबाट सुरू हुन्छ। उनी उठेर तीनकुनेसम्म मकै लिन जान्छिन्। पालोमा मकै थापेर उनीलगायत साथीहरू आ–आफ्नो गन्तव्यमा लाग्छन्। यात्राका दुःख अनेक छन्। भोकले मान्छेलाई अनेक दुःखसँग जुध्न सिकाउने कुरा राधिकाले बुझिसकिन्।

‘पहिले पो व्यापार सानै भए पनि आफैं मालिक थिएँ, अहिले त कसैले गन्दैनन् हेर्नुस्, सित्तैमा ल्याएको ठान्छन्,’ समस्यासँगै उनी समझदारी देखाउँदै भन्छिन्, ‘व्यापारीको सूत्र नै हाँसेर काम गर्ने रहेछ। ।’

बिहानैदेखि व्यापारमा लाग्ने राधिकाले आधा काम भ्याउँदा सहरबासीको उज्यालो भएकै हुँदैन। त्यसमाथि बन्दका बेला। घामपानी सहेर ‘मकै आयो’ भन्दै उनी घन्टौं चिच्याउँदै हिँड्छिन्। कष्ट सहे पनि स्थानीयका तिखा वचन सहन गाह्रो पर्ने उनी बताउँछिन्।

‘गाली गर्छन् नि धेरै। कोही कति कराको भन्छन्, कोही हल्ला नगर भन्छन्। अस्ति बानेश्वरमा एकजनाले त पानी खन्याइदिम् कि जान्छेस् भने, कति चित्त दुख्यो। यस्तो काम किन गरेछु भनेर रुन मन लाग्यो। फेरि बाबुहरू सम्झिएँ,’ राधिकाले बोली रोकियो।

एकछिनमा थपिन्, ‘जे गर्नु पापी पेटले गर्ने रहेछ। भोक लाग्दैनथ्यो भने घरैमा बस्नु हुन्थ्यो। यति हुँदा पनि चोरेर हिँडेको छैन। दुःख गरेरै खाएको हो।’

राधिकालाई कोरोना कहर कहिले सकिन्छ के अनुमान! बन्द रे! रोग आएको छ रे! महामारी फैलिएको छ रे! भनेकै भरमा उनले पसल खोलेको ६ महिनामै बन्द गर्नुपर्‍यो।

यसैबीच ‘कोही भोको रहन नपर्ने’ कुरा सुनियो। महानगरपालिकाले राहत बाँडेको खबर पाएर उनी पनि वडा कार्यालय पुगेकी रहिछन्। ठूलै आशले गएकी उनी एक पोको दाल-चामल र तेल बोकेर फर्किइन्।

‘५ किलो चामल, १ लिटर तेल र १ किलो दालले ४ जनाको परिवारलाई ४ महिना खान पुग्यो होला त?’ पुग्दैन भन्ने जान्दाजान्दै पनि जवाफ खोज्छिन् उनी, ‘खै कता पुगेको छ राहत, हामी त देखाउने अर्कैले खाने हो कि।’

राधिकाका चिनजानका केही साथी पहिल्यैदेखि सडकपेटीमा, ठेलामा मकै पोलेर बेच्थे। उनीहरूले पनि काँचा मकै बेच्न थालेका थिए। तिनैसँग हरगुहार गरेपछि राधिकालाई पनि मकै बेच्ने सुझाए। एउटा थोत्रो डोको र नाम्लो पनि थमाइदिए।

तीनकुनेमा मध्यरातमा गएर बोरा थाप्दा राम्ररी पर्‍यो भने १ सय ३० घोघाजति आउँछ। सबै बिक्दा बल्ल ४–५ सय नाफा उठ्छ। मकै राम्रो नपर्दा त योभन्दा कम।

‘यति दुःख गरेर काम गर्‍यो, १५ रुपैयाँको मकैमा पनि डिस्काउन्ट माग्छन्,’ उनी हाँस्दै भन्छिन्, ‘मलाई पो लाज लाग्छ। तै पनि सधैं लिनेलाई मिलाएर दिन्छु।’

सकेसम्म सबै मकै बेच्छिन् उनी। १२ बजिसक्दा पनि बिकेन भने बानेश्वरस्थित कोठा फर्किन्छिन्। दुई-चार वटा बाँकी भए खेर जाँदैन। दिउँसोको खाजा, उस्तै परे बेलुकीको छाक टर्छ।

‘दिउँसो पनि मकै बिक्दो हो नि। तर के गर्ने, बिहानको खाना नखाई खाली पेट डोको बोक्न सकिन्न,’ उनी भन्छिन्, ‘एक दिन मात्रै हिँडेर भएन, भोलि हिँड्न पनि आज आराम गर्नुपर्छ।’

राधिकाको जीवनमा कोरोना महामारी मात्रै समस्या होइन। केही महिनायता एकपछि अर्को समस्याका ताँती लागेका छन्।

वैदेशिक रोजगारीमा साउदी अरब गएका राधिकाका श्रीमानले पैसा पठाउँदासम्म परिवार राम्रै चलेको थियो। फिल्डमा खटिएका बेला लडेपछि श्रीमानको मेरुदण्ड भाँचियो। हात-खुट्टाले पनि त्यति काम गर्न सकेन। केही महिना साउदीमै बसेपछि श्रीमान खाली हात फर्किए। त्यसपछि परिवार धान्ने जिम्मा राधिकाको एक्लो काँधमा आइपुग्यो।

एउटा समस्या पार लागेकै थिएन, राधिकाका पनि दुवै आँखा धमिलिन थाले। शल्यक्रिया गर्नुपर्ने भयो।

‘दुखीलाई जता पनि दुःख। आत्तिएर पनि भएन। जसोतसो पार लगाइयो। अहिले राम्रो देख्छु,’ उनले सुनाइन्।

अस्पताल धाउँदा-धाउँदै थाकेका आले दम्पतीलाई कोरोना महामारीले थलै बसालेको छ। लकडाउन अघिसम्म श्रीमान साहुको बगैंचामा माली काम गर्थे। लकडाउनपछि मालिकले नआउन भनेको राधिकाले बताइन्।

‘उहाँ गाह्रो काम गर्न सक्नुहुन्न। लकडाउन भएपछि साहुले पनि बोलाएका छैनन्। बोलाउने हो कि होइन, न कोरोनाले साहुकै उठिबास लगाउने हो,’ राधिका सुनाउँछिन्, ‘यता पसल पनि बन्द भयो। दुवैको कमाइ नहुँदा काठमाडौंमा बाँच्नै गाह्रो हुँदो रहेछ।’

केही दिनयता राधिका मकै बेच्न हिँड्दा भाइका छोरालाई पनि लिएर हिँड्छन्। दस वर्षे भदा उनका साथी भएका छन्। आफ्नो छोरासँगै पढाउन काठमाडौं ल्याएको भदालाई अनलाइन कक्षा भर्ना गर्न नसकेको गुनासो छ।

‘दाजुभाइ मिलेर स्कुल जान्छन्, पढ्छन् भन्ने सोचेकी थिएँ, स्कुल पनि बन्द भयो। अनलाइन पढाउन पनि सकिनँ। एउटाले घरमा भात पकाउन सिक्दैछ, एउटा मकै बेच्ने पढिराछ,’ यति भनेर उनी लामै हाँसिन्।

कुराकानी सुनिरहेका राधिकाका साना साथी पनि हाँसे।

ठट्टामै भए पनि राधिकाले केटाकेटीका सिकाइका बारेमा सोचिन्। व्यवहारिक ज्ञान दिलाइरहेकी छिन्। तर अब फुपू-भदा मिलेर ‘मकै बेच्न सिक्ने’ केही दिन मात्र हो झैं राधिकालाई लागेको छ।

कोरोनाकै डरले पाँचखालबाट मकै ल्याउन नपाइने हल्ला छ। त्यसो त मकैको मौसम पनि सकिन लाग्यो। यो उनलाई पनि थाहै छ। दुई-चार दिनका लागि जोहो गर्न नपाउँदै मकै आउन छाडे कसरी छाक टार्ने, यसको उपाय भने खोज्न सकेकी छैनन्।

उनी अलमल हुँदै भन्छिन्, ‘खै के गर्ने हो, विजोग छ। छैन–छैन भन्नेहरूको पनि जिन्दगी चलेकै छ, हाम्रो मात्रै किन रोकिएला र! ज्यान सकुन्जेल गरेर खान्छु। बरू गरिबलाई कसैले पनि गाली नगरिदिए हुन्थ्यो, हाम्रो पनि मनै त हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *