अन्तरास्ट्रिय

चीन भारतको जमिन चाहँदैन, भारतलाई ‘ठूल्दाई’ को हो भन्ने देखाउन चाहन्छ: भारतीय पूर्वकमाण्डर

काठमाडौं। लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोलमा पछिल्लो समय भारत र चीनको सेनाबीच विवाद बढेको छ । सैनिकहरुको ज्यान नै जाने गरी यहाँ जसरी झडप भयो यो विगत ४५ वर्षकै सबैभन्दा अप्रिय घटना थियो । सीमामा चीन भारतीय क्षेत्रमा अघि बढ्न थालेपछि भारतभित्र चीनले भारतीय जमिन कब्जा गर्न चाहेको विश्लेषण भइरहेको छ । तर, भारतीय सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल एचएस पनागले भने यसको खण्डन गरेका छन् ।

भारतको ‘द प्रिन्ट’ अनलाइनमा एक लेख लेख्दै लेफ्टिनेन्ट जनरल पनागले चीनले भारतको जमिन कब्जा गर्न नचाहेको बताएका छन् । पनागले चीनको उद्देश्य आफ्नो सीमा विस्तार गर्नु नभइ भारतलाई ‘ठूल्दाई’को हो भन्ने देखाउनु भएको विश्लेषण गरेका छन् । पनागले लेखेका छन् ‘चीनको चाहना भारतले क्षेत्रीय र विश्वव्यापी दुवै रुपमा आफ्नो सहयोगी जुनियर पार्टनरको भूमिका खेलोस् भन्ने छ, प्रतिस्पर्धीको होइन ।’

पनागका अनुसार चीन यो क्षेत्रमा आफू अनुकूल शर्तमा पूर्वावस्था कायम गर्न चाहन्छ । चाइना–पाकिस्तान आर्थिक कोरिडोर लाइन अफ एक्चुअल कन्ट्रोलको छेउबाटै जान्छ । चीन यो राजमार्गमा भारतले कुनै रोकावट नल्याओस् भन्ने चाहन्छ । तर, यहाँ भारतले यो हाइवेमा अवरोध गर्न खोजेपछि चीनले भारतमाथि हावी हुने प्रयास गरेको हो । आर्थिक कोरिडोरको लागि बाटो खोल्न चीन भारत–पाकिस्तानबीच शान्ति स्थापनाको लागि मध्यस्थता समेत गर्ने पक्षमा छ ।

चीन भारतलाई फकाएरै आफ्नो बेल्ट एण्ड रोड परियोजनामा सहभागी गराउन चाहन्छ । एसियादेखि युरोपसम्म फैलिएको बेल्ट एण्ड रोडको संजालको एक हिस्सा चाइना–पाकिस्तान आर्थिक कोरिडोर पनि हो र चीन भारतलाई यसमा पनि फकाएरै सहभागी गराउने पक्षमा छ । अर्कोतर्फ चीन भारतलाई अमेरिका र यसका सहयोगीहरुसँग सहकार्य गर्नबाट रोक्न चाहन्छ किनकि अमेरिका र सहयोगीले इण्डो प्यासिफिक सागर र दक्षिण चीन सागरमा चीनको रणनीतिक उद्देश्य कमजोर पार्न चाहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *