समाचार स्वास्थ्य

के अब हामी कोरोनासँगै बाँच्नुपर्ने हो ?

कोराना अर्थात् कोभिड–१९ ले हामीलाई सचेत मात्र बनाएन स्वास्थ्यका विषयमा धेरै ज्ञान र केही दक्षता पनि दिएको छ । हात धुने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्नेजस्ता सावधानीका उपायका बारेमा हामीले बुझेर अपनाउन पनि थालेका छौं ।

चीनको वुहानमा डिसेम्बर २०१९ बाट सुरु भएको ‘कोरोना भाइरस’ अर्थात् कोभिड १९ को संक्रमणले ६ महिनामा नै संसारको एक करोड चार लाखभन्दा बढी मानिसलाई संक्रमित बनाइसकेको छ । ५ लाख ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

हामी यो तथ्याङ्कले आत्तिन्छौं, तर यही अवधिमा ५६ लाख ७० हजार संक्रमित निको भएर घर फर्किसकेको बिर्सन्छौं । आजको मितिमा पनि ४२ लाख ३५ हजार कोभिड १९ को संक्रमित रहेकोमा केबल १ प्रतिशत अर्थात् ५७ हजारमात्र जटिल अवस्थामा हुनु र ९२ प्रतिशत संक्रमित निको भएर घर फर्केको तथ्याङ्कले देखाएको छ ।

डा. बालकृष्ण शाह
नेपालमा १३,२४८ मा कोरोना संक्रमित छ । जसमा ३,१३४ निको भएर घर फर्किसकेका छन् । २९ जनाको मृत्यु भएको छ । मृत्युु भएकाहरूमा कोरोनासँगै अन्य जटिलताका कारणले मृत्युु भएको बुझिएको छ । अहिले नेपालमा दश हजार बढीमा संक्रमण छ । नेपालकै तथ्याङ्कले पनि कोरोना लाग्नेबित्तिकै मरिने वा आत्तिनुपर्ने भन्ने देखिँदैन ।

तर घण्टैपिच्छेको समाचार अपडेट अनि विशेषगरी कोरोनाको कारण मृत्यु हुनेको संख्यालाई मुख्य प्राथमिकतामा राखेर समाचारहरू सम्प्रेषण गरिँदा सर्वसाधारणमा त्रासको वातावरण सिर्जना भएको छ । सामाजिक सञ्जालमा पनि यस्ता स्टाटसहरू मात्र एकोहोरो आइरहँदा ‘कोरोनाले मर्नु कहिले कहिले तर डर र भोकले मर्नु अहिले’ जस्तो भएका छौं ।

अहिलेको अवस्थामा व्यापार, व्यवसाय, उद्योगधन्दा बन्द छ । यसका कारणले सामाजिक, मानसिक, व्यावहारिक र आर्थिक समस्याहरू थपिएका छन् । थपिएका समस्याहरू तथा चुनौतीहरू समाधान गर्न नसकिएकाले एकातिर तनाव छ भने अर्कोतिर हाम्रो मनोबल खस्किँदै गएको छ ।

हामीले मनमा पालेको डरले न त कोरोनाको संक्रमण फैलिनबाट रोकिन्छ न त हाम्रो घर व्यवहार नै चल्छ । कोरोना वा कोभिड १९ सँग डराएर यसको उपचार पद्धतिको विकास हुने वा उपचार हुने पनि होइन । यसका उपचारमा व्यापक सुधार भएको छ । त्यसैले त कुनैबेला २१ प्रतिशतभन्दा बढी मृत्युदर रहेकोमा अहिलेको दर ८ प्रतिशत र अझ एक प्रतिशतमात्र जटिल अवस्थामा रहेको तथ्याङ्क आएको छ । कोभिड–१९ को संक्रमित हुनेबित्तिकै मरिँदो रहेनछ भन्ने कुरा त्यही तथ्याङ्कबाट प्रष्ट छ ।

त्यसैले डराउनुको कुनै अर्थ छैन । तर सचेत हुनुपर्छ र सावधानी अपनाउँदै आफ्नो काममा फर्किनुको अर्को विकल्प छैन । नेपालमा अहिले पनि कोरोना क्वारेन्टिनमा नै सीमित छ र यो राम्रो पक्ष हो । अहिले जनता सचेत भएका छन् । बाहिरबाट वा संक्रमित क्षेत्रबाट आउनेहरू क्वरेन्टिनमा बस्न थालेका छन् । यसरी नै सचेत भए समुदायमा कोरोना पक्कै पुग्दैन । अब बाहिरबाट आउनेको संख्यामा कमी आउने भएकाले क्वारेन्टिनको व्यवस्थापनमा काँही सहज अवश्य हुन्छ होला । अब सामुदायिक विद्यालयका भवनहरूको विकल्पको खोजी पनि गरिनुपर्छ ।

कोरोना अहिलेको अवस्थामा हराउँदैन र हामी घरभित्रै बसिरहन पनि सक्दैनौं । त्यसैले कोरोना र हामी एकसाथ बाँच्नुपर्छ । यसका लागि आवश्यक सावधानी अपनाउनुपर्छ । कोरोनासँग आतङ्कित हुनुको अर्थ छैन, सर्तक हुनु राम्रो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *