समाचार

सलह कीरा वडामा बुझाए ललितपुर महानगरले पनि पैसा दिने

काठमाडौं उपत्यकामा पनि सलह कीरा प्रवेश गरिसकेको छ। व्यवस्थापनस्वरुप ललितपुर महानगरपालिकाले सलह समाएर वडामा बुझाएबापत पैसा दिने घोषणा गरेको छ।

बुधबार महानगरपालिकाले विज्ञप्ति जारी गर्दै सलह समाएर वडा कार्यालयमा बुझाएवापत रकम उपलब्ध गराउने घोषणा गरेको हो।

‘आधिकारिक रूपमै कति रकम दिने हो भन्ने छैन तर प्रतिकेजी २० रूपैयाँको दरले दिने भनिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले भने।

त्यस्तै सलहको झुण्ड कतै देखिएमा सम्बन्धित स्थानीय तहको कृषि विकास शाखा, वडा र कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ।

महानगरले सलह मार्न विषादीको प्रयोग गर्न समेत अनुरोध गरेको छ। ३ एमएल मालाभियन विषादीलाई १ लिटर पानीमा वा २ एमएल क्लोरोपाइरिफस नामक विषादीलाई एक लिटर पानीमा घोली सलहमा छर्किँदा मर्ने बताइएको छ।

धानबालीको बिउ, तरकारी तथा अन्य बाली बचाउन झुल वा जालीले छोपेर सुरक्षित गर्न सकिने महानगरको सुझाव छ। त्यस्तै ठूलो ध्वनी बजाएर पनि धपाउन सकिने महानगरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *