समाचार

साउन ७ गतेसम्म हवाई उडान र सीमा नाका बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने र अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले असार १५ सम्मका लागि जारी गरिएको सो प्रावधान साउन ७ गतेसम्मका लागि बढाएको हो ।

अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले भारतसँगको सीमा बन्द गरिएपनि खाद्यबस्तु तथा मालवाहक ढुवानीलाई भने सहज गरिने जानकारी गराएका छन् । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत बन्द गर्दै आएको छ ।

ओली–प्रचण्डबीच वार्ताका लागि एक दिनको समय, स्थायी समिति शनिबारसम्मका लागि स्थगित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक शनिबारसम्मको लागि स्थगित भएको छ । पार्टीभित्र बढ्दो विवादका कारण अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली बैठकमा सहभागी नै नहुने अवस्था सिर्जना भएपछि बैठक शनिबारसम्मको लागि स्थगित गरिएको हो ।

कार्यकारी अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेर फर्किएपछि ओलीबिनै बसेको स्थायी समिति बैठकले ओलीसँग वार्ता गरेर सहमति जुटाउने निष्कर्ष निकालेको छ । त्यसका लागि शुक्रबार दिनभर ओली र प्रचण्डबीच छलफल गरेर सहमति जुटाउने जिम्मेवारी बैठकले दिएको छ।

ओली बिनै बसेको बैठकमा प्रचण्डले पछिल्लो विकसित घटनाक्रमका विषयमा ब्रिफिङ गर्दै अब कसरी अघि बढ्ने भन्नेबारे राय मागेका थिए । त्यसपछि बैठकले ओली र प्रचण्डलाई सहमति जुटाउन एक दिनको समय प्रदान गरेको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले एकता गम्भीर संकटमा परेकाले त्यसबाट जोगउन भोलि सहमति जुटाउन समय दिइएको र पर्सी बिहान ११ बजे बैठक बस्ने बताए ।

गत आइतबार प्रधानमन्त्रीले आफ्नो सरकार ढाल्न भारत र पार्टीबाट चलखेल भएको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद चर्किएको हो । विवादकै क्रममा ओलीले बिना परामर्श संघीय संसद अधिवेशन अन्य गर्ने निर्णय लिएपछि विवाद थप उग्र बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *