समाचार

सार्वजनिक सवारीसाधन नचल्दा यात्रुलाई सास्ती

सञ्चिता घिमिरे । काठमाडौँ, २२ असार (रासस) ः हरिसिद्धि बस्दै आउनुभएका महेश श्रेष्ठलाई हिजोआज मङ्गलबजारस्थित पसल आउन जान गाह्रो भएको छ । झण्डै पाँच किमी दूरीमा कहिले हिँडेरै त कहिले कसैले रोकिहाल्दा मोटरसाइकल वा गाडीमा ओहोरदोहोर गरेको उहाँले बताउनुभयो । कोरोनाको त्रासका कारण धेरैले मोटरसाइकल वा गाडी रोक्नै खोज्दैनन् ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीका कारण लामो समय थुनिएको पसल अहिले खोल्नुपर्ने बाध्यता रहेको श्रेष्ठले बताउनुभयो । सामान्य अवस्थामा सार्वजनिक सवारीसाधन पर्याप्त चल्ने हुँदा गाह्रो नभए पनि अहिले उहाँलाई आफ्नो निजी सवारीसाधन आवश्यकता महसुस भएको छ । सामान्य अवस्थामा पसलमा उहाँ र श्रीमती बस्ने गर्नुभएको थियो ।

अहिले व्यापार कम भएकाले उहाँ मात्रै जानुहुन्छ । पाँच वर्ष पहिले नाकाबन्दीका समयमा पनि सार्वजनिक सवारीसाधन चढ्नै मुस्किल थियो । तर त्यतिबेला जो कोहीले रोक्ने गरेको उहाँले बताउनुभयो । अहिले आफूलाई पनि कोरोना लागेका मान्छे हो कि भन्ने आफैँलाई पनि डर हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हत्तपत्त कसैले रोक्नै नखोज्ने भएकाले हिँडेरै आउने जाने गरेको छु ।”

महेशजस्तै सार्वजनिक सवारीसाधन नचल्दा जोरपाटीकी अञ्जना सुवेदीलाई पनि गाह्रो भएको छ । अनामनगरस्थित एउटा निजी कम्पनीमा कार्यरत उहाँ सामान्य अवस्थामा माइक्रोमा आउने जाने गर्नुभएको थियो । अहिले बिहान श्रीमान्सँग आउने र फर्कदा चाबहिलमा रहेको श्रीमान्को कार्यालयसम्म हिँडेरै जानुहुन्छ ।

आफ्नो ५ बजे र श्रीमान्को ६ः३० मा छुट्ने भएकाले बस्नुभन्दा हिँडेरै जाने गरेको उहाँले बताउनुभयो । कार्यालय नजाँदा तलब काटिने भएकाले आवतजावत गाह्रो भए पनि दैनिक कार्यालय जाने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तीन महिनाको तलब आएन, अहिले पनि काम नगरे के खानु छ र ?”

गत चैतदेखि जारी बन्दाबन्दी खुकुलो गरेसँगै काठमाडौँ उपत्यकामा अधिकांश कार्यालय र पसल खुलेका छन् । तर यातायातका साधन सहजरुपमा नचल्दा उपत्यकावासीलाई ओहोरदोहोरमा कठिनाइ भएको छ ।

आफ्नो निजी सवारीसाधन नभएर सार्वजनिक यातायातमै भर परेका नागरिक अहिले कष्टकर यात्रा गर्न बाध्य भएका छन् । कतिपय घण्टौँ हिँडेर गन्तव्य पुग्छन् । कतिपयले अरुसँग लिफ्ट माग्छन् । यातायातका साधन नचल्द कतिपय अहिले पनि काममा जान नसकेर घरमै बस्न बाध्य भएका छन् ।

यातायात क्षेत्रका अभियानकर्मी राम थापा सरकारले कि पहिलेजस्तै बन्दाबन्दी जारी राख्नुपर्ने कि निजी जस्तै सार्वजनिक यातायात खुला गर्नुपर्ने बताउनुभयो । सार्वजनिक यातायातका साधन नचल्दा उपत्यकामा मध्यम र निम्न वर्गका मानिसले कष्टकर यात्रा गर्नुपरेको उहाँले बताउनुभयो ।

यात्रुलाई समस्या हुँदाहुँदै पनि सरकारले पर्याप्त तयारी गरेर मात्रै सवारीसाधन खुलाउनुपर्ने उहाँको भनाइ छ । सरकारले व्यवसायीको दबाबमा अरु व्यवसाय खोल्ने र यातायात व्यवसायीको दबाबकै कारणले मात्रै तयारी नगरी सार्वजनिक यातायात खुलाउन नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सार्वजनिक यातायात खुलाउँदा आमनागरिकको स्वास्थ्यमा असर पुग्छ पुग्दैन विचार गरेर र सावधानी अपनाएर खोल्नुपर्छ ।”

सार्वजनिक यातायात सञ्चालन नहुँदा एकातिर व्यवसायी, यातायातका कर्मचारी र आश्रित परिवारलाई आर्थिक समस्या भएको र अर्कातिर यात्रुलाई गाह्रो भएको राष्ट्रिय यातायात व्यवसायी महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो । चैत ११ मा सरकारले बन्दाबन्दी जारी गरेसँगै केही मालवाहक सवारीसाधन सञ्चालन भए पनि यात्रुवाहक सवारीसाधन ठप्प छन् । सवारीसाधन तीन महिनाभन्दा बढी समयदेखि थन्किएकाले मर्मतमै धेरै खर्च लाग्ने उहाँले बताउनुभयो ।

सवारीसाधन नचलेको समयमा बैंक किस्ता, सवारीसाधनका विभिन्न करलगायतमा सहुलियको माग महासङ्घले गर्दै आएको छ । सवारीसाधन ग्यारेजबाट सडकसम्म आउने वातावरण सरकारले बनाउनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “हामी पनि सवारीसाधन सधैँ थन्काउन होइन सडकमा गुडाउनै चाहन्छौँ तर त्यसका लागि सरकारले चालक, सहचालकको स्वास्थ्य र हाम्रो लगानीको सुनिश्चित गर्नुपर्छ ।”

यातायात व्यवस्था विभागले स्वास्थ्य सावधानीसहित सार्वजनिक सवारीसाधन सञ्चालनका लागि खाकासहितको कार्यविधि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरेको छ । कार्यविधिमा सिट क्षमताभन्दा आधा मात्रै यात्रु राख्नुपर्ने, आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापनलगायतका विषय समावेश छन् । सवारीसाधन कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो ।

सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय मन्त्रिपरिषद्को बैठकले गर्ने भए पनि निर्णयपछि सवारीसाधन सञ्चालनका लागि तयारी अवस्थामा रहन व्यवसायीलाई भनिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आफ्नो सवारीसाधन मर्मत गरेर चल्नसक्ने अवस्थामा राख्नु उहाँहरुको कर्तव्य हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *