समाचार

एभोकाडो खेती

नेपालीमा घिउ फल भनिने एभोकाडो भलै २०२८ सालमा नेपाल भित्रिएको भने पनि हालसम्म नेपालमा सर्वपरिचित फल होइन । धनकुटाको पाख्रीबासमा कृषि अनुसन्धान केन्द्र खोल्नुभन्दा अघि नै २०२८ सालमा सम्भाव्यता अध्ययनको क्रममा ब्रिटिसहरूले यसलाई नेपाल भित्र्याएका हुन् ।

त्यही कारण सुरुमा धनकुटामै धेरै एभोकाडो फलाइयो र यहीँबाट यसको प्रचार-प्रसार थालियो । यो गुणकारी फललाई देशभर फैलाउन शिव उदास, भरत जोशी, गोपाल वाग्ले, डा. दामोदार वाग्ले, भरत गुरागाईंलगायतका धनकुटेहरू लागिपरेका छन् ।

संस्थागत रूपमा धनकुटा नगरपालिकाले २०७५ असारमा नगरलाई एभोकाडोको राजधानी घोषणा गरेर यसको व्यावसायिक खेतीलाई प्रोत्साहन गरेको छ । नगरपालिकाले व्यावसायिक एभोकाडो खेतीलाई प्रोत्साहन गर्न आधाररेखा सर्वेक्षण पनि गर्‍यो । त्यसपछि एभोकाडो राजधानी घोषणा, एभोकाडोको प्रतिरूप स्थापना, महोत्सव आयोजना र नर्सरी सुधार कार्यक्रमलगायतका काम गरेको छ ।

उत्साहजनक अभियान

सर्वेक्षणले धनकुटा नगरपालिकामा फल्दै गरेको एभोकाडोको बोट संख्या तीन हजार ७६४ र हुर्केका तर फल्न बाँकी रहेका आठ हजार ५९४ बोट रहेको देखाएको थियो । त्यस्तै, २०७४ सालमा नगरपालिकाभित्र ७७ हजार ७५० किलो एभोकाडो उत्पादन भएको पाइएको थियो ।

त्यसवर्ष एभोकाडोका १४ हजार नयाँ बिरुवा रोपिएको, पाँचवटा नर्सरीले बिरुवा उत्पादन गरिरहेको, एकहजार ९६२ परिवारले नयाँ बिरुवा रोपेको र पुराना बोटहरूबाट प्रतिकिलो सरदर ३० रुपियाँमा एभोकाडो बेचेको सर्वेक्षणले देखाएको थियो ।

धनकुटा नगरपालिकाले गरेको एभोकाडो गतिविधिले यो फलप्रति देशव्यापी आकर्षण बढेको छ । नगरपालिकाभित्र चाहिँ कति प्रभाव पर्‍यो त भन्ने बुझ्न हालसालै गरिएको अध्ययनमा फलेको एभोकाडोको बोट संख्या १२ हजार र हुर्केको तर फल्न बाँकी १४ हजार १२३ पुगेको पाइएको छ ।

त्यसैगरी, एभोकाडो उत्पादन क्षमता गत दुईवर्षमा दुईलाख ८४ हजार किलो पुगेको, एक लाख चारहजार ५०० नयाँ बिरुवा रोपिएको र नर्सरी संख्या १०५ पुगेको पाइएको छ । रोपिएका कुल बिरुवा संख्या २६ हजार ३५८ बाट बढेर एकलाख ३० हजार ८५८ वटा पुगेको छ ।

त्यस्तै, एभोकाडोले ढाकेको जमिन २०२ हेक्टरबाट बढेर एक हजार तीन हेक्टर र यसको खेतीमा संलग्न परिवार संख्या १९ सय ६२ बाट बढेर छ हजार ७०० पुगेको छ । एभोकाडो फलको सरदर प्रतिकिलो मूल्य ३० रूपैयाँबाट बढेर एक सय रूपैयाँ पुगेको छ र एभोकाडोबाट मात्रै आम्दानी हुने रकम २३ लाख ३२ हजार ५०० बाट बढेर चार करोड २६ हजार पुगेको अवस्था देखियो ।

धनकुटा नगरपालिकाको एभोकाडो पकेट क्षेत्र घोषणाको प्रभाव अन्य जिल्लाहरूमा पनि पुगेको नयाँ-पुराना गरी १०५ वटा नर्सरीको भ्याई-नभ्याईले पनि देखाउँछ । गत जेठदेखि असारको पहिलो हप्तासम्म उनीहरूले १० करोड रूपैयाँभन्दा बढीको बिरुवा बिक्री गरेको मोटामोटी अनुमान छ । धनकुटाका एभोकाडोको बिरुवा सातवटै प्रदेश पुगिरहेको छ । सबैभन्दा बढी माग भने धनकुटा जिल्लाकै अन्य स्थानीय तहहरूमा छ ।

धनकुटामा तयार पारिएको एभोकाडोका बिरुवा पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म पुगेको छ । मध्यपहाडी क्षेत्रमा एभोकाडोको विस्तार लोभलाग्दो छ । त्यसैले एभोकाडोलाई नेपालको उदीयमान फलको रूपमा लिन सकिन्छ । यो अवस्थाले धनकुटाका एभोकाडो कृषकलाई निकै उत्साही बनाएको छ ।

एभोकाडो कृषकको चिन्ता

नेपाली कृषिमा दिगो र प्रभावकारी तरिकाले कार्यहरू नभएकाले केही नयाँपनको काम हुन लाग्दा त्यसमा भ्रमित हुनुपर्ने अवस्था सिर्जना भइदिन्छ । जस्तो- वर्षेनी हुने गोलभेडा फेरबदल, अदुवा कहिले २०० रुपियाँ किलो जाने कहिले बिक्दै नबिक्ने । अलैँचीले कहिले प्रतिमन एक लाख २० हजार पाउने कहिले १५ हजार रूपैयाँमा खुम्चिने । यो कारणले गर्दा अहिले एभोकाडो रोपिरहेका किसानमा भोलिको चिन्ता छ ।

व्यावसायिक विकासका लागि अधिक उत्पादन हुनैपर्छ । भोलिका दिनमा अधिक उत्पादन गरेको एभोकाडोले गोलभेडाकै नियती भोग्छ कि भन्ने चिन्ता अस्वाभाविक पनि देखिन्न । कृषकस्तरमा त्यही त्रास पाइन्छ ।

एभोकाडो ग्राफ्टिङमा उच्च सफलता दर हासिल नभइसकेका कारण अधिकांश बिरुवा कोयाबाटै उमार्ने गरिएको छ । अहिले धमाधम रोपिँदै गरेका ती बिरुवा फल्न थालेपछि कहाँ लगेर बेच्ने भन्ने कृषकको प्रश्नले उत्तर पाइरहेको छैन
अहिले नेपाली एभोकाडोको आन्तरिक बजार २० देखि २५ लाख किलो रहेको देेखिन्छ । बाहिरबाट वार्षिक २० करोड रूपैयाँ बराबरको एभोकाडो आयात भइरहेको तथ्यांकले देखाउँछ । जम्मा २ प्रतिशत नेपालीले मात्र एभोकाडोको स्वाद लिइरहेको अवस्थालाई समेत हेर्दा नेपालमा यसको ठूलो बजार रहेको देखिन्छ ।

एभोकाडो ग्राफ्टिङमा उच्च सफलता दर हाँसिल नभइसकेका कारण अधिकांश बिरुवा कोयाबाटै उमार्ने गरिएको छ । अहिले धमाधम रोपिँदै गरेका ती बिरुवा अबको तीन-चार वर्षमा फल्न थालेपछि कहाँ लगेर बेच्ने, राख्ने भन्ने कृषकको प्रश्नले उत्तर पाइरहेको छैन ।

बडेमाको उत्पादन भएपछि आन्तरिक बजारमा खपत बढाउने, विदेश निर्यात गर्ने र तेस्रो विकल्पमा एभोकाडोमा आधारित उद्योगहरू खोल्ने हो । यसमा दुई मत नहोला, तर यी कामको थालनी सरकारको नीति निर्माण तहबाटै हुनुपर्छ ।

अहिले नेपालमा व्यापक रूपमा एभोकाडो लगाइँदै छ । योसँगै किसानलाई रोग-किराको चिन्ता पनि छ । यी विषयमा केन्द्रदेखि स्थानीय सरकारसम्मले आजैबाट सोच्न थाल्नुपर्छ । नत्र जनताको करबाट जम्मा भएको धनराशि खर्च गरेर बनाइएको सरकारहरूको काम के ?

एभोकाडोका चुनौतीहरू

किसानहरूले नेपालमा व्यावसायिक बनाउँदै गरेको एभोकाडो खेतीका धेरै चुनौती छन् । किसानले एभोकाडोका प्रजातिहरू नचिनी धमाधम रोपिरहेका छन् । यसको प्रचलित राम्रा प्रजातिहरू ह्यास, ल्याम्ब ह्यास, बेकन, रसेल, पिंकरटन आदि रहे पनि मुख्यतः म्याक्सिकन, अफ्रिकन र ग्वाटेमालान भनेर चिनाउँदा सजिलो हुन्छ ।

प्रजातीय विशेषता र परागसेचनमा शुद्धता नभए यसको व्यावसायिक उत्पादनमा असर पर्छ । अहिले त एभोकाडोको बिरुवा उत्पादन नै भगवान् भरोसामा जारी छ । पाएसम्मका कोया जम्मा गरेर बिरुवा उमार्ने, बिक्रीवितरण गर्ने काम समेत भइरहेको छ । ती सबै कोया राम्ररी छिप्पिएको फलको पक्कै होइन । अर्थात्, नेपालमा एभोकाडोको राम्रो बिरुवा स्रोतको अभाव सबैभन्दा ठूलो चुनौती बनेको छ । यसबारे सरकारको कृषि अनुसन्धान परिषद् (नार्क) बेखबर जस्तै देखिन्छ ।

यता किसानहरू एभोकाडो खेतीमा लागिसकेका छन् । यो अवस्थामा गहिरोसँग एभोकाडो चिनेका एकजना पनि प्राविधिक छैनन् । अन्य फलफूलका प्राविधिकबाट काम चलाउनुपर्ने अवस्था छ । यसमा तीनवटै तहका सरकारहरूको ध्यान जानु अत्यावश्यक भएको छ ।

कलिलो फलको कोयाबाट उमारिएका एभोकाडोका बिरुवा रोप्दा सानैमा मर्ने, हुर्के पनि राम्ररी फल नलाग्ने हुन्छ । यो निकै ठूलो चुनौती हो । अर्को चुनौती, जति सस्तो पायो उति धेरै बिरुवा किन्ने गरेको देखिन्छ । जबकि, व्यावसायिक उत्पादनका लागि बिरुवा नै उन्नत चाहिन्छ ।

एभोकाडोमा अवसरै अवसर

एभोकाडो हर दृष्टिले महत्वपूर्ण फलफूल बाली हो । भोक र रोग प्रतिरोधको दृष्टिले यसको फाइदा गनिसाध्य छैनभन्दा हुन्छ । यसको रुख तीनतले खेतीका लागि पनि उपयुक्त छ । एभोकाडो मुनि कफी, अदुवा, खुर्सानी, बेसार, जडीबुटीलगायतको खेती गर्न सकिन्छ ।

एभोकाडो बातावरणीय हिसाबमा समेत निकै फाइदाजनक छ । बाह्रै महिना हरियो रहने भएकोले यसलाई कार्बन नियन्त्रणमा निकै फाइदाजनक मानिन्छ । एभोकाडो धेरै उत्पादन भए क्रिम, बटर, साबुन, तेल, मायोनेज सस, वाइनलगायतका भ्यालु एडेड चिजहरू बन्छ ।

अहिले त बजारले ताजा एभोकाडो फलकै माग धान्न सकेको छैन । संसारभर यसको लोकप्रियता आकाशिँदो छ । एभोकाडो खेती पनि अरू बालीको तुलनामा निकै सजिलो र लागत कम हुने भएकोले कृषकका लागि पनि यो निकै फाइदाजनक साबित भएको छ ।

नेपालमा फैलिँदै गरेको यो बालीले नयाँ प्राविधिक उत्पादनको आहृवान गरिरहेको छ । एभोकाडो खेती पद्धतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने सबैलाई अवसर नै अवसर छ ।

निर्यात हुन सक्ने गतिलो फल

धनकुटा नगरपालिकाबाट फैलिएको एभोकाडो अभियान अब पछाडि र्फकनेवाला देखिँदैन । अब यसको व्यावसायिक खेतीमा चुनौतीहरू आइलाग्ने निश्चित छ । कृषिको महिमागान गरिरहेका तीनवटै तहका सरकारले यता पनि ध्यान दिन अति जरुरी भइसकेको छ ।

एभोकाडोको व्यावसायिक खेतीका लागि प्राविधिक जनशक्ति उत्पादन अहिलेको प्रमुख आवश्यकता हो । एभोकाडो अभियान थालेको धनकुटाले यस विषयमा बढी सोच्नुपर्छ । भोलिका दिनमा एभोकाडो प्रशोधन उद्योग स्थापना, शीत भण्डार निर्माण, बाहृय बजारको खोजीलगायतका विषयमा केन्द्र र प्रदेश सरकारहरूले काम गर्न थाल्नुपर्छ ।

उत्पादनमा लगानी भने कृषक स्वयंले गर्नुपर्छ । ५० लाखको अलैँची र १० लाखको अदुवा बेचेर घरघडेरी जोढ्ने किसानले ५० हजारमा आउने ग्रेण्डर मेसिन नकिनेर सरकारप्रति असन्तुष्टि पोख्ने खालको वातावरण एभोकाडो खेतीमा सिर्जना गरिनुहुँदैन ।

नेपालमा एभोकाडोले विदेश निर्यात हुने सबभन्दा गतिलो फल हुने सम्भावना बोकेको छ । यसमा किसानदेखि केन्द्रीय सरकारसम्म गम्भीर भएर लाग्नु आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *