समाचार

पृथ्वी राजमार्गमा खुल्यो चार्जिङ स्टेशन, सञ्चालक भन्छन्- सरकारले बिजुली गाडीको फाइदा बुझेन

पृथ्वी राजमार्गको डुम्रे स्थित कुवेर आयल स्टोर्समा ‘गाडी चार्ज गर्न पाइन्छ?’ सोध्न धेरै मानिस आए। विजुली गाडी चढ्नेहरुले नै यसरी आयल स्टोर्समा गाडी चार्ज गर्न चाहेका थिए।

राजमार्गमा विजुली गाडीको गति देखेर आयल स्टोर्सका संचालक मदन अधिकारीले आयल स्टोर्समै सार्वजनिक/निजी साझेदारीमा बिजुली गाडीको ‘चार्जिङ स्टेशन’ बनाएका छन्।

चार्जिङ स्टेशन बनाउन गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संघीय सशर्त अनुदान मार्फत ५ लाख रुपैया अनुदान दिएको थियो।

यस्तै, बन्दिपुर गाउँपालिकाले १ लाख र संचालकले ४ लाख गरी १० लाख रुपैयाँ लागतमा चार्जिङ स्टेशन बनाएको अधिकारीले बताए।

अहिले चार्जिङ स्टेशनबाट एक पटकमा एउटा गाडी मात्र चार्ज गर्न सकिन्छ। गाडीको ब्याट्रीको अबस्था हेरी फुलचार्ज गर्न २ घण्टासम्म चार्ज गर्नुपर्छ।

सडकमा बिजुली गाडीको चाप बढ्न थाल्यो भने धेरै गाडी चार्ज गर्न मिल्ने गरी विस्तार गर्ने उनले बताए। अब पृथ्वी राजमार्गबाट पोखरा लगायत गण्डकीका जिल्लामा गुड्ने बिजुली गाडीलाई चार्ज गर्न समस्या नपर्ने अधिकारीले बताए।

बिजुली गाडी चार्ज गर्दा कति शुल्क लिने भन्नेबारे निर्णय गर्न बाँकी रहेको उनको भनाई छ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतको डिभिजन बन कार्यालय तनहुँसँग बसेर शुल्क निर्धारण गर्न उनको योजना छ।

तनहुँका बन प्रमुख केदार बरालले बन्दिपुर गाउँपालिकालाई पनि आम्दानीको नियमित स्रोत हुने गरी शुल्क निर्धारण गर्ने योजना रहेको बताए।

‘चार्जिङ स्टेशन बनाउन गाउँपालिका र प्रदेशले अनुदान सहयोग गरेको छ, बरालले सेतोपाटीलाई भने, ‘विद्युत प्राधिकरणसँगको परामर्श र अन्यत्रका व्यवस्था हेरेर चार्जिङ शुल्क निर्धारण गर्छौ।’

उनका अनुसार पृथ्वी राजमार्गमै पहिलो पटक चार्जिङ स्टेशन बनेको हो।

विगत एक बर्ष यता सडकमा बिजुली गाडी देख्न पाएपनि सरकारले लिएको पछिल्लो पटकको नीतिले भने बिजुली गाडी बढ्नेमा अधिकारी ढुक्क छैनन्। तर बिजुली गाडीको विकल्पमा नगई सुख नहुने उनको बझाई छ।

सरकारले आगामी बर्षको बजेट मार्फत बिजुली गाडी खरिद गर्दा तिर्नुपर्ने कर बढाएको छ। यस आर्थिक बर्षमा छुट दिएका शीर्षकमा समेत सरकारले कर लिने गरी बजेट ल्याएको छ।

सरकारले लिएको यही नीतिले बिजुली गाडी आयात गर्दा नै निकै महँगो पर्ने र उपभोक्ताले बिजुली गाडी खरिद गर्ने सम्भावना कम रहेको उनले बताए।

सरकारले अहिले बिजुली गाडीलाई कर बढाएपनि भविश्यमा भने छुट हुने उनको विश्वास छ। ‘देशमै उत्पादन भएको बिजुलीको खपत बढाउन र वातावरण जोगाउन पनि बिजुली गाडीमा जानैपर्छ, उनले सेतोपाटीलाई भने, अहिले कर लगाएपनि एक दिन छोड्नैपर्छ।’

पेट्रोल पम्प संचालक अधिकारी २० बर्ष नर्वे बसेर नेपाल फर्किएका हुन्। उनले विश्वमै बिजुली गाडीको ‘ट्रेण्ड’ चलेको भन्दै नेपालमा पनि चल्ने बताए।

तेल आयात गर्दा नेपाललाई व्यापार घाटा हुने भन्दै उनले बिजुली गाडीबाट देशमै उत्पादन भएको बिजुलीको उपयोग र तेल आयात घट्ने भएकाले पनि देशलाई दोहोरो फाइदा हुने उनको भनाई छ।

‘सरकारको बुद्धि भएको भए बिजुली गाडीलाई कर बढ्दैनथ्यो’, उनले भने, ‘जसले पनि बुझ्ने बिजुली गाडीको फाइदा सरकारले नै बुझेन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *