समाचार

रातो मत्स्येन्द्रनाथ : रथ ठडियो, यात्रा अन्योलमा

२९ असार, काठमाडौं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ निर्माणको काम सुरु भएकै थिएन । गत चैत २८ गते मत्स्येन्द्रनाथलाई स्नान गराइसकेपछि एकाएक रथ निर्माणको काम अनिश्चितकालका लागि स्थगित गरियो । सामान्य अवस्थामा भएको भए मध्य वैशाखसम्म रथयात्राको सबै काम सम्पन्न भइसक्नुपर्ने थियो । अहिले असार सकिन लाग्दा बल्ल रथ तयार भएको छ ।

काठमाडौंमा कोभिडका संक्रमितहरू फाट्टफुट्ट देखिए पनि उपत्यका बाहिरजस्तो उच्च दर नभएको बेलामा असार १० गते रथ निर्माणको काम सुरु भयो । समयमा रथ यात्रा गर्न नसकेको भनेर क्षमापूजा गरियो । सबै प्रक्रिया पहिले नै सकिएको थियो । त्यसपछि भटाभट रथ निर्माणको काम सुरु भयो ।

रथ निर्माणकै क्रममा ज्योतिषले शुभ समय हेर्दा असार २४ गते रथारोहणको लागि शुभ रहेको भनेर सोहीअनुसार रथ निर्माणको काम सुरु भयो । चैतमा अधकल्चो छाडेको रथयात्राको बाँकी काम भइरहँदा काठमाडौंमा कोरोनाका संक्रमितहरू थपिन थाले ।

गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजुले कोभिडको जोखिमलाई ख्याल गर्दै उपयुक्त समयमा रथयात्रा सञ्चालन गर्ने भन्दै यकिन मिति तय नभइसकेको उनले जानकारी दिए ।
दोस्रोपटक तय भएको समयमा पनि रथयात्रा हुन सकेन । गुठी संस्थानको निर्देशनमा त्यो दिनको रथयात्रा रोकिएसँगै अब यसको मितिबारे अन्योलता बढेको छ । कोभिडको जोखिम भइरहेको र सरकारले २५ जनाभन्दा धेरै भेला नहुन भनेर निर्देशन दिएकोले रथयात्राको कार्यक्रम समेत अन्योल भएको हो ।

कोभिडको समस्या कम भएकै थिएन, बरु बढ्दो क्रममा नै थियो । रथ यात्रा गर्न पाउने/नपाउने भन्ने अन्यौलताका बीच किन रथ निर्माणको काम सुरु गरियो त ? तलेजु मन्दिरका पुजारी राजोपाध्याय यसको पछि दुईवटा कारण देख्छन् । एउटा त वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको यो अखण्डित रथ यात्रा रोकिँदा खडेरीको भय बढ्दै जान्छ भन्ने मान्यता छ । यही भयका कारण पनि रथयात्रामा सबैले हतारो गरे । अर्काेतर्फ दशैंसम्म पनि यो रथयात्रा सञ्चालन गर्न सकिएन भने यसलाई भक्तपुरसम्म पु¥याउनुपर्ने जनश्रुतिका कारण पनि रथ निर्माणका लागि हतार गरियो ।

भक्तपुर लैजानुपर्ने भन्ने मान्यतामा भने सबै संस्कृतिविद्हरू सहमत छैनन् । संस्कृतिविद् हरेराम जोशीलाई उद्धृत गर्दै राजोपाध्याय भन्छन् ‘झण्डै चार सय वर्ष पहिलेसम्म यो रथयात्रा नै शरद् ऋतु (जुन समयमा दशैं मनाइन्छ)मा गर्ने गरिएको थियो । पछि मात्रै यो वसन्त ऋतुमा गर्न थालिएको हो । त्यसैले दशैंसम्म रथयात्रा नगर्ने हो भने यसलाई भक्तपुर लैजानुपर्छ भन्ने मान्यता विल्कुल गलत हो ।’

यसको इतिहासलाई हेर्ने हो भने विगतमा पनि समयमा रथयात्रा नभएका धेरै उदाहरणहरू छन् । तर तोकिएको समयमा नभएको भए पनि रथयात्राको काम दशैंपछिसम्म पु¥याएर भक्तपुर लैजानुपरेको जनश्रुति अहिलेसम्म छैन ।

रथ निर्माण सकियो, यात्राबारे अन्योल कायमै

ललितपुरको पुल्चोकमा निर्माणाधीन रहेको ३२ हात अग्लो यो रथ निर्माणको काम लगभग सम्पन्न भएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार अब रथको सबैभन्दा माथि राख्ने व्यामो स्थापित गर्न बाँकी छ । व्यामोसमेत तयार भइसकेको भए पनि यसलाई रथारोहणकै दिन राख्ने भनेर त्यसै राखिएको हो । तर, गुठी संस्थानका अधिकारीहरू नै यो रथयात्राको विषयमा अनभिज्ञ छन् । गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजुले कोभिडको जोखिमलाई ख्याल गर्दै उपयुक्त समयमा रथयात्रा सञ्चालन गर्ने भन्दै यकिन मिति तय नभइसकेको उनले जानकारी दिए ।

३२ हात अग्लो रथले मत्स्येन्द्रनाथको ३२ लक्षणलाई जनाउने गर्छ । विभिन्न प्रजातिका काठलाई बेतको सहायताले बाँधेर बनाउने यो रथ यात्रा काठमाडौं उपत्यकाको सबैभन्दा लामो समय गराइने रथयात्रा हो । जसमा पाटनको तस्बहालबाट मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी सांस्कृतिक बाजागाजाका साथ जात्रा गर्दै पुल्चोकमा निर्मित रथमा आरोहण गराइन्छ । रथको सबैभन्दा माथि चाँगुनारायणको मूर्ति राखिन्छ । मत्स्येन्द्रनाथको मूर्ति रथारोहण गरिएको चौथो दिन रथयात्रा गर्ने परम्परा छ ।

कति पुरानो हो रथयात्राको प्रचलन ?

वर्षाका देवता मत्स्येन्द्रनाथको रथयात्राको सुरुवातलाई खोतल्दै जाँदा लिच्छविकालीन राजा नरेन्द्रदेव प्रथमको समयसम्म पुग्न सकिन्छ । गोपाल वंशावलीका अनुसार राजा नरेन्द्रदेव प्रथमले वि.सं ६९१ देखि ७२८ सम्म नेपाल उपत्यकामा शासन गरेका थिए ।

त्यही समयदेखि नै रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु भएको मान्ने गरिएको छ । गोपालराज वंशावलीलाई उद्धृत गर्दै तीर्थलाल राजभण्डारीले प्राचीन नेपालमा प्रकाशित गरेको आलेखअनुसार कुमारी र कुमारी जात्राको सुरुवात समेत सोही समयमा भएको थियो जुन समय विक्रमको सातौं शताब्दीको अन्तिम र आठौं शताब्दीको सुरुवात थियो । त्यसैले यो जात्राको प्रचलन लिच्छविकालदेखि नै सुरु भएको देखिन्छ ।

रातो मत्स्येन्द्रनाथसँग जोडिएको जनश्रुति

काठमाडौं उपत्यकाभित्रको एक सहर पाटनका रातो मत्स्येन्द्रनाथको विषयमा एउटा प्रचलित लोक इतिहास पाउन सकिन्छ । जसको केही भाग गोपाल राजवंशावलीमा समेत लेखिएको छ । भगवान् शंकरले एक पटक विष्णुको मोहनी रूप देखेर कामानुरक्त भएर धैर्यधारण गर्न नसकी वीर्यपत्तन गरिदिए । त्यो पतीत वीर्य मत्स्य (माछा)ले खाँदा गर्भ रहन गयो । त्यहीँबाट जन्मेका हुनाले उनको नाम मत्स्येन्द्रनाथ भए ।

त्यस्तै, कामानुरक्त शिवले अर्काे ठाउँमा गएर एउटा गोबरमाथि वीर्य स्खलन गराए । त्यही ठाउँमा गोरखनाथको जन्म भयो । कालान्तरमा गोरखनाथ र मत्स्येन्द्रनाथ दुवै सिद्ध भए । तर गोरखनाथले मत्स्येन्द्रनाथलाई आफ्नो गुरु मान्ने गरेका थिए ।

लिच्छविराजा नरेन्द्रदेवको समयमा सिद्ध गोरखनाथ काठमाडौं उपत्यकामा घुम्न आएका थिए । तर राजा नरेन्द्रदेवले उनलाई कुनै पनि खातिरदारी गरेनन् । त्यही रीसमा सिद्ध गोरखनाथले वृष्टि गर्ने नागहरूको आसन बनाएर मृगस्थलीमा तपस्या गर्न थाले । बन्धनमा रहेका नागहरूले वृष्टि गराउन सकेनन् र केहीदिनमा नै काठमाडौं उपत्यकामा सुख्खा पर्न थाल्यो ।

त्यही बेलामा बन्धुदत्त नाम गरेका स्थानीयले मत्स्येन्द्रनाथलाई काठमाडौं ल्याएका थिए । त्यतिबेला गोरखनाथले मत्स्येन्द्रनाथको दर्शन गर्छु भनी नागको आसनबाट उठ्दा नागहरू स्वतन्त्र भए । स्वतन्त्र नागहरूले वृष्टि गराई सम्भावित अनिकाल टारेको भन्ने लोकधारणा छ ।

लामो जात्राको इतिहास रहेको मत्स्येन्द्र्रनाथको मन्दिर निर्माण र यो जात्राको विषयमा पाटनमा अर्काे पनि जनश्रुति छ । लिच्छविकालीन राजा अंशुवर्माको समयमा कालपति यमराज उनको सामु प्रकट भएका थिए । तिनै यमराजलाई खुसी पार्नका लागि चैत्र शुक्लको अष्टमीका दिन मत्स्येन्द्रनाथको मन्दिर स्थापना गराएर अंशुवर्माले पूजा सुरु गरेको भन्ने किंवदन्ती समेत पाइन्छ ।

राजा वीरदेवको राज्यकालमा ललितपुरमा बस्ती बसाली मीननाथ र लोकनाथको भव्य रूपमा यात्रा सुरु भयो भन्ने लोकोक्तिसमेत पाइन्छ । सोही समयमा अंशुवर्माले मत्स्येन्द्रनाथको गुठी समेत स्थापना गरेका थिए ।

मन्दिरमा पछि राजा नरेन्द्रदेवले वर्षेनी मत्स्येन्द्रनाथको यात्रा गर्ने परम्पराको थालनी गरे । त्यतिबेलादेखि नै मन्दिरभन्दा बढी जात्रालाई महत्व दिने गरिन्थ्यो । जात्रा हुन सकेन भने ठूलो खडेरी पर्ने भनेर पनि सधैं समयमा नै पात्रा सञ्चालन गरिँदै आएको विभिन्न ऐतिहासिक दस्तावेजहरूमा उल्लेख छ ।

ललितपुरमा रहेको मत्स्येन्द्रनाथको यात्रा गर्दा बोक्ने रथको मन्दिरमा राणा कालसम्म पनि मान्द्रोको छानो राख्ने चलन थियो । राजा सुरेन्द्रको समयमा जंगबहादुर राणाका छोरा जगतजङ्ग बहादुरले मत्स्येन्द्रनाथको मन्दिरको छानोबाट मान्द्रो हटाएर सुनको मोलम्बा लगाएका थिए ।

यही मन्दिरमा राजा श्रीनिवास मल्लले मत्स्येन्द्रनाथको मन्दिर निर्माण गराई अद्र्धरात्रिमा सिद्ध आरतीको प्रचलन बसाए । विसं १८२० मा मत्स्येन्द्रनाथको रथयात्राको क्रममा अग्निदाह भयो । त्यसमा धेरै क्षति भयो । त्यस्तो बेलामा समेत यसको रथयात्रा रोकिएको थिएन । विसं १९९० को महाभूकम्पमा दुई पटक भत्किएपछि त्यो मन्दिर पूर्ण रूपमा ध्वस्त भयो । त्यतिबेला समेत रथयात्रा रोकिएको थिएन ।

रथयात्रा र खटयात्राको महत्व

भगवानलाई यात्रा गराउनको लागि मुख्यतया तीनवटा तरिका अपनाउने गरिएको पाइन्छ । रातो मत्स्येन्द्रनाथको रथयात्रामा रथयात्रा र खटयात्राको तरिका अपनाउने गरिन्छ । तीर्थलाल राजभण्डारीले पुरातत्व विभागद्वारा प्रकाशित प्राचीन नेपालमा लेखेको आलेख अनुसार सिंहासनमा राखेर पनि भगवानको यात्रा गराउने गरिन्छ । यद्यपि कुनै पनि मन्दिरमा राखिने सिंहासन र यात्रामा प्रयोग गरिने सिंहासन भने फरक कुरा हो ।

कुमारी र रातो मत्स्येन्द्रनाथको सम्बन्ध

रातो मत्स्येन्द्रनाथको सम्बन्ध ललितपुरको कुमारीसँग समेत रहेको छ । परम्पराअनुसार रातो मत्स्येन्द्रनाथको स्नान गराउँदा कुमारीको उपस्थिति अनिवार्य छ । त्यसदिन कुमारीलाई खटमा राखी लगनखेलमा लगिन्छ । नरिवल खसाल्दा कुमारीलाई तथिटोलमा लगिन्छ ।

साथै, रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा तान्दा कुमारीलाई कुमारीपाटीमा लगिन्छ । भोटो देखाउने जात्रामा पनि कुमारीलाई जावलाखेलमा पु¥याइन्छ । यसबाट रातो मच्छिन्द्रनाथसँग कुमारी यात्राको सम्बन्ध देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *