समाचार

हराएका २५ मोटरसाइकल ट्राफिकले सम्बन्धित धनीलाई बुझायो

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। सोमबार दिउँसो महाशाखाले विभिन्न मितिमा हराएका २५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको हो।

महाशाखाले चोरी भएका मोटरसाइकल खोज्न इन्स्पेक्टरको नेतृत्वमा २२ सदस्यीय टोली खटाएको छ। यसले काठमाडौं उपत्यकाबाट हराएका मोटरसाइकलको खोजी गर्ने गरेको महाशाखाका एसएसपी भीम प्रसाद ढकालले जानकारी दिए।

‘मोटरसाइकलको खोजतलास गर्न हामीले २२ सदस्यको टोली नै गठन गरेका छौं,’ उनले भने,’प्रायजसो टाेलीले उपत्यकाभित्र खोज्छ र आवश्यकता अनुसार नेपालभर नै जाने गरेकाे छ।’

चोरी भएका कतिपय मोटरसाइकल मोडिफिकेसन गरिएका, नम्बर प्लेट परिवर्तन गरिएका छन्। स्वरूप परिवर्तन गरिएका मोटरसाइकलहरू विशेष सूचनाका आधारमा, कागजातहरू हेरी फेला पार्न सकिने एसएसपी ढकालले बताए।

सोमबार बुझाइएका मोटरसाइकलहरू बालाजु, बसुन्धारा, मण्डिकाटार, नयाँबजार, ठमेल, सरस्वतिनगर, सामाखुसी, ठमेल लगायत बढी भीड हुने स्थानबाट हराएका हुन्।

‘चोरी हुनबाट जोगाउन सबैभन्दा राम्रो उपाय भनेको डबल लक प्रयोग गर्ने, अलार्म लगाउने र सुरक्षित स्थानमा पार्किङ गर्नु हो,’ उनले भने।

महाशाखाले यस आर्थिक वर्ष ०७६/०७७ मा मात्रै चोरी भएका ३६८ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइसकेको छ। त्यस्तै ३७ जना चोरहरू समेत पक्राउ गरी आवश्यक कारबाही गरिसकेको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *