समाचार

काठमाडौंका बाढीपीडितको गुनासो : सिंहदरबारले हेरेन !

३०, असार, काठमाडौं । विभिन्न दुर्गम जिल्लाका बाढीपीडितहरुको वर्षेनि गुनासो सुनिन्छ, राज्यले हामीलाई हेरेन । कर्णाली, मधेस अनि दुर्गम पहाडका जनताको दुःख सरकारले देखेन । हामी पीडितहरुले राहत पाएनौं ।

यो त भयो दुर्गम गाउँको गुनासो । तर, देशको संघीय राजधानी रहेको काठमाडौं उपत्यकाभित्रैका बाढीपीडितलाई समेत सरकारले नहेरेको, नदेखेको कलंकी–बल्खु क्षेत्रका पीडितहरुको छ ।

काठमाडौं महानगरपालिका–१४ का जनप्रतिनिधिको कुरा सुन्ने हो भने शहरभित्र बाढी पस्नुमा खोलाको जग्गा मिच्नेहरु नै जवाफदेही छन् ।

हामीले यहाँ काठमाडौं उपत्यकाभित्रैका बाढीपीडितहरुको कथा–व्यथा उतार्ने प्रयास गरेको छौं –

संघीय राजधानी छिर्ने मुख्य नाका हो कलंकी । कलंकी पुग्नका लागि बल्खु खोलाको पुल तर्नुपर्छ । निर्माणधीन बल्खु खोला करिडोर सडक जस्तो लाग्दैन । यस्तो लाग्छ कि यो धान रोप्न ठिक्क पारेको हिलाम्य खेत हो ।

यो सडकमा मोटर गुड्न त परको कुरा, मानिस हिँड्नसमेत सकस छ । यही सडक छेउमा पसल गरेर बस्ने सानु तामाङ भन्छिन्, ‘यसलाई त काठमाडौंको कर्णाली भने पनि हुन्छ ।’

आखिर किन त ? यसको मुख्य कारण हो – गत वर्ष बल्खु खोलामा आएको बाढी र बाढीले डुबाएको कलंकी क्षेत्र ।

गत वर्ष असार २७ गते बिहान सात बजेदेखि मुसलधारे पानी पर्न थालेको थियो । निरन्तरको वर्षाले १० बजेतिर बल्खु खोला बौलायो । मच्छेगाउँ, स्युचाटार, थानकोटको बाह्रभन्ज्याङ, इन्द्रदह र मातातीर्थबाट तेज गतिमा आएको बाढीलाई सानो खोलाले धान्न सकेन । दिउँसो १२ बजेतिर खोलो भएर बाढी शहरमा पस्यो ।

जस्ताको टहरामा पसल सञ्चालन गरिरहेकी सानुले थपिन्, ‘एकैछिनमा मेरो पसल पूरै डुब्यो । हामीले पल्लो घरको दोस्रो तलामा पुगेर ज्यान बचायौँ । एक लाखभन्दा बढीको क्षति बेहोर्नुपर्‍यो ।’

वडा कार्यालयका अनुसार त्यतिबेला करिव पाँच सय घर डुवानमा परे । जयन्ती नगरमा होटेल सञ्चालक रत्नबहादुर मानन्धर भन्छन्, ‘होटलका कुनै सामग्री काम लागेनन् । दुई दिनसम्म सडकमा निस्कनै सकेनौँ । एकतले घरका मासिहरु डोरी लगाएर अर्को घरमा उक्लेर ज्यान बचाए ।’

जयन्ती टोलमा पुग्दा स्थानीयले धमाधम ढलको काम गरिरहेका थिए । हिलाम्य र भत्केको सडकलाई निर्माण समाग्रीले थप कुरुप देखाएको थियो । जयन्ती नगर टोल सुधार समितिका उपाध्यक्ष प्रकाश केसीले भने, ‘सडक बनाउनका लागि सरकारी निकाय कसैले पहल नगरेपछि हामी आफैंले पैसा उठाएर ढल निकास गर्न थालेका हौँ ।’

बाढी पसेको लामो सयमसम्म पनि सम्भावित खतरालाई टार्न सरकारी तवरबाट कुनै चासो नदिएपछि बस्तीका मानिसहरु पटक–पटक वडा कार्यालय धाउनुपर्‍यो । त्यसपछि बल्ल बस्तीको ढल निकासको काम भने शुरु भएको छ । ‘२७ घरले २०/२० हजार संकलन गर्‍यौं’, प्रकाश भन्छन्, ‘बाँकी २० लाख बजेट वडाले हाल्यो र हामीले ढल निकासको काम गरिरहेका छौँ ।’

ढल निकासभन्दा उनीहरुलाई बल्खु खोला फेरि उर्लिएर आउँला कि भन्ने चिन्ताले बढी गालेको छ । स्थानीयले पटक–पटक वडा कार्यालयमा डेलिगेसन गएपछि मात्र एकीकृत बागमति सभ्यता विकास समितिले खोलाको पर्खाल उठायो । ‘दबाव दिँदा दिँदा यही लकडाउनका बेला मात्र यहाँ पर्खाल उठाएको हो’, समितिका उपाध्यक्ष प्रकाश भन्छन्, ‘अस्ति भर्खर पनि खोला भरिएको थियो । तर, बाढी शहरमा पसेन । अहिले झरी पर्दैछ, यस वर्ष पनि नपस्ला भन्न सकिँदैन ।’

सडकभन्दा माथि एक/दुई मिटर पर्खाल उठाउन भनेर पटक–पटक आग्रह गर्दा पनि बागमति सभ्यता विकास समितिले अटेर गर्दै आएको उनको गुनासो छ ।

बर्षा शुरु भएसँगै धमाधम त्यस क्षेत्रका भूईं तला र सटरहरु बाढीकै त्रासले खाली हुन थालेका छन् । भाडामा बस्नेहरु हिँडेका छन् भने सटरका पसलहरु बाढी पस्ने डरले बन्द छन् । ‘करिव दुई सय घरका भुँइ तला खाली छन्’, स्थानीय दिलबहादुर बस्नेत आफ्नो व्यथा सुनाउँछन्, ‘मेरै घरका भुईं तलाका कोठामा मान्छे नबसेको थुप्रै भैसक्यो ।’

यतिसम्म त ठिकै छ । कसैलाई तत्काल उपचार गर्नुपर्ने गम्भीर रोग लागेमा स्थानीयलाई आपत पर्छ । किनभने, ‘एम्बुलेन्स बस्तीमा छिर्ने ठाउँ छैन । प्रकाश भन्छन्, ‘तत्काल उपचार गर्नुपर्ने रोग लाग्यो भने मर्नुको विकल्प छैन ।’

ज्योति नगरबाट अलि तल पुगेपछि दुईवटा स्टोर भेटिए । ओम प्लाइस्टोर र इलेक्ट्रोन इन्टरनेशनल प्रालि । यी दुई ठूला शोरुमले यस वर्ष पनि बाढी पस्ला कि भनेर माटो भरेर जमीनलाई अग्लो बनाएका छन् । तर, करिडोरको बाटो राम्रासँग नबन्दा एक वर्षदेखि प्लाई त्यहाँ भण्डार गर्न पाएका छैनन् । स्टोरका कर्मचारी प्रेम शाही भन्छन्, ‘त्यतिबेला प्लाई उद्योगका सबै सामग्रीहरु भिजेर कुनै पनि काम लागेनन् ।’

शाहीका उनका अनुसार गत वर्षको वाढीमा कम्पनीको एक करोड ७५ लाख रुपैयाँभन्दा बढी सामान बिग्रिएर फ्याँक्नु परेको थियो ।

त्यही क्षेत्रको श्रीकृष्ण ग्यास उद्योगले आफ्नो उद्योगलाई अर्को ठाउँमा सारिसकेको छ । प्रह्लाद भन्छन्, ‘एक त अहिले पनि बाढी आउने त्रासमा बसिरहेका छौँ । यहाँ स्टोर राखेर घाटा बेहोर्नुपरिरहेको छ ।’

गत वर्षको बाढीले बस्तीमा मात्र नभएर मालपोत, नापी कार्यालयदेखि जनपथ माध्यामिक विद्यालयसमेत डुवानमा पर्‍यो । डुवानमा परेपछि विद्यालयले एक हप्तासम्म पढाइ नै अबरुद्ध गर्नुपरेको थियो ।

जनपथ विद्यालयको पारिपट्टी अर्थात कीर्तिपुरतर्फको प्राइम फर्निचर सेन्टर पनि त्यतिबेला डुवानमा परेको थियो । फर्निचरका सम्पूर्ण सामग्री डुवानमा परेपछि तीन लाख रुपैयाँ भन्दा बढीको क्षति भयो । यसपटक पनि उक्त फर्निचर ठूलो जोखिमबाट बचेको छ ।

गत २६ जेठमा फर्निचर छेउको बल्खु खोलामा फेरि बाढी आयो । बाढी बाटोको सतह नाघेर वरैसम्म आइपुग्यो । फर्निचरका सञ्चालक युवराज गुरुङ भन्छन्, ‘धन्न यस वर्ष फर्निचरमा पसेन । पोहोर बाढी आएपछि अलिपछि फर्निचर सारेर वाल उठाएका थियौँ । त्यसैले बचायो ।

एकीकृत बागमती सभ्यता विकास समितिले एक हप्ताअघि मात्र फर्निचर छेउको खोलाको सतहदेखि सडकसम्म पर्खाल उठायो । उनी भन्छन्, ‘बस्न त काठमाडौंमै बसिरहेका छौँ । तर, यहाँको असुविधा हेर्दा कुनै दुर्गम ठाउँमा बसेजस्तो लाग्छ ।’

त्यहीँबाट उत्तरपट्टि देखिन्छ बल्खुतर्फ जाने फराकिलो व्यस्त सडक । त्यसकै छेउमा घर भएका दिलबहादुर बस्नेतले रेडियो र टीभीमा मौसम पूर्वानुमानको समाचार सुन्दा डुबानमा परिने चिन्ताले रातभर निद्रा नपर्ने बताउँछन् ।

अर्का स्थानीय ठाकुरनाथ ढकालले उस्तै गुनासो सुनाए, ‘बरु हामीले आफ्नै पैसा उठाएर खोला नियन्त्रणमा स–साना काम गरेका छौँ तर स्थानीय निकाय र सरकारले केही पनि गरेन ।

खोला मिच्दाको समस्या : वडाध्यक्ष

काठमाडौं महानगरपालिका- १४ कि वडाध्यक्ष शोभा सापकोटाले गत वर्षको बाढीले करोड बढीको क्षति भएको बताइन् । तर, यस वर्ष भने केही सजगता अपनाएको बताइन् । ।

उनले अनलाइनखबरसँग भनिन्, ‘हामीसँग बजेट थिएन । करिडोर विकासको काम गरिरहेको बागमती सभ्यतालाई भनेर खोला गहिरो बनाएको र केही ठाउ“मा पर्खाल हाल्न लगाएको छु ।’

व्यक्तिगत लाभको कारणले मानिसहरुले खोला मिच्दा अहिले दुख पाउन परेको उनको भनाइ छ । उनले भनिन्, ‘मैले थाहा पाउँदा हालको मालपोत कार्यालयसम्म खोला थियो । तर, जसरी खोलालाई कुलो बनाइयो र खोलामा बस्ती बसाइयो, गल्ती त्यहीँनेर भयो ।’

काठमाडौं उपत्यकाभित्र बागमती, विष्णुमती, हनुमन्ते, मनहरा, धोबीखोला, गोदावरी, टुकुचालगायतका क्षेत्रहरु पसेर डुबानमा पर्न थालेका छन् । समयमै सम्बन्धित निकायले यसतर्फ ध्यान पुर्‍याउनुपर्ने देखिन्छ । खोला मिच्दै बस्ती बसाएमा वर्षेनी क्षतिको आकार नबढ्ला भन्न सकिँदैन ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *