राजनिति

संसदीय समितिका बैठक रोक्न सदस्यको माग, सचिवालय भने थोरै बैठक गराउने पक्षमा

कर्मचारीको दबावपछि संघीय संसदका समिति बैठकहरू आवश्यक परेको अवस्थामा मात्र बस्ने भएका छन्।

सरकारले संसद अधिवेशन अन्त्य गरे पनि संसदीय समितिका बैठकहरू निरन्तर भैरहेका थिए। तर सांसद प्रदीप यादव र संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलाई नै कोरोना देखिएपछि कर्मचारीहरूले बैठक नगर्न सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र समितिका सभापतिहरूलाई दबाव दिएका हुन्।

संघीय संसद सचिवालय कर्मचारी युनियनका अध्यक्ष मेघराज अर्यालले संसदीय समितिको अनुगमन, बैठक रोक्न आग्रह गरिएको सेतोपाटीलाई बताए ।

युनियनले वैकल्पिक माध्यमबाट बैठक गर्न समेत सुझाएको छ।

आफूहरूको मागको विषयमा सभामुख र अध्यक्ष पनि सकारात्मक रहेको उनले उल्लेख गरे।

‘अत्यावश्यक अवस्थामा बैठकहरू गर्न आवश्यक भए पनि संसदबाट कोरोना फैलने अवस्था बन्नु हुन्न’, अर्यालले भने, ‘उपत्यकामा संक्रमण बढिरहेको छ। बैठकहरू जबरजस्ती ढंगले अगाडि बढे कर्मचारी नै नबस्ने अवस्था नआउला भन्न सकिन्न।’

सभामुख अग्नि सापकोटा भने संसदीय समितिको बैठक नबस्ने औपचारिक निर्णय गर्ने पक्षमा छैनन्।

सरकारका निर्णयको परीक्षणका लागि कतिपय विषयमा संसदीय समितिले निर्देशन दिन आवश्यक भएकाले बैठकबारे उनले निर्णय गरेका छैनन्।

तर कतिपय समितिका सभापतिहरूले भने बैठक नबोलाउने बताएको अर्यालले उल्लेख गरे।

स्रोतका अनुसार सभामुख अग्नि सापकोटा पनि लेखा समिति अन्तर्गतको उपसमिति अनुगमनमा गएकोमा असन्तुष्ट छन्।

वनको अनुगमनमा गएका सांसद प्रदीप यादव र लेखा समितिका सचिव समेत रहेका पाण्डेमा कोरोना देखिएको थियो।

सभामुख र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित बैठकले समितिहरूलाई अनुगमनमा नजान समितिहरूलाई सुझाएको थियो। तर समिति सभापतिहरूको बैठकपछि पनि केही समितिहरूले अनुगमन जारी राखेका छन्।

सचिवालयले भने अत्यावश्यक अवस्थामा संघीय संसदको कृषि समितिको हल र लेखा समितिको हलमा आलोपालो गरेर बैठक गराउने तयारी गरिरहेको छ।

सचिवालयसँग यी दुइटा मात्र ठूला हल छन्।

‘त्यसो त सरकारले २५ जनाभन्दा धेरै भेला नहुन भनेको छ। हाम्रा समितिमा २५ जनाभन्दा धेरै सांसद हुनुहुन्छ। कतिपयलाई छलफलमा डाकिएको हुन्छ। कर्मचारी हुन्छन्’, सचिवालयका एक उच्च अधिकारीले भने, ‘समितिको बैठक गर्दा संक्रमणको जोखिम छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *